पोखरा / सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक, लिम्पियाधुराको समस्या डिप्लोमेटिक डाइलगको माध्यमबाट समाधान गर्ने बताएका छन् । प्रेस चौतारी कास्कीले शुक्रवार यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता गुरुङले लडाई गरेर भूमि प्राप्त गर्ने कल्पना नगरेको बताए।
‘डिप्लोमेटिक डाइलगको माध्यमबाट समस्या समाधान गर्ने हो, लडाई गरेर प्राप्त गर्ने त कल्पना गरेका छैनौँ,’ उनले भने । उनले उक्त भूमि नेपालकै भएको उल्लेख गरे । उनले भने, ‘त्यो भूमि हाम्रै हो । बिचमा अतिक्रमण हुँदै गएर क्लेम गर्न नसक्दा हेरेर बसेको हुनाले उसैको (भारत) जस्तो भो । उपभोग पनि उसैले गरेको स्थिति छ ।’
सरकारका प्रवक्ता गुरुङले लिपुलेक, लिम्पियाधुरा नेपालकै भूमि भएकाले त्यसबाट पछि नहट्ने अठोट गरे । ‘लिपुलेक लिम्पियाधुरा नेपालको भूमि हो । नेपालको स्वामित्वमा रहेको जग्गा हो । नेपालले त्यसलाई क्लेम गर्छ । तथ्य प्रमाणले त्यही कुरा गर्छ,’ उनले भने, ‘त्यसबाट हामी पछि हटेको होइन । हट्ने कुरै छैन । अन्तर्राष्ट्रिय फोरमहरूमा सरकारले नगर्ने कुरै छैन ।’
भारत र चीनबीच नेपालको पूर्वसहमति र परामर्श बिना लिपुलेक नाकालाई दुई देशबीचको व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने भनी गरिएको सम्झौता गरेपछि नेपालमा त्यसको विरोध हुँदै आएको छ ।





