बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कमल पोखरीः जसलाई विश्वकर्माहरुले संरक्षण गरे र चिनाए

कमल पोखरीः जसलाई विश्वकर्माहरुले संरक्षण गरे र चिनाए

जहाँ नाग बस्छन्, कमल फुल्छन्


  • ढोरपाटन संवाददाता
  • साउन १७ २०८२, शनिबार

पोखरा/  कास्कीको उत्तरपूर्वी गाउँ मौजाका केशबहादुुर विश्वकर्मा २०१५ सालतिर पोखरा १३, बाँझापाटनमा बसाइँ सरे । पिता दलबहादुर सातसाले कांग्रेस । राणाविरोधी आन्दोलनमा सरिक केशबहादुरको कांग्रेसका सवैजसो नेता तथा २००६ सालको ‘हलो क्रान्ति’ का नायकहरु पण्डित तोयानाथ पौडेल,शेषकान्त–श्रीकान्त अधिकारीहरुसँग पनि सगत थियो । सामाजिक जागरणका कुरा हुन्थे । त्यो गुण छोरा केशबहादुरमा ससर्ने कुरै भएन । क्रान्तिको राप र तापमा हुर्केका उनीभित्र समाजका लागि केही गरौँ भन्ने भावना थियो ।

पोखराको प्रसिद्ध काहुँडाँडा र आर्वाको फेदीमा पर्छ– बाँझापाटन । जोडिएको कुँडहरमा पुरानो मुसलमान बस्ति छ । केशबहादुर पानीको हाहाकार हुने काहुँडाँडाको फेदीमा रहेको मुस्लिमहरुको चिहानघारी र बाँझापाटनको भित्रि भाग अर्थात् काहुँको पुछारमा चाहिँ एउटा गज्जबको पानीको मुल र पोखरीतिर गइरहन्थे । पोखरामा खानेपानीको प्रबन्ध भएकै थिएन । कमलपोखरीमा हिउँद–बर्खा नै मुल सुक्दैनथ्यो । बर्खामा चाहिँ त्यहाँको पानी कुलो काटेर बाँझापाटन र पट्नेरीको फाँटसम्म पु¥याइन्यो । कतिसम्म भने त्यो पानी अहिले दुईकुलाको मुहान भनिने ठाउँबाट तल झारेर पोखरा १४ को काजीपोखरीसम्म पुग्थ्यो । अहिलेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पछाडि रहेको काजीपोखरी क्षेत्रमा पानीको दुःख थियो । काजीपोखरी अहिले साँघुरिएको छ । बर्खामा काजीपोखरीमा जम्मा गरिएको पानी नै हिउँदमा सो क्षेत्रमा हुने विहेलगायतका कार्यमा भतेर पकाउन प्रयोग गरिन्थ्यो । काजीपोखरीमा भैंसी आहाल बस्न निषेध गरिएको थियो ।

यो त, पानीको कुरा भयो । त्यस्तो कलकल पानी आउने धारानेरको पोखरीमा चाहिँ कमलका फूल फुल्थे । मान्छेहरु नागपञ्चमीको दिन त्यहाँको कमलको पात टिप्न जान्थे । नागको पूजा पनि गर्थे । कमलको पात टिप्न जानेले पोखरीमा ५–१० पैसा फाल्थे,’उनले भने,‘त्यहाँ कालीनाग बस्नुहुन्छ । मैले कतिपल्ट नाग देखेको छु । आजकल पनि जुठोपिठो भयो भने देखिन्छन् । पोखरीमा जाँदा केही दख्खल गर्नुभएको छैन ।’

अहिले कमलपोखरी भनिने र विश्व रामसार सूचीमा सूचीकृत पोखरीलाई मान्छेहरु बुडुवा भन्थे । बर्खा सुरु हुनुअघि नै वरपरको क्षेत्रमा रोपाइँ हुन्थ्यो । केही पोडे थरका मान्छेहरु त्यहाँ माछा मार्थे । ‘भित्ते माछा’ पाइन्थ्यो । केशबहादुरले सुने अनुसार काहुँका तत्कालीन मुखिया भीमप्रसाद आचार्यले गौंडाको मुखमा बस्ने मति पोडेलाई वार्षिक ३ रुपैयाँ एक मोहोर लिने गरी माछा मार्नको लागि भाडामा दिएका थिए रे ! मती पोेडेका छोरा गोथे पोडे र नाति इन्द्र पोडेहरु त्यहाँ माछा मार्थे । पछि मान्छेहरु थपिँदै गए । वरपरका मान्छेले पोखरी भएको ठाउँसम्मै धान रोप्न थाले । पछि ठेकेदारी काम थालेका केशबहादुरलाई यो पोखरी त जोगाउनु पर्छ भन्ने लागेछ । उनले संरक्षणको अभियान थालेछन् ।

‘म सी क्लासको ठेकेदार । भगवानले खान–लाउन पु¥याएकै थिए । बुबा समाजको लागि केही गरौँ भन्नुहुन्थ्यो,’उनले भने,‘कसैको आँखा नगरेको ठाउँलाई संरक्षण गर्नुपर्छ भनेर,म दलितको छोरो,दलितसँगै ५–५ रुपैयाँ चन्दा उठाएर संरक्षणको काम थालेँ,’ उनले भने,‘पोखरीको मुखमा पार्टी बनाएँ । त्यसमा पिताको नाममा लेखेको छु । अर्को पार्टीमा आमा पवित्रमाया विश्वकर्माको नाम छ । चौतारा बनाएको छु । यो व्यक्तिगत खर्च हो । पोखरी पुग्ने बाटो बनाएँ,ढलान गरेर । व्यक्तिगत खर्च हो । २५–३० लाख खर्च गरेँ । मेरो मनले जे भन्यो, त्यही गरेँ । पिता–माताको नाम किन लेखेको भने, भोलि म नहुँदा त्यो थोत्रो हुँदा छोरा–नातिले बनाउलान् भनेर ।’
केशबहादुरको नेतृत्वका विश्वकर्मा समूहले संरक्षणको जिम्मा लिएपछि कमलपोखरीबारे चासो बढ्न थाल्यो । पहिले कमलपोखरी क्षेत्र १ सय ८६ रोपनी क्षेत्रफललाई नै कमलपोखरी भनिन्थ्यो । तर, व्यक्तिको नाममा रहेको जग्गा व्यक्तिकै हातमा गयो । कमलपोखरीकै नाममा चाहिँ ३८ रोपनी जति जग्गा आयो । अहिले आइपुग्दा चाहिँ कमलपोखरी ३२ रोपनीमा खुम्चिएको छ ।

‘राष्ट्रिय सम्पदा हो, जोगाउनुपर्छ भनेर ३० वर्ष पहिला, ४५ सालदेखि नै काम थालेको हो । सुरुमा नगरपालिकासँग १ लाख रुपैयाँ मागेर मोटामोटी नक्सा छुट्याइयो,’केशबहादुर भन्छन्,‘ तारबारभन्दा ६ मिटर बाहिर यसको क्षेत्रफल ठहर हुन्छ । नक्सा छुट्याउन धेरै दुःख भयो, किसानले हडप्ने कुरा गर्छन् । पर्यटन विकास होला भनेर नै मैले यो काममा हात हालेको हुँ ।’ केशबहादुर ८२ वर्षका भए । जोस उस्तै छ । उनी अहिले पनि कमलपोखरी संरक्षण समितिका अध्यक्ष छन् । ‘यो नागको थान नै हो र कमल यो पोखरीको विशेषता हो,’उनले भने,‘ पछि यहाँको कमल मासिन थाल्यो । रुपातालबाट ल्याएर फेरि जमाएको हो । विश्वकर्मा समुदायले संरक्षण गरे पनि यहाँ हाम्रा कुल वा अन्य देवीदेवताको मूर्ति राखिएको छै । आउने मान्छेले फूल चढाउन् भनेर मैले पटनाभन्दा अगाडि पर्ने आरा जिल्ला गएर कालिगढ खोजेर ल्याएँ । मेरै घरमा राखेर नाग,राधाकृष्ण र अन्य मूर्ति बनाएर प्राणप्रतिष्ठासहित स्थापना गरिएको हो ।’

संरक्षणको लागि २०५१ सालदेखि नै आमा समूहसमेत सक्रिय छ । नित्य पूजाआजाको लागि विश्वकर्मा समुदायकै उज्ज्वल विक पुजारी छन् । २०७९ को चुनावताका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का केशबहादुरकहाँ बास बस्न पुगेका थिए । कांग्रेस कार्यकर्ताकहाँ रात बिताउने गरेका खड्का एक रात दुई दिन त्यहाँ बसेछन् । त्यो बेला केशबहादुरले कमलपोखरीको संरक्षणको कुरा उठाएका रहेछन् ।
‘उहाँले नगरपालिकाको मेयरलाई भनेपछि १० लाख रुपेयाँ आएको थियो । गएसाल १८ लाख दिएको थियो । जमिनको लेबल माथिबाट आउने खहरेले खोल्छ भनेर कमलपोखरीको माथिनेर,पारिपट्टि पर्खाल लगाउने काम भयो,’उनले भने,‘वडाले पनि सहयोग गरेको छ ।’

पोखरा १३ का वडाध्यक्ष किरण बरालका अनुसार कमलपोखरीलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउन संरक्षण एवं विकासका योजनसहित बजेट विनियोजन गरिएको छ । पछिल्लो समय सो क्षेत्रमा बसेको बस्ति पानी पर्नासाथ डुवानमा पर्ने गरेको बताउँदै उनले डुवानको समस्या समाधानको लागि पनि काम भइरहेको जानकारी गराए । त्यसको लागि वहुवर्षीय योजनाअन्तर्गत ८ करोड विनियोजन भएको उनको भनाइ छ ।

कमलपोखरी संरक्षण समितिका सचिव तिलबहादुर सुनारका अनुसार कमलपोखरी खासमा हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र हो । संरक्षणको जिम्मेवारी चाहिँ केशबहादुरको पहलमा विश्वकर्मा समूहले लिइरहेको छ । संरक्षणको लागि चौकीदारको व्यवस्था पनि गरिएको छ । दैनिक पूजाको लागि १ लाखको अक्षयकोष स्थापना गरिएको छ । सीमसार क्षेत्र भएकाले यहाँ घुमन्ते चराहरु पनि आउँछन् । नागपञ्चमीको दिनमा कमलको पात टिप्न आउने र पूजा गर्नेहरुको भीड लाग्छ । पोखरा सम्भवत ः सवैभन्दा धेरै नागको थान भएको सहर हो । यहाँ नागढुंगा भन्ने ठाउँ नै छ भने सहरका विभिन्न भाग र व्यक्तिगत जग्गामा पनि नागको थान बनाइएको छ । कमलपोखरी चाहिँ पोखराको मुख्य बजार महेन्द्रपुलबाट करिब चार किलोमिटर दूरीमा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->