पोखरा/ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको एक कार्यक्रमका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आज अमेरिका उडेका छन् । मुख्यमन्त्री पाण्डे परिषद्को नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा शपथ ग्रहण समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुने छन् ।
अमेरिकाको भर्जिनियामा आयोजना हुने संघको १४ औं वार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारीको पदस्थापनमा उनले शुभकामना तथा बधाई दिनेछन्।
मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाका अनुसार आज साँझ ६ बजेको समयमा मुखयमन्त्री पाण्डे अमेरिकाका लागि उडेका छन् । उनी भदौ १० गते नेपाल फर्किने उनले बताए । मुख्यमन्त्री अमेरिका गएसंगै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएकी छन् । संघको सन् २०२५–२७ कार्यकालका लागि हालै सम्पन्न निर्वाचनबाट सतेन्द्र के साहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। टुकप्रसाद रेग्मी नेतृत्वको निर्वाचन आयोगले अगस्ट १८, २०२५ मा सम्पन्न निर्वाचनको परिणाम घोषणा गरेअनुसार, साहले आफ्ना तीन प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्ष पदमा जित हासिल गरेका हुन्।





