पोखरा/ पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा भई आएका मुक्तिराम अर्याललाई महानगर कार्यालयले सोमबार स्वागत गरेको छ ।
अर्याललाई महानगर प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रवक्ता मोतीलाल तिम्सिना, कांग्रेस दलका नेता दिवसमान प्रधानाङ्ग र एमाले दलका नेता राधिकाकुमारी शाही योगी सहित महाशाखा प्रमुख, शाखा प्रमुख तथा कर्मचारीहरूले स्वागत गरे ।
प्रमुख प्रशासकीय अधिकृत अर्याल यसअघि लोकसेवा आयोगको कार्यालय जलेश्वरमा कार्यरत थिए । निजामती सेवामा लामो अनुभव सँगालेका अर्यालले पर्यटकीय राजधानी पोखराको सेवा प्रवाह, विकास निर्माण र सुशासन प्रवर्द्धनमा प्रतिबद्धताका साथ लाग्ने बताए । महानगरपालिकावासीहरूको सेवालाई चुस्त र प्रभावकारी बनाउन पारदर्शी समन्वयमा जोड दिए ।
नगर प्रमुख आचार्यले प्रमुख प्रशासकीय अधिकृत अर्याललाई स्वागत गर्दै पोखराको विकास प्रक्रियालाई गतिवान् बनाउँदै नागरिकहरूको सेवालाई पारदर्शी र जबाफदेही बनाउने सन्दर्भमा कर्मचारी संयन्त्र परिचालनको प्रभावकारीतामा जोड दिए । उपप्रमुख गुरुङले समन्वय र सहकार्यलाई अघि बढाउँदै समृद्ध पोखरा निर्माणका लागि योगदान गर्ने दिशामा हातेमालो गर्न आग्रह गरिन । उनले यसअघिको सेवा अनुभव र पर्यटकीय राजधानी पोखराको सौन्दर्ययताले थप सेवामा सर्मपीत हुने ऊर्जा प्राप्त हुने विश्वास गरिन ।





