बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

रक्तदान परोपकारी हितसँगै स्वयंको पनि हित होः प्रदेश प्रमुख भट्ट

रक्तदान परोपकारी हितसँगै स्वयंको पनि हित होः प्रदेश प्रमुख भट्ट


  • ढाेरपाटन संवाददाता
  • भाद्र ८ २०८२, आइतबार

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले रक्तदान परोपकारी हितसँगै स्वयंको हित रहेको बताएका छन् ।  ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, पार्दी शाखाले आयोजना गरेको रक्तदान शिविरको आइतबार उद्घाटन गर्दै भट्टले रक्तदान कार्यक्रम मानवीय धर्म र सामाजिक कर्म जोडिएको पवित्र कार्य रहेको उल्लेख गरे ।

‘स्वेच्छिक रक्तदान एउटा महत्वपूर्ण मानवीय र सामाजिक सेवा हो । यस्ता कार्यक्रमले युवा पुस्तामा मानव सेवा र रक्तदानको महत्वको बारेमा जागरुकता फैलाउन पनि उत्तिकै मद्धत गर्दछ,’ उनले भने । संस्थाका अन्तर्राष्ट्रिय पूर्व मुख्य प्रशासिका राजयोगिनी प्रकाशमणिज्यूको १८ औं पुण्यस्मृति तथा विश्व भातृत्व दिवसको अवसरमा नेपाल र भारतमा ब्रह्माकुमारीका प्रायः सबै स्थानीय सेवाकेन्द्रहरूले भदौ ६ देखि ९ गतेसम्म अन्तर्राष्ट्रिय रक्तदान शिविर आयोजना गरेको छ ।

संस्थाले मानवीय सेवा, एकता र करुणाको भावनालाई बढावा दिन यस्ता प्रकृतिको कार्यक्रम आयोजना गरेकोमा आभार व्यक्त गर्दै भट्टले यस कार्यलाई पवित्र र समाजसेवामूलक कार्यका रुपमा आफूले लिएको बताए । केन्द्रमा अध्यात्मिक चर्चा र ध्यान कार्यक्रमको आयोजना निरन्तर हुने हुँदा सबैको सुख, समृद्धि र शान्ति प्राप्तिका साथ जनजीवन मधुर र समृद्ध बन्न सहयोग पुग्ने अपेक्षा पनि उनले राखे । ‘आजको समयमा मानिसहरूले आफूलाई आत्मा सम्झन छाडेका छन् । जसले गर्दा अधर्म, विकार र अज्ञान फैलिएको छ। नयाँ सत्ययुगी सुखमय संसारको स्थापनाको खाँचो छ,’ उनले भने, ‘सबै धर्म र संस्कृतिसँग सम्बन्धित मानिसहरूलाई आफ्नो अन्तरात्मालाई चिन्न, अनुभूति गर्न र राजयोग अभ्यास मार्फत् जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्नेछ भन्नेमा आशावादी छु ।’

शाखा प्रमुख ब्रह्माकुमारी अमृत दिदीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा वडा नं. ७ अध्यक्ष राममोहन आचार्य, समाजका अग्रज देवराज चालिसे, संस्थाका महासचिव ब्रह्माकुमार शैलेषराज बराल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा लेकसाइड शाखा प्रमुख पुनम दिदीले धन्यवाद ज्ञापन र छोरेपाटन शाखा प्रमुख ब्रह्माकुमारी दीपा दिदीले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->