पोखरा/ कास्कीको माछापुच्छ्रे गाउँपालिका–३, घाचोकमा पहिरोमा पुरिएर एक युवकको मृत्यु भएको छ भने एक शिक्षक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पहिरोमा परी मृत्यु हुनेमा पोखरा महानगरपालिका–२५ का २३ वर्षीय तेजबहादुर गुरुङ रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो। सोही पहिरोमा परेर घाचोककै शुक्लागण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल घाइते भएका छन्। कास्की प्रहरीका सूचना अधिकारी एवं डीएसपी हरीबहादुर बस्नेतले स्थानीय लस्तीखोला स्थित हेमजा–माछापुच्छ्रे सडक खण्डमा बिहान करिब १० बजे पहिरो खसेको बताए ।
बंगुर फार्मका लागि दाना लिएर जाँदै गर्दा गुरुङ पहिरोमा परेका थिए। पहिरो पन्छाउने क्रममा दिउँसो करिब साढे २ बजे उनको शव फेला परेको थियो । पोखरेल भने पोखराबाट मोटरसाइकलमा विद्यालयतर्फ जाँदै गर्दा पहिरोमा पुरिएका थिए । स्थानीयले तत्काल उद्धार गरी उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उनको उपचार भइरहेको छ ।





