बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले स्वस्थ्य नागरिक बन्नका लािग बिषादीरहित कृषि उत्पादन चाहिने बताएका छन् । उनले नागरिक स्वस्थ्य भएमात्र दक्ष नागरिक बन्न सक्ने समेत बताए । स्वस्थ्य नागरिक बन्नका लागि हरेक नागरिकले स्वस्थ्य कृषि उत्पादन खान पाउनुपर्ने व्यवस्था गर्न कृषि क्षेत्रका प्राविधिकलाई आग्रह गरे ।
बागलुङस्थित कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले आयोजना गरेको गत आर्थिक वर्षको समीक्षा तथा चालु वर्षको कार्यक्रम सार्वजनिकीकरणमा मन्त्री पाठकले कृषि फसलहरु बिषादीरहित बनाउने काममा सबैको चासो र पहल हुनुपर्ने बताए । जिल्लाभित्रै कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्न सकेमा बिषादीको मात्रा कम हुने उनको धारणा छ ।
भारतबाट आएको तरकारीको हिस्सा पहाडसम्म पुग्दा बिषादीको उपभोग बढेकोले नागरिकहरुमा नसर्ने लागयतका रोगको प्रकोप बढेको मन्त्री पाठकको भनाइ छ । उनले मौलिक प्रकारका कृषि उत्पादन बढाउने, निर्यातमुखी उत्पादन गर्ने र राज्यले पनि त्यस्ता उत्पादनमा सहुलियत र अनुदान दिने व्यवस्था हुँदा युवा पनि आर्कषित हुने बताए । कृषि पेशा गर्ने युवालाई सम्मान गर्नुपर्ने समेत उनको धारणा थियो ।
कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले कृषि क्षेत्रमा प्रविधि र प्राविधिक राज्यले दिनुपर्ने र नागरिकले मेहेनत गरेर उत्पादन बढाएमा आयात प्रतिस्थापन हुने बताए । चालु वर्ष जैमिनी नगरपालिकाले कृषि क्षेत्रमा बजेट प्रसस्त विनियोजन गरेको तर काम गरिदिने किसानको अभाव हुन लागेको बताए । नगरपालिकामा चालु वर्ष कृषि क्षेत्रमा १ करोडबढी बजेट विनियोजन भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव बासुदेव रेग्मीले कनिका छरेको बजेटले उत्पादन हुन नसक्ने बताए । उनले ठोस उत्पादनका लागि राज्यको लगानी केन्द्रीत गर्ने भन्दै आयात प्रतिस्थापन गर्ने खालको उत्पादनमा लगानी गर्ने बताए । उनले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग लक्षित कृषि कार्यक्रम अगाडि बढाउने उनले बताए । त्यसका लागि चालु वर्ष मन्त्रालयले परीक्षणका लागि कार्यक्रम संचालन गर्न लागेको बताए । अहिले पनि पोखराको मण्डीमा ६० प्रतिशत भारतको तरकारी आउने गरेको देखेपछि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने लक्ष्यमा मन्त्रालयले योजना बनाएको बताए । त्यसका लागि किसानले पनि साथ दिनुपर्ने रेग्मीको भनाइ थियो ।
जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको अध्यक्षता, परियोजनाका दिनेश पाठकको संचालनमा सम्पनन कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवाल, भेटेनरी अस्पतालका प्रमुख डा. ऋषिराम सापकोटा, परियोजनाका प्रमुख नारायण पौडेलले कार्यक्रम प्रस्तुतीकरण गरेका थिए । उक्त अवसरमा किसान र सरोकारवालाले कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउनुपर्ने धारणा राखेका थिए । ग्रामीण क्षेत्रमा पशुपालन गरेकाहरु अहिले पनि अनुदान माग्न आउन नसक्ने, तर कागजमा प्रक्रिया बनाउन सक्नेहरुले धमाधम अनुदान खाएको भन्दै उनीहरुले त्यस्ताको खोजी गर्ने र वास्तविक किसानको बारीमा अनुदान लैजान पनि सुझाव दिए ।
पछिल्लो समय कृषि क्षेत्रमा व्यवसायिकीकरण बन्ने क्रम भने बढेको छ । अटोमेसन प्रविधिसम्म पुगेर किसानले कृषि फसल उत्पादन गरिरहेका छन् । तर पनि आयात भने प्रतिस्थापन भएको छैन । एकादुइ व्यवसायिक किसान बन्ने भन्दा पनि चक्लाबन्दीमा धेरै खेती गर्ने, धेरै युवालाई कृषिमा लगाउने र कृषि एम्बुलेन्समार्फत संकलन गर्ने, बजारीकरणमा स्थानीय सरकार तथा कृषिका सारेकारवाला संस्थाले पहल गर्ने गर्दा युवामा आर्कषण बढ्ने बताए ।
कार्यक्रममा पत्रकार डम्बर बुढा, किरण आचार्य, अगुवा किसान नन्दलाल सापकोटा, सीता थापा, गंगाबहादुर थापा, मानसिंह पुन लगायतले आफ्नो अनुभव सुनाउनुको साथै अनुदानको क्षेत्रमा कृषि र पशु कार्यालयले लगानी बढाउनुपर्ने बताएका थिए । कार्यक्रम अनुसार जिल्लाका १० पालिकासहित कृषि, भेटेनरी र परियोजनाका बजेटले चालु वर्ष झण्डै ५० करोड रुपैयाँको कार्यक्रम तथा योजनाहरु संचालन हुने बताइएको छ ।





