सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

तिज : वैयक्तिक स्वतन्त्रताको नाममा विद्वेष नफैलाउ

तिज : वैयक्तिक स्वतन्त्रताको नाममा विद्वेष नफैलाउ


  • माधव चापागाईं
  • भाद्र ९ २०८२, सोमबार

हरितालिका तिज हिन्दु नारीहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो । हरेक वर्ष भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने यो पर्व विशेषतः देवाधिदेव महादेवको पुजा आराधना गरेर मनाइन्छ । मुख्य रूपमा नेपाली हिन्दु महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय वातावरणमा मनाइने यो पर्व पछिल्लो समय विभिन्न जातजाति र धर्म सम्प्रदायका महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यस पर्वले विभिन्न जातजाति, भाषाभाषी र भूगोलका महिलाहरूलाई जोड्ने सेतुको काम गरेको छ । तिज पर्व नेपाल र नेपालीहरु पुगेका अन्य देशहरूमा पनि मनाइन्छ । यस पर्वमा विवाहिता महिलाहरुले आफ्ना श्रीमानको सुस्वास्थ्य एवं दीर्घायूको कामना गरि व्रत बस्छन् भने अविवाहित नारी (कुमारी)हरुले सुयोग्य वर प्राप्तिको मनोकामना लिएर देवाधिदेव महादेवको व्रत उपासना गर्ने प्रचलन छ ।
पौराणिक कालदेखि चलिआएको यो परम्परामा विवाहपश्चात कर्म घरका जिम्मेवारी, तनाव, दुखसुख, पिर, व्यथाहरुलाई माइतीको आँगनमा गएर बिसाउने गरिन्छ । आफ्नो जन्मघर र माइतीलाई चटक्क छोडी पराइघरमा जीवन बिताउँदा उत्पन्न हुने माइतीको सम्झनालाई कम गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तिजलाई लिइन्छ । हिन्दु धार्मिक ग्रन्थअनुसार भाद्र शुक्ल द्वितीयाका दिनदेखि सुरु भइ पञ्चमीका दिन सप्तऋषिको पुजा आराधना गरेर तिज पर्व समापन हुन्छ । तिजको प्रमुख दिनका रुप तृतीया तिथिलाई लिइएता पनि यी सबै दिन उत्तिकै महत्वपूर्ण छन् ।

हरितालिका तिज धार्मिक एवं साँस्कृतिक महत्व बोकेको पर्व हो । पौराणिक कालदेखि चल्दै आएको यस पर्वमा पहिलो दिन अर्थात् द्वितीयाका दिन महिलाहरू (छोरी÷चेली) माइतीमा पुगेर नयाँ नयाँ वस्त्रालङ्कार एवं आभुषणले सुसज्जित भई रमाइलो गर्दै मिष्ठान्न भोजन गर्ने र मनका भावना एवं सुखदुख साटासाट गर्ने प्रचलन छ । यसै दिनबाट औपचारिक रूपमा तीज पर्वको आरम्भ हुन्छ । प्रारम्भमा (दर) मिष्ठान्न भोजन गरेर रमाएका चेलिबेटीले तिजको तृतीया अर्थात् हरितालिका तिजका दिन निराहार व्रत बस्ने परम्परा छ, भने चतुर्थीका दिन सिद्धी विनायक भगवान गणेशको पुजा आराधना गरिन्छ । तिज पर्वको अन्तिम अर्थात् ऋषिपञ्चमीका दिन महिलाहरुद्वारा अज्ञानमा भएका गल्ती वा दोष निवारणार्थ भक्तिपूर्वक पतिव्रता अरुन्धतीले सहित भएका सप्तऋषिको पुजाआराधना गरेपश्चात हरितालिका तिजका सम्पूर्ण कार्यहरु सम्पन्न हुन्छन् ।

पौराणिक कालमा देवाधिदेव महादेवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले आद्यशक्ती भगवान शिवको सुस्वास्थ्य दिर्घायु एवं आयुआरोग्यताको कामना गरि हरितालिका तिजको दिन सर्वप्रथम व्रत बसेकी थिइन् । त्यहि दिनलाई हरितालिका तिज भनिन्छ । व्रत पश्चात् मनोकामना पूर्ण भएको विश्वासका आधारमा यो व्रतले दीर्घकालीन रुप पाएको जनश्रूति छ । हिन्दू धर्मशास्त्र अनुसार हिमालय पर्वतले आफ्नी छोरी पार्वतीलाई भगवान विष्णुसँग विवाह गरिदिने वचन दिन्छन् । पार्वती आफुले मन पराएको स्वामी पाउ भन्दै जङ्गल गएर तपस्या गर्छिन् । निरन्तर सय वर्षसम्म कठोर तपस्या गर्दा पनि फल प्राप्ति नभएपछि पार्वतीले शिव लिङ्गको स्थापना गरी निराहार व्रत प्रारम्भ गर्छिन् । यसरी पार्वतीले कठोर व्रत गरेको देखेर शिवजी प्रसन्न हुनुहुन्छ र ‘चिताएको कुरा पुगोस्’ भनी वरदान दिनुहुन्छ । त्यसपछि शिव पार्वतीको विवाह हुन्छ । हो माता पार्वतीले निराहार व्रत बसेको दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिअनुसार हिन्दु नारीहरूले यस दिनलाई व्रतउपासनाका दृष्टिले महत्वपूर्ण मान्दै आएको बुझिन्छ ।

केही समय अघिसम्म हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, सहरमा महिलाहरुका दुःख, वेदनाका भाव, सासुससुरा र श्रीमानको खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट कोही लिन नआएका, घाँस दाउरा गर्नु पर्दा माइती आउने बाटो हेरेर परेली रुझाउनु परेको जस्ता पीडाका भावहरु तिजमा बोलिन्थ्यो । महिला दिदीबहिनीहरुले दुःखसुखका गीत गाउँदै नाचगान गरेर वर्षभरिका पीडा भुल्ने गथ्र्ये । समय परिवर्तनसङ्गै शासकीय स्वरुप, सामाजिक विकृती, विसङ्गती, अन्यायअत्याचार, शोषण, दमन, हत्या, हिंसा, बलात्कार जस्ता विषयले तिजमा स्थान पाए । सामाजिक रुपमा उत्पन्न यस्ता विषयले प्रतिकात्मक रुपमा विरोध जनाइएको हुन्थ्यो । तिजमा बोलिने यस्ता विषयले समाजलाई सुसूचित गराएको पाइन्थ्यो । परन्तु महिनौं अघिको तडकभडक, धनसम्पत्तिको आडम्बर, दरका नाममा खाइने होलिवाइनको उत्सवलाई नेपाली समाजले कहिल्यै पचाएन । दरका नाममा महिनौ दिन अगाडिदेखिबाट कहिले सहकारीको दर, कहिले स्कुलको दर, कहिले अफिसको दर, कहिले राजनीतिक पार्टीको दर, कहिले आमा समूह, कहिले सम्पर्क समाज, सेवा समिति, गुठीका दरले वास्तविक दरको मर्म नै हराएको छ । तीज पर्व नेपाली संस्कृति र मौलिकपनमा आधारित सुखदुःख बिसाउने पर्व भएता पनि वर्तमानमा आइपुग्दा मनाउने शैली, लवाइखवाइ र देखासिखीपनका कारण विकृत बन्दै गएको छ । जसका कारण ऐतिहासिक मौलिकपन खस्किँदो छ । धर्म परिवर्तन, जातीय भेदभाव, ऐशआराममुखी जिवनशैली र पश्चिमी संस्कृतिको अनुसरण यसका मुल कारण हुन् । आधुनिक जीवनशैलीप्रति बढ्दो आकर्षणका कारण मानिसको समय र आर्थिक अवस्था फेरिदो छ । यहि अवस्थाकाबिच विरह र वेदना समेटिएका भावहरु उच्शृङ्खल बन्दै छन् । फलस्वरूप तिजले आफ्नै महत्व गुमाउँदैछ । हाम्रा संस्कार र संस्कृती यसरी अस्तित्वहिन बन्दा मानवीयता कमजोर बन्दै छ ।

तिज वर्षभरिको दुःखसुख साटासाट गर्ने पर्व भए पनि नेपाली संस्कार, संस्कृती, चाडपर्व र पहिचानमाथी नै आघात पु¥याउने गरि नेपालीपन, भावना र विश्वासमा विसङ्गती प्रकट भइरहेका छन् । यसर्थ तिजको पवित्रा र परम्पराको अस्तित्व जोगाउन संस्कृति र संस्कारको जगेर्ना गर्नु जरुरी हुन्छ । गीत संगीतमा देखिएका उच्श्रृङ्खल गतिविधिले समाज बिग्रँदो छ । तीजको परम्परा र मर्म विपरीत गाइएका यस्ता गीतहरूले मर्यादित परिवारलाई विकृत तुल्याएको छ । समाजमा अरूलाई देखाउन र आफू ठूलो बन्नका लागि गरिएका महंगा महंगा वस्तुको किनमेल र प्रदर्शनले वैयक्तिक स्वतन्त्रताको नाममा विद्वेष उत्पन्न गराएको छ । कति देखासिकीमा रमाउने मानिसको घरवार बिग्रीएको छ । यहि उच्छृङ्खलता र स्वतन्त्रताका बीचमा सामाजिक र धार्मिक क्रियाकलाप निरसिला बनेका छन् । धार्मिक आस्था र सामाजिक सद्भावलाई केन्द्रमा राखेर मनाइनु पर्ने तीज पर्वले हुँदा खाने र हुने खाने वर्गको बीचमा ठूलो खाडल उत्पन्न गरेको छ ।

यसर्थ तिजलाई धार्मिक आस्था र पारस्परिक मिलनको पर्व बनाउँ । सम्पन्नताको खुड्किलो चढेर मानवीयता नबिर्सौं, मासु र मदिराभित्र तिजको अस्तित्व नखोजौं । सांस्कृतिक महत्व जगेर्ना गरौं । भड्किलो र खर्चिलोपनलाई निस्तेज पार्दै मौलिकताको पक्षपोषण गरौं । यस वर्षको तिजले समाजमा विद्यमान लैङ्गिक, जातीय विभेद र असमानताको अन्त्य गर्दै समतामूलक समाज निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गरोस् । नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गरोस् । यस पर्वमा महिलाहरूले भगवान् शिव–पार्वतीको पूजा आराधना गर्दै आफ्नो सौभाग्य¸ परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुको कामनासहित उपवास बसुन् । नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम होस् । मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना होस् । सम्पन्नको अगाडि गरिब निम्नवर्गिय चेलीबेटीको आत्मा नरुओस् । गितका बोलले महिला दिदिबहिनीका पीडा बोलुन् । समस्त हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तिज–२०८२ को पुनः शुभकामना ।।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->