बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

पोखराकी एक्ली ट्याक्सी चालक

पोखराकी एक्ली ट्याक्सी चालक

पुरुष चालकमात्रै रहेको पोखराको सडकमा १५ वर्षदेखि ब्यवसायीक रुपमा ट्याक्सीको स्टेरिङ समातिइरहेकी आँटिली महिला ३९ वर्षीया विष्णु कुँवरले एकमात्र महिला ट्याक्सी चालकको नाम दर्ज गराउन सफल भएकी छन् ।


  • लालप्रसाद शर्मा
  • साउन १५ २०८२, बिहिबार

पोखरा/ पहिला उनी तेक्वान्दो र एथलेटिक्सकी खेलाडी थिइन् । तर २०५८ को जेठ महिना । साफ गेमको टुर्नामेन्टका लागि काठमाडौं गइन् । त्यहीबेला तत्कालिन राजा विरेन्द्रको बंश नाश हुनेगरी दरवार हत्याकाण्ड भयो । उनीलगायत खेलाडी फर्किए । यो घटनापछि पोखरा–५ मालेपाटनकी विष्णु कुँवरलाई खेल्न मन लागेन ।

सानै उमेरदेखि उनलाई केही न केही गर्नुपर्ने र फरक फरक किसिमका काम गर्न खोज्ने बानी थियो । पोखरा फर्केर तरकारीको ब्यापार गरिन् । खासै चलेन । सर्लाही लालबन्दीका रमेश न्यौपानेसंग प्रेम सम्बन्धमा थिइन् । पछि उनैसंग विहे गरिन् । रमेश पनि पोखरामै माइक्रोबस चलाउँथे ।

तरकारी व्यापारबाट फाईदा नभएको र श्रीमान्को कमाईले घरखर्च चलाउन धौधौ भयो । कुँवरले पनि ‘ड्राईभिङ’ सिकिन् । १५ वर्षदेखि ब्यवसायीक रुपमा ट्याक्सीको स्टेरिङ समातिइरहेकी उनले अहिले पोखरामा एकमात्र महिला ट्याक्सी चालकको नाम दर्ज गराउन सफल भएकी छन् । पुरुष चालकमात्रै रहेको पोखराको सडकमा ग१ज २४१४ नम्बरको ट्याक्सी तिनै आँटिली महिला ३९ वर्षीया बिष्णु कँुवरले हाँकिरहेकी छन् । ‘अरुले नगरेको काम भएकाले आत्मविश्वासकासाथ ट्याक्सी चलाउन लागेकी हुँ’, उनले भनिन्, ‘मेरो यो पेशाबाट म पूर्ण सन्तुष्ट छु ।’

उनी पोखरा बजारभित्र भन्दा बहिरका क्षेत्रमा बढी कुद्छिन् । पूर्वको झापादेखि पश्चिमको महेन्द्रनगरसम्म, रसुवादेखि लोमान्थाङसम्म यात्रु पु¥याएकी छन् । ‘चिनेजानेका, विश्वासिला र पारिवारिक ग्राहक भएमात्र जान्छु’, उनले भनिन, ‘आजसम्म कुनै समस्या आएको छैन ।’ उनले सबैलाई बिश्वास गर्न नसक्ने भएकाले स्थान र यात्रुको अवस्था बुझेर मात्र सेवा दिने गर्छिन ।

एक छोरा र एक छोरी छन् । विवाह भएको १७ वर्षसम्म श्रीमानसंग सम्बन्ध राम्रौ थियो । तर श्रीमान रमेशले अर्को विवाह गरे । ७ वर्ष अघि उनले सम्बन्धबिच्छेद गरिन् । छोरा १२ कक्षा पास भएपछि साढे २ वर्षअघि वैदेशिक रोजगारीका लागि दुवई पुगेका छन् । छोरी १२ कक्षा पास भएर बसेकी छन् । छोराछोरी दुवैजना विष्णुसंगै छन् । उनी छोराछोरीसहित पोखरा–५ मालेपाटन माइतीमा बस्दै आएकी छन् । माइतीमा आमा, भाइ र बुहारी छन् । सुरुमा ड्राईभिङ सिकेपछि उनले बैंकबाट ऋण लिएर १६ लाख ५० हजारमा ट्याक्सी किनिन् । त्यही ट्याक्सीको कमाइले ऋण तिरिन् । केही पैसा बचत पनि हुदै गयो । अहिलेको ट्याक्सी आफ्नै कमाइले किनेकी हुन् ।

आफ्नो १५ वर्षे ड्राईभिङ अनुभवमा नराम्रो अनुभव नभएको उनले सुनाइन् । अहिलेसम्म यात्रुबाट दुब्र्यवहार तथा अन्य समस्या झेल्नु नपरेको बरु उनीहरुले ‘महिला भएर पनि राम्रो काम गर्नुभएछ’ भन्ने भनाईले आफुलाई थप हौसला र उत्साह मिलेको उनको भनाई छ । ‘आफन्त र ईष्टमित्र पनि निकै खुशी छन्’, उनले भनिन्, ‘सबैतिरबाट राम्रो प्रतिक्रिया पाएकाले स्टेरिङ घुमाइरहन पाएकी छु ।’ धेरै जनाले आफुलाई बिदेश जानुभन्दा स्वदेशमै सिप सिकेर राम्रो काम गरेको भन्दै स्याबासी दिने र कतिपयले राम्रै ‘टिप्स पनि दिने गरेको उनले बताईन । ५ हजारसम्म टिप्स पाएको उनले बताइन् । विदेशी पर्यटकले पनि टिप्स दिने गरेका छन् । उनी अरु ट्याक्सी जस्तो ‘क्यू’मा बस्दिनन् । फोनको भरमा यात्रुको सेवामा हाजिर हुन्छिन् । आवस्यक परे चौबिसै घन्टा सेवा दिन्छिन् ।

एसएलसी उत्तीर्ण विष्णुले ८–१० वर्ष खेलिन् । दरवार हत्याकाण्डका कारण आफ्नो जिन्दगीको मोडनै बदलिएको उनले बताइन् । ‘नाम र कामलाई संगै अघि बढाउने उद्देश्य पुरा भएको छ’, उनले भनिन्, ‘झन्डै ५ हजार ट्याक्सी रहेको पोखरामा पुरुष चालकको बीचमा एक्लै छु । तर हिम्मत हारिन । आफुलाई सफल भएको महशुष गरेकी छु ।’ आफ्नो साहस र हिम्मतले नै विहेपछि र छोराछोरी हुँदा पनि अघि बढीरहेकाले आज यो अवस्थामा आएको उनले बताइन् । सुरुमा के होला कस्तो होला भन्ने कौतुहलता जागे पनि सबैजनाको हौसला, बढ्दो आम्दानीले स्टेरिङमा हात दह्रो बनाइन् । यसैलाई जीवन जिउने मुख्य पेशा बनाइन् । उनी विभिन्न १५ संस्थाबाट नगदसहित सम्मानित भइसकेकी छन् । यसले काममा झनै बढी प्रोत्साहन मिलेको उनको भनाई छ । पछिल्लो समय कमाइ भने घट्न थालेको उनले बताइन् । पहिला कमाई राम्रो थियो । महिनाको १ लाख २० हजार भन्दा कम हुदैनथ्यो । अहिले भने मासिक ३०÷४० हजार पनि कमाई हुन मुश्किल पर्छ । ‘इन्ड्राइभ आए, ट्याक्सी महंगो भनेर चढ्ने घटे, सवारी साधन धेरै भए’ उनले भनिन् ।

उनले आफुजस्तै ‘केटी मान्छे’ व्यवसायिक ड्राइभिङ पेशामा आइदिए हुन्थ्यो भन्ने लाग्छ । तर कोही पनि तयार नहुँदा उनलाई दुख लागेको छ । कतिपयको चाहना भए पनि परिवारले रोक्ने गरेको उनले सुनाइन् ।
अहिलेसम्म सम्झनायोग्य दुर्घटनामा परेकी छैनन् । समाजमा ड्राइभरलाई हेर्ने दृष्टिकोण फरक रहेकोमा उनको चित्तदुखाई छ । कतिपय त कुट्न पनि आउँछन, तर महिला देखेपछि भने हच्किएर फर्किन्छन् । विशेष गरी मोटरसाइल चलाउनेले थर्काउने उनले बताइन् । सडकमा ओभरट्याक गर्दा नराम्रो बोली र व्यवहारमा पर्ने उनको अनुभव छ ।

पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले एक्ली ट्याक्सी चालक विष्णु पोखराको गौरव रहेको बताए । ‘लामो समयदेखि व्यवसायिक रुपमा ड्राइभिङ पेशामा आवद्ध भएर सेवा दिनु चानचुने कुरा होइन’, उनले भने, ‘बष्णुको यो साहसीक काम भएकाले बेलाबेलामा सम्मान र पुरस्कृत गर्दै आएका छौ । कुनै समस्या आइपरेमा उनलाई महत्व दिएर प्रालिले सहयोग गर्दै पनि आएको छ ।’ आत्मबिश्वासकासाथ काम गरे जुनसुकै क्षेत्रमा पनि सफल भईन्छ भन्ने सन्देश उनले दिएको उनले बताए । विष्णु अहिले एक्ली ट्याक्सी ट्याक्सी चालक रहे पनि पहिलो भने होइनन् । झन्डै २ दशक अघि पोखराकै माटेपानीकी माटेपानीकी एक महिलाले पनि ट्याक्स चलाउँथिन । तर धेरै समय टिक्न नसकेर विदेश गएकी थिईन । २ वर्ष अघि पनि तनहुँकी एक युवतीले पोखरा दमौली ट्याक्सी चलाउथिन् । तर ५/६ महिना ट्याक्सी चलाएकी युवती अहिले सम्पर्कमा नरहेको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->