बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कोटी होमका नाममा बरपिपल काट्ने ७ जनाविरुद्ध मुद्दा दायर

कोटी होमका नाममा बरपिपल काट्ने ७ जनाविरुद्ध मुद्दा दायर


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०८२, बिहिबार

पोखरा/  पोखरा महानगरपालिका वडा नम्बर १४ स्थित सयौं वर्ष पुराना चौतारीका बर, पीपल तथा समीका रुख अनाधिकृत रूपमा काटेको आरोपमा डिभिजन वन कार्यालय कास्कीले ७ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

मानवसेवा फाउन्डेसन नेपालका प्रबन्धक विष्णुराज गिरी, पोखरा–१४ मा रहेका शुभमार्ग टोल विकास संस्थाका ताराप्रसाद तिवारी, योगमाया बराल, राधाकृष्ण टोलका अर्जुनबहादुर कार्की, रामकृष्ण अधिकारी, साधना मार्गका ज्ञानेन्द्र सार्की र रमेश पौडेललाई प्रतिवादी बनाई कार्यालयले गत सोमबार अभियोगपत्र दायर गरेको हो ।

डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफ्लेले अनुसन्धानका क्रममा चौतारीका बर, पीपललगायत रुखका हाँगाहरू वन ऐन र नियमावलीमा तोकिएको प्रक्रिया नपुर्‍याई आफूखुसी काटिएको पाइएकोले मुद्दा दायर गरिएको बताए । ‘कोटी होमका लागि भनी भर्पाइ गरी लिने दिने गरेको र कानुन विपरीत सम्झौता गरी समिधा बनाउने काम भएको अनुसन्धानमा पत्ता लागेको छ,’ उनले भने, ‘त्यस्तै रुखका हाँगाहरू प्रक्रिया नपुर्‍याई काटी बेच्ने काम भएको पनि खुलेको छ ।’ प्रतिवादीहरूले वन ऐन २०७६ को दफा ३७ (३) र वन नियमावली २०७९ को नियम ८४ (६) को प्रक्रिया नपुर्‍याई उक्त कार्य गरेको देखिएकाले उनीहरूलाई वन ऐन २०७६ को दफा ४९ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ५० (१४) बमोजिम सजाय हुनुपर्ने वन कार्यालयले माग गरेको छ । वन ऐनअनुसार रुख काट्नेलाई बिगो असुल गर्ने र १० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ ।

यसअघि गत फागुनमा मानव सेवा फाउन्डेसनले वैशाख १७ देखि जेठ २६ सम्म पोखरामा कोटी होम लगाउने भन्दै बर, पीपल र समीका रुख काटेको थियो । पोखराका विभिन्न वडामा ३३ वटा पुराना रुख कटान गरिएका छन् । ती सबै सयौं वर्ष पुराना रुख हुन् । काटिएका रुखहरूमा चौतारा पनि थिए र ती रुखमा चराचुरुंगीको बासस्थान रहेको थियो । संरक्षणकर्मीले पोखराका ऐतिहासिक चौताराका रुख कटान गर्नेलाई कानुनअनुसार मुद्दा चलाएर कारबाही गनुपर्ने माग गर्दै आएका थिए । पोखरा पंक्षी समाज, मेरो नेपाल युवा क्लब, वातावरण संरक्षणको लागि महाअभियान कास्की, नागरिक समाज कास्की र विभिन्न संघ संस्थाहरूले पनि घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न वन कार्यालयमा निवेदन दिएका थिए ।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा पनि उजुरी परेको थियो । वन कार्यालयले उक्त निवेदनको आधारमा समेत अनुसन्धान गरी अभियोगपत्र तयार गरेको हो । यसअघि पोखरा महानगरपालिकाले काटिएका काठदाउरा जफत गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->