पोखरा / महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले वडावासीलाई आफ्नो निजी गाडी एम्बुलेन्स तथा शवबाहनको रुपमा प्रयोग गर्न दिने घोषणा गरेका छन् । पोखरा- २६ का विकट क्षेत्रका नागरिकहरुले आफ्नो ठाउँमा एम्बुलेन्ससमेत नआउने र आएपनि महंगो भाडा तिर्नुपर्ने गुनासो गरेसँगै वडाध्यक्ष थापाले सो घोषणा गरेका हुन् ।
‘मेरो एउटा सेतो हाइलक्स गाडी छ । मेरो कार्यकालभरि वडामा कोही बिरामी हुनुभयो वा कसैको निधन भयो भने मेरो गाडीलाई एम्बुलेन्स र शववाहनको रुपमा प्रयोग गर्न सक्नुहुनेछ,’ वडाको सार्वजनिक सुनुवाइको क्रममा उनले भने, ‘त्यो निशुल्क हुन्छ । मलाई सम्पर्क गर्नुहोला ।’ उक्त गाडीको चाबी वडावासीको सेवाका लागि सधैं उपलब्ध रहने उनको भनाइ थियो ।
वडाध्यक्ष थापा त्यत्तिमै रोकिएनन् । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका निम्ति सक्दो प्रयत्न गर्ने प्रतिवद्धता जनाए । स्थानीय महादेव ढुंगानाले राखी स्वास्थ्य चौकीमा शनिबार पनि उपचारको व्यवस्था मिलाइदिन वडासँग आग्रह गरे । ‘वडाको एकमात्र स्वास्थ्यचौकी हो । ति पनि खोलेर सेवा दिनुपर्ने हो, हाम्रोमा शनिबार दिउँसैपनि बन्द हुन्छ,’ उनले भने, ‘बिरामी कार्यालय समयमा मात्रै हुँदैनन् । सँधै स्वास्थ्यचौकी खुल्ने वातावरण भए राम्रो हुन्थ्यो ।’ उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा बढी राजनीतिकरण भएका कारण समस्या परेको गुनासो पोखे । सरकारी स्कुलको गुणस्तर सुधार्ने दिशामा योजनावद्ध तरिकाले काम गर्ने उनको भनाइ थियो ।
वडाध्यक्षले माग जायज भएपनि जनशक्ति अभाव भएका कारण अपेक्षाकृत सेवा दिन नसकेको बताए । ‘स्वास्थ्यचौकी बन्द गर्ने रहर भएर होइन । हामीसँग जनशक्ति नै छैनन्,’ उनले भने, ‘सकेसम्म सँधै र चौबीसै घण्टा खोल्नुपर्ने हो । जनशक्ति पाइयो भने त्यो सम्भावना छ ।’ वडाध्यक्ष थापाले विकास निर्माणका कामहरूमा सबैको सहकार्य आवश्यक रहेको बताए । ‘तपाईंहरू मिल्नुभयो भने बजेट आउँछ, काम हुन्छ । तर, विकास आफ्नो घरछेउमा आउँदा मापदण्ड मिच्न खोज्ने प्रवृत्तिले समस्या भएको छ,’ उनले भने । उहाँले अलपत्र सडक निर्माणका लागि मापदण्ड क्लियर गरेर आए बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
कुकुर र छाडा चौपायाको समस्या समाधानका लागि वडाले मात्र नभइ समुदाय नै सक्रिय हुनुपर्ने उनको सुझाव छ । ‘तपाईंहरु टोल विकास समिति हुनुहुन्छ । टोलमा भएका कुकुर वडामा सूचीकृत गराउन लगाउनुस्,’ उनी भन्छन्, ‘कसैले खुला ठाउँमा दिशा पिसाव गराए सकेसम्म टोलले नै कारबाही गर्नुस् । नभए वडामा पठाउनुस् ।’
स्थानीय ममता गुरुङले सरकारी विद्यालयको गुणस्तर सुधारका लागि जनप्रतिनिधि, कर्मचारी र शिक्षकका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी स्कुलमा पढाउने नियम लागू गर्नुपर्ने बताइन् । ‘सरकारी स्कुल भनेको गरीब र विपन्नका सन्तानले पढ्ने हो भन्ने भाष्य बनिसकेको छ । धनी र पहुँचवालाका बच्चा सबै बोर्डिङ गए,’ उनले भनिन्, ‘अब पैसावालाका बच्चा पनि सरकारी स्कुलमा पढ्नुपर्छ । धनीहरुको बच्चाले पनि पढ्न सक्ने स्कुल बनाउन वडाले पहल गरोस् ।’ जवाफमा अध्यक्ष थापाले सरकारी स्कुलको गुणस्तर सुधार्न सक्दो प्रयास गरिरहेको सुनाए ।
कार्यक्रमका सहभागीहरुले भौतिक पूर्वाधार विकाससँगै सामाजिक विकृति नियन्त्रणका लागि पनि वडालाई सजग गराए । खासगरी छाडा चौपाया नियन्त्रण, कुकुरलाई जथाभावी दिशा पिसाव गराउनेहरुलाई कारबाही, चोरी नियन्त्रण गरिदिन आग्रह गरे । उनीहरुले अधुरा रहेका विकास निर्माणका काममा धेरै प्रश्न उठाएका छन् भने दुव्र्यसनी नियन्त्रणका लागि वडाको साथ खोजेका छन् । अव्यवस्थित बिजुलीका पोल, खानेपानी, सार्वजनिक जग्गा संरक्षण र सुरक्षाका विषयमा जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए ।
‘घरमा महंगा कुकुर पालेका छन् । दिशा पिसावका लागि सार्वजनिक ठाउँमा लैजान्छन्,’ उनीहरुले भने, ‘वडाले त्यस्ता व्यक्तिको पहिचान गरेर कारबाही गर्नुप¥यो ।’ यद्यपि, वडामा भैरहेको विकास निर्माणबारे भने सबैले जनप्रतिनिधिलाई धन्यवाद दिएका छन् । कार्यक्रममा वडाका सूचना अधिकारी नवराज सापकोटाले गत वर्ष सम्पादन गरिएको कामबारे प्रस्तुती राखेका थिए ।
थापाले वडामा बजेट ल्याउन र विकास निर्माणका कामलाई अघि बढाउन आफूले सक्दो प्रयास गरेको जानकारी दिए । उनले अपुरा रहेका बाटो निर्माण, सार्वजनिक जग्गा संरक्षण, विद्युत पोल व्यवस्थापन लगायतका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी काम अघि बढाउने प्रतिबद्धता जनाए । ‘मैले जित्दा कसैले हार्नु पर्दैन भन्ने नाराका साथ काम गरेको छु र सबैको साथ लिएर नै वडाको विकासमा लागेको छु,’ उनले भने । वडामा भएका विकास निर्माणका काममा गुणस्तर कायम गर्न र उपभोक्ता समितिहरुलाई पारदर्शी बनाउन आफू सधैँ लागिपर्ने भन्दै उनले नागरिकले पनि जिम्मेवारीबोधका साथ काम गर्नुपर्ने बताए ।
कार्यक्रममा पुर्वमन्त्री यज्ञबहादुर थापाले वडाको विकास नेपालमै नमूना ढंगबाट भैरहेको बताए । वडा सचिव लीलाधर भण्डारी, शिशुवा अस्पताल समितिका अध्यक्ष बाबुराम गिरी, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले वडाले प्रदान गरेको सेवाप्रति खुसी जनाए ।





