बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

लमजुङको दोर्दी गाउँपालिकाद्वारा गाउँपालिकावासीलाई निःशुल्क स्वास्थ्य बीमा

लमजुङको दोर्दी गाउँपालिकाद्वारा गाउँपालिकावासीलाई निःशुल्क स्वास्थ्य बीमा


  • ढोरपाटन संवाददाता
  • साउन ११ २०८२, आइतबार

लमजुङ/ लमजुङको दोर्दी गाउँपालिकाले आफ्नो गाउँपालिका स्थायी ठेगाना भइ स्थायी रुपमा बसोबास गरी दोर्दीमै चुल्हो बालिरहेका सवै घरपरिवारको स्वास्थ्य बीमा गर्न सुरु गरेको छ ।

गाउँपालिकाले आइतबार वडा नं. १, २, ३ र ४ का नागरिकको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो । वडा १ को भारते, वडा २ को अर्चलबोट, वडा ३ को लामाबगर र वडा ४ को नौथर शेरामा एक कार्यक्रमको आयोजना गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गरेको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२०८३ को नीति तथा कार्यक्रममा गाउँपालिकाका नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने उल्लेख भए अनुसार निशुल्क स्वास्थ्य बिमा कार्यक्रमको लागि लागि १ करोड ५० लाख बजेट विनियोजन गरेको छ । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पालिकाभित्र सञ्चालित जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीबाट निःशुल्क स्वास्थ्य बीमा गरिने बताए । यसका लागि ‘जलविद्युतको आम्दानी–स्वास्थ्य बीमामा लगानी’ नारा तय गरिएको छ ।

निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत दोर्दी गाउँपालिकाभित्र रहेका ४ हजार २ सय २५ घरपरिवारको साउन महिनाभित्र स्वास्थ्य बीमा गरिने र असोज १ गतेबाट सेवा लिन सकिने गाउँपालिकाले जनाएको छ । निःशुल्क स्वास्थ्य बीमा गर्दा परिवारमा ५ जना भन्दा बढी सदस्य भएमा समेत थप रकम उपलब्ध गराएर बीमा गराइदिने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बिच्छबहादुर घलेले गाउँपालिकाले सुरुवात गरेको निःशुल्क स्वास्थ्य बीमाबारे जानकारी गराएका थिए । स्वास्थ्य बीमा बोर्ड लमजुङका जिल्ला संयोजक रमेश खनियाले साउन महिनाभित्र दोर्दी गाउँपालिकाका नागरिकको स्वास्थ्य बीमा गरिने र भदौ १ गतेबाट लागू हुने बताए ।

कार्यक्रममा दोर्दी गाउँपालिका प्रशासकीय अधिकृत ससबहादुर पुन, स्वास्थ्य संयोजक आइतमान गुरुङ, वडा नं. १ मा आयोजना गरिएको कार्यक्रममा पूर्व सांसद मायानाथ अधिकारी, वडाअध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, भूमि आयोगका सदस्य इन्दिरा लम्साल, वडा २ मा आयोजना गरिएको कार्यक्रममा वडाअध्यक्ष गणेशबहादुर खत्री, वडा ३ मा आयोजना गरिएको कार्यक्रममा वडाअध्यक्ष कृष्णबहादुर गुरुङ, वडा ४ मा आयोजना गरिएको कार्यक्रममा वडाअध्यक्ष मीनबहादुर गुरुङ साथै राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरुलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन दोर्दी गाउँपालिका रोजगार संयोजक धर्मराज गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->