बागलुङ/नेपाल सरकारले हालै ल्याउन लागेको संघीय शिक्षा ऐन निजी विद्यालय बन्द गर्ने नियतले आएको भन्दै प्याब्सन र एनप्याब्सनले विरोध गरेका छन् । उनीहरुले निजी क्षेत्रले हरेक समाजलाई गरेको योगदानप्रति राज्य अनुदार भएको पनि बताए ।
प्याब्सन बागलुङ र एनप्याब्सन बागलुङले आयोजना गरेको जिल्लाव्यापी बृहत अन्तरक्रिया कार्यक्रममा सहभागीले निजी क्षेत्रले गरेको योगदानलाई सम्मान नगरेमा नागरिकले समेत थप सास्ती खेप्नुपर्ने बताएका हुन् । तत्काल उक्त मस्यौदा संशोधन गरेर मात्र शिक्षा ऐन ल्याउनुपर्ने उनीहरुको माग छ ।
विद्यमान शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को सम्बन्धमा जिल्लाका संस्थागत विद्यालयका संघसंगठन र सरोकारवावा निकाय, राजनीतिक दल तथा स्थानीय तहबीच वृहत अन्तरक्रिया भन्दै उनीहरुले संस्थागत विद्यालयको सम्मान गर्न पनि माग गरेका छन् ।
प्याब्सन, एनप्याब्सन, हिसान, अपेन र एनएमएको संयुक्त आयोजनामा भएको कार्यक्रममा उनीहरुले देशको शैक्षिक विकासका लागि संस्थागत विद्यालयले गरेको योगदान अतुलनीय भएको दाबी समेत गरे । उनीहरुले संघीय शिक्षा ऐनमा संस्थागत विद्यालय बन्द गर्ने अवस्था अन्त्य गर्न राजनीतिक दल र समाजका अगुवाले भूमिका खेल्नुपर्ने बताएका छन् ।

उक्त कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनले राज्यले निजी क्षेत्रलाई हतोत्साही बनाउनुभन्दा प्रोत्साहित गर्न आवश्यक रहेको बताए । शेरचनले निजी विद्यालयले शैक्षिक गुणस्तर बृद्धिका साथै रोजगारी सिर्जना गर्दै महत्वपूर्ण योगदान पु¥याएकाले शिक्षा ऐनमा उनीहरुको माग सम्बोधन हुनुपर्ने बताए । संस्थागत विद्यालयले पनि आफुलाई सुधार्दै अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिदै शेरचनले सामुदायिक र निजी विद्यालयको दुरी कम गर्नुपर्ने बताए । राज्यले नियमित अनुगमन, नियमन गर्नुपर्ने आबस्यकता समेत उनले औल्याए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, नेकपा एमालेका उपसचिव धनबहादुर परियार, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजिव घिमिरे, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य थानेश्वर सुवेदी, शिक्षा विकास तथा समन्वय इकाईका अधिकृत नविन खड्का र राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रिय सदस्य रामबहादुर केसीले आफ्नो धारणा राखेका थिए ।
अवधारणा पत्र प्रस्तुत गदै एनप्याव्सनका जिल्ला अध्यक्ष एवम् केन्द्रिय सदस्य नेत्रलाल न्यौपानेले गैरनाफामुलक बनाउँदै लगिने भन्ने प्रावधान, पूर्ण छात्रबृद्धि लगाएतका विषयलाई सच्चाउन आवश्यक रहेको बताए । कार्यक्रम हिसान धौलागिरिका अध्यक्ष बालकृष्ण शर्माको अध्यक्षता, प्याव्सन बागलुङका अध्यक्ष दल थापाको स्वागत र प्याव्सनका जिल्ला सचिव श्याम प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।





