बागलुङ/धौलागिरि अस्पतालमा रहेको आमा घरमा कुल सुत्केरीको एक प्रतिशतमात्रै बस्ने गरेका छन् । निशुल्क खानेबस्ने सेवा भएर पनि धेरैले यो सेवा नलिएका हुन् । जे उद्देश्यले आमा घर स्थापना भयो बसिदिनेहरु नभएर त्यो उद्देश्य पूरा नभएको अस्पताल श्रोतले बतायो । तीनचार वर्ष अघिसम्म त यो घरमा बस्ने कोही थिएनन् । पछिल्लो दुइ वर्षदेखि छिटफुट बस्न आएका छन् । तर त्यो पर्याप्त नभएको अस्पतालकी नर्सिङ अधिकृत तथा सूचना अधिकारी शान्ति पौडेलले बताइन् ।
अहिलेसम्म यहाँ आएर बसेकाहरु पनि न्यून छन् । आर्थिक अवस्था कमजोर भएकोले कतै बस्नै नसकेकाहरु मात्र यहाँ बस्ने गरेका छन् । ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा बनाइएका आमा घरमा भने धेरै महिला बस्ने गरेका छन् । तर, सदरमुकाममै रहेको आमा घरमा सेवाग्राही नबसी डेरा खोजेर बस्ने गरेका छन् । कतिपयले आफन्त खोजेर बस्ने गरेको पौडेलले बताइन् ।
प्रसुती पूर्व र प्रसूतीपछि आउन सक्ने समस्याको तत्काल उपचार गर्न सकियोस् भनेर बनाइएको आमा घर उपयोगविहिन जस्तै हुने गरेको पौडेलको भनाइ छ । ‘केही महिला बस्नुभएको छ, खाली त छैन, तर धेरै होइन,’ उनले भनिन्, ‘यो घरको प्रचार राम्रो भयो भने नियमित बस्नेहरु आउनेछन् ।’
प्रसूती समयमा समस्या आएमा हेलीकोप्टर खोजेर उद्दारको तयारी गर्न चाहनेले अस्पतालभित्रै बस्न भने नचाहेको उनले बताइन् । सदरमुकाम बाहिरका अधिकांश प्रतिक्षा घरमा वर्षमा अधिकांस महिला बस्छन् । उनीहरुले निशुल्क सेवा लिन्छन् । तर सदरमुकाममै भएको घर उपयोग नहुनुलाई सरोकारवालाले प्रचार अभाव र सेवाबारे जानकारी दिन नसकेको बताए ।
अस्पतालको प्रसुती प्रतिक्षा घरमा तातो चिसो, ग्यास चुलोसहितको भाँडा र पोषिलो खानेकुराको व्यवस्था छ । एकजना सहयोगी समेत पाउँछन् । त्यतिमात्र हैन, एक जना कुरुवालाई पनि राख्न पाइन्छ । साता दिनसम्म बस्नु परे पनि सबै सेवा निशुल्क पाउने व्यवस्था भएर पनि अस्पतालमा सुत्केरी हुन आउने एकादुईले मात्र आमा घरको उपयोग गरिरहेका छन् ।
अस्पताल नर्सिङ प्रशासक शान्ति पौडेलका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा धौलागिरि अस्पतालमा ९ सय १५ जना महिला सुत्केरी भए । तीमध्ये २ सय ९२ जनाको अपरेशन समेत भयो । तर आमा घरमा १६ जनामात्रै बसे । त्योभन्दा अघिल्लो वर्ष ९ सय ७५ जना सुत्केरी भएकोमा २ सय ७८ जनाको अपरेशन समेत भएको थियो । त्यतिबेला २१ जनाले आमा घरको सेवा लिएको प्रसूती प्रतीक्षा घर इन्चार्ज अजिता सिलवालले बताइन् ।
अस्पतालभित्र सुविधा सम्पन्न आमाघर छ भनेर बुझाउन नसकेको, निशुल्क खानेबस्ने र कुरुवा समेत राख्न सकिन्छ भन्ने जानकारी नभएको र सदरमुकाम आएर होटलमा बस्नुभन्दा थप सुरक्षित हुन्छ भन्ने सही जानकारी दिन नसकेकोले यो अवस्था आएको अस्पतालका अध्यक्ष अमरबहादुर थापाले बताए । ‘हामीले अस्पतालमा विशेषज्ञ सेवा छ भन्नेसमेत बmुझाउन नसकेको अवस्था छ,’ थापाले भने, ‘केही वर्ष अघिसम्म अस्पतालमा प्रभावकारी सेवा नपाएकोले अहिलेको सेवाबारे पनि नागरिक विश्वस्त बन्न नसकेका हुन् ।’
अस्पतालमा अहिले भने २६ जना विशेषज्ञ चिकित्सकसहित ३६ जना डाक्टरको व्यवस्था छ । विभिन्न अपरेशन सेवा, डायलाएसिस सेवा, थेरापी र सिटि स्क्यान तथा ट्रमा युनिटबाट पनि सेवा प्रवाह भइरहेको छ ।





