पोखरा/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य तथा वडा नम्बर ९ का वडा सदस्य भावना श्रेष्ठ र बाटोको निकास सम्बन्धी विवादमा निवेदक रहेका रविनकुमार श्रेष्ठविरुद्ध सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उनीहरुबिरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गर्दै २ लाख विगो र जरिवाना माग गरिएको अख्तियारले जनाएको छ । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार न्यायिक समिति सदस्य श्रेष्ठलगायतलाई बाटोको विवादसम्बन्धी मुद्दामा निर्णय गर्दा आफ्नो पक्षमा पार्नका लागि रविन कुमारले २ लाख घुस दिएको भन्ने उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा पोखरा महानगरपालिका कास्कीका न्यायिक समितिमा विचाराधीन पोखरा २६ को बाटोको निकाससम्बन्धी विवादमा निवेदक रविनले न्यायिक समिति सदस्य श्रेष्ठलाई २ लाख घुस दिएको पुष्टि हुन आएको अख्तियारको ठहर छ।





