तस्बिर : प्रकाश छन्त्याल
बागलुङ/दक्षिण बागलुङको बरेङ बजारमा डेंगी नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान शुरु गरिएको छ । बजार क्षेत्रमा डेंगीको संक्रमण बढ्दै जान थालेपछि नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान शुरु गरिएको हो ।
बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोट र वडा नं. २ हुग्दिशिरको संगमस्थल बरेङ बजारमा फेयरमेड फाउन्डेसन, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको आयोजना र हुग्दिशिर स्वास्थ्यचौकीको सहकार्यमा अभियान चलाईएको हो । अभियानअन्तर्गत बरेङ बजारमा सरसफाई गरिएको नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका सामाजिक परिचालक डोलमाया थापाले जानकारी दिइन् ।
हुग्दिशिर स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम्सेविका र सर्वसाधारणको सहभागिताम बजार सरसफाई गरिएको हो । गत वर्षभन्दा यो वर्ष संख्यात्मक रुपमा डेंगी संक्रमितको संख्या कम देखिएपनि जोखिम भदौ र असोज महिनासम्म हुने भएकाले ‘खोज र नष्ट गर’ अभियान चलाईएको थापाले बताइन् ।
बरेङका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न अभियान चलाईने छ । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन निरन्तर सरसफाइको लागि समुदायमा जनचेतना फैलाउने काम समेत गरिएको थापाले जानकारी दिइन् ।
विशेषगरी वर्षाको पानी जम्ने बोतल, टिनका भाँडा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्याङ्कीमा लामखुट्टे फूल पार्छ । विशेष गरी साँझ–बिहानको समयमा सक्रिय हुने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगीको सङ्क्रमण फैलिने गर्छ । ‘‘एडिज जातको लामखुट्टे सफा पानीमा बस्ने, फुल पार्ने र लार्भा वृद्धि गर्ने भएकाले घर वरपरका टिनका डब्बा, थोत्रा टायर, गमला, फुलदानीमा पानी जम्न नदिन आग्रह गरिएको छ’’ थापाले भनिन् ।
उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने डेंगीका लक्षणहरु हुन् । जटिल प्रकृतिको डेंगीको संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बान्ता भइरहने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिने लक्षण देखा पर्छन् ।





