पोखरा/ पहिला उनी तेक्वान्दो र एथलेटिक्सकी खेलाडी थिइन् । तर २०५८ को जेठ महिना । साफ गेमको टुर्नामेन्टका लागि काठमाडौं गइन् । त्यहीबेला तत्कालिन राजा विरेन्द्रको बंश नाश हुनेगरी दरवार हत्याकाण्ड भयो । उनीलगायत खेलाडी फर्किए । यो घटनापछि पोखरा–५ मालेपाटनकी विष्णु कुँवरलाई खेल्न मन लागेन ।
सानै उमेरदेखि उनलाई केही न केही गर्नुपर्ने र फरक फरक किसिमका काम गर्न खोज्ने बानी थियो । पोखरा फर्केर तरकारीको ब्यापार गरिन् । खासै चलेन । सर्लाही लालबन्दीका रमेश न्यौपानेसंग प्रेम सम्बन्धमा थिइन् । पछि उनैसंग विहे गरिन् । रमेश पनि पोखरामै माइक्रोबस चलाउँथे ।
तरकारी व्यापारबाट फाईदा नभएको र श्रीमान्को कमाईले घरखर्च चलाउन धौधौ भयो । कुँवरले पनि ‘ड्राईभिङ’ सिकिन् । १५ वर्षदेखि ब्यवसायीक रुपमा ट्याक्सीको स्टेरिङ समातिइरहेकी उनले अहिले पोखरामा एकमात्र महिला ट्याक्सी चालकको नाम दर्ज गराउन सफल भएकी छन् । पुरुष चालकमात्रै रहेको पोखराको सडकमा ग१ज २४१४ नम्बरको ट्याक्सी तिनै आँटिली महिला ३९ वर्षीया बिष्णु कँुवरले हाँकिरहेकी छन् । ‘अरुले नगरेको काम भएकाले आत्मविश्वासकासाथ ट्याक्सी चलाउन लागेकी हुँ’, उनले भनिन्, ‘मेरो यो पेशाबाट म पूर्ण सन्तुष्ट छु ।’
उनी पोखरा बजारभित्र भन्दा बहिरका क्षेत्रमा बढी कुद्छिन् । पूर्वको झापादेखि पश्चिमको महेन्द्रनगरसम्म, रसुवादेखि लोमान्थाङसम्म यात्रु पु¥याएकी छन् । ‘चिनेजानेका, विश्वासिला र पारिवारिक ग्राहक भएमात्र जान्छु’, उनले भनिन, ‘आजसम्म कुनै समस्या आएको छैन ।’ उनले सबैलाई बिश्वास गर्न नसक्ने भएकाले स्थान र यात्रुको अवस्था बुझेर मात्र सेवा दिने गर्छिन ।

एक छोरा र एक छोरी छन् । विवाह भएको १७ वर्षसम्म श्रीमानसंग सम्बन्ध राम्रौ थियो । तर श्रीमान रमेशले अर्को विवाह गरे । ७ वर्ष अघि उनले सम्बन्धबिच्छेद गरिन् । छोरा १२ कक्षा पास भएपछि साढे २ वर्षअघि वैदेशिक रोजगारीका लागि दुवई पुगेका छन् । छोरी १२ कक्षा पास भएर बसेकी छन् । छोराछोरी दुवैजना विष्णुसंगै छन् । उनी छोराछोरीसहित पोखरा–५ मालेपाटन माइतीमा बस्दै आएकी छन् । माइतीमा आमा, भाइ र बुहारी छन् । सुरुमा ड्राईभिङ सिकेपछि उनले बैंकबाट ऋण लिएर १६ लाख ५० हजारमा ट्याक्सी किनिन् । त्यही ट्याक्सीको कमाइले ऋण तिरिन् । केही पैसा बचत पनि हुदै गयो । अहिलेको ट्याक्सी आफ्नै कमाइले किनेकी हुन् ।
आफ्नो १५ वर्षे ड्राईभिङ अनुभवमा नराम्रो अनुभव नभएको उनले सुनाइन् । अहिलेसम्म यात्रुबाट दुब्र्यवहार तथा अन्य समस्या झेल्नु नपरेको बरु उनीहरुले ‘महिला भएर पनि राम्रो काम गर्नुभएछ’ भन्ने भनाईले आफुलाई थप हौसला र उत्साह मिलेको उनको भनाई छ । ‘आफन्त र ईष्टमित्र पनि निकै खुशी छन्’, उनले भनिन्, ‘सबैतिरबाट राम्रो प्रतिक्रिया पाएकाले स्टेरिङ घुमाइरहन पाएकी छु ।’ धेरै जनाले आफुलाई बिदेश जानुभन्दा स्वदेशमै सिप सिकेर राम्रो काम गरेको भन्दै स्याबासी दिने र कतिपयले राम्रै ‘टिप्स पनि दिने गरेको उनले बताईन । ५ हजारसम्म टिप्स पाएको उनले बताइन् । विदेशी पर्यटकले पनि टिप्स दिने गरेका छन् । उनी अरु ट्याक्सी जस्तो ‘क्यू’मा बस्दिनन् । फोनको भरमा यात्रुको सेवामा हाजिर हुन्छिन् । आवस्यक परे चौबिसै घन्टा सेवा दिन्छिन् ।
एसएलसी उत्तीर्ण विष्णुले ८–१० वर्ष खेलिन् । दरवार हत्याकाण्डका कारण आफ्नो जिन्दगीको मोडनै बदलिएको उनले बताइन् । ‘नाम र कामलाई संगै अघि बढाउने उद्देश्य पुरा भएको छ’, उनले भनिन्, ‘झन्डै ५ हजार ट्याक्सी रहेको पोखरामा पुरुष चालकको बीचमा एक्लै छु । तर हिम्मत हारिन । आफुलाई सफल भएको महशुष गरेकी छु ।’ आफ्नो साहस र हिम्मतले नै विहेपछि र छोराछोरी हुँदा पनि अघि बढीरहेकाले आज यो अवस्थामा आएको उनले बताइन् । सुरुमा के होला कस्तो होला भन्ने कौतुहलता जागे पनि सबैजनाको हौसला, बढ्दो आम्दानीले स्टेरिङमा हात दह्रो बनाइन् । यसैलाई जीवन जिउने मुख्य पेशा बनाइन् । उनी विभिन्न १५ संस्थाबाट नगदसहित सम्मानित भइसकेकी छन् । यसले काममा झनै बढी प्रोत्साहन मिलेको उनको भनाई छ । पछिल्लो समय कमाइ भने घट्न थालेको उनले बताइन् । पहिला कमाई राम्रो थियो । महिनाको १ लाख २० हजार भन्दा कम हुदैनथ्यो । अहिले भने मासिक ३०÷४० हजार पनि कमाई हुन मुश्किल पर्छ । ‘इन्ड्राइभ आए, ट्याक्सी महंगो भनेर चढ्ने घटे, सवारी साधन धेरै भए’ उनले भनिन् ।
उनले आफुजस्तै ‘केटी मान्छे’ व्यवसायिक ड्राइभिङ पेशामा आइदिए हुन्थ्यो भन्ने लाग्छ । तर कोही पनि तयार नहुँदा उनलाई दुख लागेको छ । कतिपयको चाहना भए पनि परिवारले रोक्ने गरेको उनले सुनाइन् ।
अहिलेसम्म सम्झनायोग्य दुर्घटनामा परेकी छैनन् । समाजमा ड्राइभरलाई हेर्ने दृष्टिकोण फरक रहेकोमा उनको चित्तदुखाई छ । कतिपय त कुट्न पनि आउँछन, तर महिला देखेपछि भने हच्किएर फर्किन्छन् । विशेष गरी मोटरसाइल चलाउनेले थर्काउने उनले बताइन् । सडकमा ओभरट्याक गर्दा नराम्रो बोली र व्यवहारमा पर्ने उनको अनुभव छ ।
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले एक्ली ट्याक्सी चालक विष्णु पोखराको गौरव रहेको बताए । ‘लामो समयदेखि व्यवसायिक रुपमा ड्राइभिङ पेशामा आवद्ध भएर सेवा दिनु चानचुने कुरा होइन’, उनले भने, ‘बष्णुको यो साहसीक काम भएकाले बेलाबेलामा सम्मान र पुरस्कृत गर्दै आएका छौ । कुनै समस्या आइपरेमा उनलाई महत्व दिएर प्रालिले सहयोग गर्दै पनि आएको छ ।’ आत्मबिश्वासकासाथ काम गरे जुनसुकै क्षेत्रमा पनि सफल भईन्छ भन्ने सन्देश उनले दिएको उनले बताए । विष्णु अहिले एक्ली ट्याक्सी ट्याक्सी चालक रहे पनि पहिलो भने होइनन् । झन्डै २ दशक अघि पोखराकै माटेपानीकी माटेपानीकी एक महिलाले पनि ट्याक्स चलाउँथिन । तर धेरै समय टिक्न नसकेर विदेश गएकी थिईन । २ वर्ष अघि पनि तनहुँकी एक युवतीले पोखरा दमौली ट्याक्सी चलाउथिन् । तर ५/६ महिना ट्याक्सी चलाएकी युवती अहिले सम्पर्कमा नरहेको पौडेलले बताए ।





