बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गौर नरसंहारको आदेश माओवादीलक्षित– प्रचण्ड

गौर नरसंहारको आदेश माओवादीलक्षित– प्रचण्ड


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०८२, बिहिबार

पोखरा/  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले गौर हत्याकाण्डबारे जारी गरेको परमादेश माओवादी लक्षित रहेको बताएका छन् । झट्ट हेर्दा परमादेश उपेन्द्र यादवमाथि लक्षित जस्तो देखिए पनि त्यो आफ्नै पार्टीलक्षित भएको उनको भनाई थियो ।

अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीद्वारा आज पोखरामा आयोजित वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले यस्तो बताएका हुन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय पनि आफ्नै पार्टीलक्षित भएको प्रचण्डको भनाइ थियो । ‘कुलमानलाई फालेको थिएन, माओवादीलाई फाल्या हो । हेर्दा उपेन्द्र यादवलाई मुद्दा लाग्याजस्तो देखिए पनि त्यो माओवादीलाई लगाएको हो,’ प्रचण्डले भने, ‘रगत पसिना बगाएर ल्याएको परिवर्तनको रक्षा र त्यसलाई समाजवादतिर लैजाने ऐतिहासिक दायित्व निर्वाह गर्नुछ ।’

प्रचण्डले जसको टाउकाको मूल्य तोकेर, काटेर झोलामा ल्याऊ भनिएकाहरूबाटै असुरक्षित भएपछि यस्ता कार्यहरू अघि बढाएको आरोप पनि लगाए । ‘जसको टाउकोको मूल्य तोकेर, काटेर झोलामा ल्याऊ भनेको, त्यही टाउको आएर हामीमाथि राज गर्ने भनेर बसिखानुभएको छैन, उनीहरूलाई,’ प्रचण्डले भने, ‘त्यसैले सिद्याउनैपर्छ यिनीहरूलाई भनेर लागेका छन् ।’ उपसभामुखलाई हटाउन लागेको विषयमा पनि प्रचण्डले मुख खोले । ‘अहिले संवैधानिक परिषद्बाट सबै संवैधानिक निकाय कब्जा गरेर जसलाई मन लाग्यो, त्यसलाई मुद्दा चलाउने र जसलाई मन लाग्यो त्यसलाई सिद्याउने उद्देश्य अन्तर्गत काम भइरहेको प्रचण्डको आरोप थियो । ‘विचरा एउटा महिला उपसभामुख, आदिवासी–जनजातीको पनि, समाजसेवी । उनको एउटा सानो टेक्निकल कुरा त्यो पनि भएको केही नि होइन फेरि,’ प्रचण्डले भने, ‘भएको केही भए त हुन्थ्यो, केही पनि भएकै छैन । तिनलाई निकाल्न निकै ठूलो कसरत भयो ।’ संवैधानिक परिषद्मा जे मन लाग्यो त्यही निर्णय गर्नका लागि एमाले–कांग्रेसले प्रतिक्रान्तिको कदम चालेकाले त्यसलाई असफल पार्न आफू लागेको प्रचण्डले बताए ।‘उपसभामुख पmेर्ने प्रयास तेस्रो पटक असफल बनाउन सफल भएको प्रचण्डले सुनाए । अब असफलमात्रै होइन, परास्त गरेर लखेट्नुपर्ने बेला आउन लागेको भन्दै माओवादीलाई पहिले त्यो मनोबल चाहिएको प्रचण्डले बताए ।

नोकरशाहरूसँग सम्झौता गर्दा हामीमा केही न केही अलिअलि धुलोमैलो लागेको भन्दै प्रचण्डले अलिअलि पदलोलुप, अलिअलि व्यक्तिवादी, अलिअलि अवसरवादी, धेरथोर भएको बताए । उनले भने, ‘हामी अलि फ्रेस हुन पर्‍यो । यसको सुरुवात तलबाट गर्न सकिँदैन भन्ने ठाउँमा पुगेकै छ ।’

समाजवादी दलजति सबैलाई एउटै पार्टीमा ल्याउने आफ्नो कोशिस जारी रहेको बताउँदै प्रचण्डले देशमा छिट्टै अर्को आन्दोलन गर्ने बताए । माओवादीभित्र गुटउपगुट मौलाउँदै गएकोतिर प्रचण्डले संकेत गर्दै सार्वजनिक कार्यक्रमहरूमा नेतृत्वको गाली नगर्न चेतावनीसमेत दिए । प्रचण्डले गुटको पछाडि लागेर आफ्नै खुट्टामा बञ्चरो नहान्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->