पोखरा/नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंसिरपछि देशमा ठूलो सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । देशमा विचौलिया, दलाल, नकटाहरुलाई अन्य तरिकाले फाल्न नसक्ने र यसका लागि सडक आन्दोलनै गर्नु पर्ने भएको बताउँदै कार्यकर्ताहरुलाई तयार हुन समेत आग्रह गरे ।
अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) गण्डकी प्रदेश समितिले पोखरामा बिहिबार आयोजना गरेको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमको सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यसलाई हल्कामा नलिन र पार्टीभित्रै पनि यसलाई निर्देशनकै रुपमा लिन र गुटको पछि नलाग्न निर्देशन दिए ।
‘मंसिरपछि ठूलो सडक आन्दोलनमा जाने तयारी गर्नुछ । अरु कुनै तरिकाले यो दलाल, नकटा विचौलियालाई तह लगाउन सकिने स्थिति छैन् । उनीहरुलाई सडकबाटै जनताको ताकतको बलमा गलत्याउनु पर्ने अवस्था आइलागेको छ र त्यो जिम्मेवारी हामीले लिनुपर्नेछ’ उनले भने, ‘यो सबै नेताहरुका लागि पनि हो यसलाई हल्कामा नलिनुहोला यो निर्देशन हो ।अनि गुटको पछि लागेर खुट्टामा बन्चरो नहान्नुहोला । गुटले कहि लादैन कसैलाइ विध्वंस पार्ने बाहेक ।’
उनले मजदुरहरुलाई यहि ऐतिहासिक मोडमा रहेको र ऐतिहासिक जिम्मेवारी काँधमा आएको सुनाए । सबै नेताका लागि समेत यो निर्देशन रहेको बताउँदै हल्का रुपमा कसैले पनि नलिन भन्दै गुटको पछि लागेर खुट्टामा बन्चरो नहान्न समेत अनुरोध गरेका हुन् । अब गुटको नाममा विध्वंश मच्याउनेलाई छुट दिन नसक्ने भन्दै गुटको बैठक गर्ने, पार्टीको नीति, निर्णय र नेतृत्वका विरुद्ध सार्वजानिक रुपमा गालिगलौज गर्नेलाई बरदास्त गर्न नसकिने बताए ।
वर्तमान राजनैतिक अवस्थाको बारेमा बोल्दै सदनभित्रको लडाइ चलिरहँदा कहिले ठूला जालझेल, छलकपट, लाजै मर्ने तरिकाले संविधान कानुन मिचिएको बताए । ‘के व्यवस्थापिका ? के कार्यपालिका ? के अर्को पालिका ? सबै छाडा कस्ले कन्ट्रोल गर्ने ? हामीले कन्ट्रोल गर्नुपर्नेछ’ प्रचण्डले भने, ‘देख्नुभयो संघिय निजामति विधेयक मैले १८ महिना लगाएर सदमा पु¥याएको थिएँ । त्यसलाई छेडखानी गर्ने, भाच्ने कुच्याउने कोशिस गर्ने काम भयो । देख्नुभयो नि कुच्याउनेहरुले राजिनामा दिनु प¥यो ।’
अहिले संवैधानिक परिषद्बाट सबै संवैधानिक निकाय कब्जा गरेर जसलाई मन लाग्यो त्यसलाई नियुक्ति गर्ने र जस लाइ मन लाग्यो त्यसलाई सिध्याउनका लागि महिला उपसभामुख निकाल्ने कसरत चलिरहेको बताए । एमाले कांग्रेसले उपसभामुख घटाएपछि संवैधानिक परिषद्मा आफ्नो बहुमत हुने र जे मन लाग्यो त्यही निर्णय गर्न पाउने भनेर अघि बढिरहेको बताए ।
यस्तै संगठन विस्तार र उत्पादन वृद्धिमा कार्यकता र नेतालाई लाग्न जोड दिए । माओवादी केन्द्रलाई फेरि एकीकृत गर्नुपर्ने आवश्यकता औंल्याउँदै गणतन्त्र र समाजवादलाई संस्थागत गर्नका लागि एउटा संकल्प, प्रतिवद्धता र बलिदानबाट आएको हाम्रो उपलब्धि सुरक्षित गर्नुपर्ने सुनाए ।
समाजवादी शक्तिलाई एउटै मोर्चामा ल्याउन अब विशेष पहल हुने प्रचण्डको भनाइ थियो । आगामी योजना सार्वजनिक गर्दै प्रचण्डले दशैं–तिहारपछि बस्ने केन्द्रीय समिति बैठकले संगठन विस्तार र उत्पादन वृद्धिमा केन्द्रित हुने उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले जहाँ मजदुर, त्यहाँ अन्टुफ” अभियानलाई टोलदेखि वडा स्तरसम्म फैलाउन नेतृत्व र कार्यकर्तालाई निर्देशन समेत दिए । उनले समाजवादी क्रान्तिका नेता भएको नाताले आफ्नो नेतृत्वमा सामाजिक सुरक्षा कोषको थालनी भएको स्मरण गर्दै हाल उक्त कोषमा डेढ खर्ब रुपैयाँ संकलन भइसकेको जानकारी दिए । ‘औपचारिक मात्र होइन, अनौपचारिक क्षेत्रका मजदुर र विदेशमा काम गर्ने लाखौं नेपाली युवाहरूलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न सके भविष्य सुरक्षित हुन्छ,’ प्रचण्डले भने । मजदुर आन्दोलनलाई न्यूनतम वेतन, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन र ठेकेदारी प्रथा खारेजी जस्ता मुद्दासँग जोडेर अगाडि बढाउन आग्रह गरे ।
अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) गण्डकी प्रदेश समितिका अध्यक्ष रुद्र गौतमको अध्यक्षतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा मजदुर नेता तथा कार्यकर्ताको उल्लेखनिय सहभागिता रहेको महासंघका फ्याक्सन इन्चार्ज रामदीप आचार्यले बताए ।





