पोखरा / पोखरा–२७ रिठ्ठेपानीमा श्रीमान्ले श्रीमतीको हत्या गरी शवलाई कोठामा बन्द गरेर राखेको खुलेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान स्थायी घर भई हाल रिठ्ठेपानीको सुकुम्बासी टोलमा अस्थायी छाप्रोमा बस्दै आएका ५८ वर्षीय जङ्गे सार्कीले ५३ वर्षीया श्रीमती छुनु भन्ने जमूना नेपाली सार्कीको हत्या गरेका हुन् ।
सार्की दम्पती विगत २०–२१ वर्षदेखि रिठ्ठेपानीमा बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले आइतबार पत्रकार सम्मेलनमार्फत घटना सार्वजनिक गरेका हुन् । घटना विवरण अनुसार साउन ८ गते राति ८ बजेर १० मिनेटको समयमा जमुना नेपाली आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । स्थानीयले दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेपछि प्रहरी तत्कालै घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानमा मृतकका श्रीमान् जङ्गे सार्कीलाई सोही दिन पक्राउ गरिएको एसपी ओलियाले बताए ।
प्रहरीका अनुसार साउन ६ गते सार्कीले खाना खाएपछि एक गिलास मदिरा सेवन गरे । सोही क्रममा जग्गा बेच्ने विषयमा श्रीमान÷श्रीमतीबीच विवाद भयो । विवादका क्रममा आवेशमा आएका सार्कीले जमुनालाई दुई मुक्का प्रहार गरे, जसका कारण उनी भित्तामा ठोक्किन पुगिन् । उनी अचेत भइन् । अचेत श्रीमतीलाई छाडेर जङ्गे घरबाहिर रहेको आफ्नै टिनको टहरामा सुत्न गए । भोलिपल्ट, साउन ७ गते बिहानै उठेर छिमेकीको घरमा चिया पिउन गए र त्यहाँबाट ठेकेदारलाई भेटेर पैसा लिन भन्दै शिसुवातिर लागे । दिनभर ठेकेदारलाई भेट्न नसकेको भन्दै उनी साँझ घर फर्किए, खाना बनाएर एक्लै खाए, तर श्रीमतीको अवस्थाबारे कुनै चासो नदेखाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ओलीयाले जानकारी दिए । साउन ८ गते पनि जङ्गे बिहान उठेर मामा पर्नेको घरमा चिया खान गए । ठेकेदार भेट्ने भन्दै शिसुवातिर लागे । तर, दुई दिनसम्म कोठामा थुनिएकी जमुनाको शव सड्न थालिसकेको थियो । साँझ करिब सबा ५ बजे कोठाबाट दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
ओलियाका अनुसार प्रहरी पुग्दा जमुनाको शव सडिगलेको अवस्थामा फेला परेको एसपी ओलीयाले जानकारी दिए । शवको पोष्टमार्टम गर्दा टाउकोमा लागेको गहिरो चोटका कारण मृत्यु भएको पुष्टि भएको ओलियाले बताए । साढे ३ दशक अघि सार्कीको पहिलो श्रीमतील्े १ वर्षको छोरा छाडेर अन्यत्रै विहे गरेपछि जङ्गेको जमूनासंगा दोस्रो विवाह भएको थियो । जमुनाले नै जंगेको पहिलो श्रीमतीतर्फको छोरालाई हुर्काइन् । छोरा अहिले विवाह गरी आफ्नो परिवारसहित पुरानो घर रिभानमा बस्दै आएका छन् । प्रहरीका अनुसार जङ्गेले मिस्त्री काम गर्थे भने जमुना घरधन्दा सम्हाल्थिन् ।
एसपी ओलियाका अनुसार पक्राउ परेका जंगे सार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।





