बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

फेसबुकबाट समाजसेवा : एमआरआरको यात्रा

फेसबुकबाट समाजसेवा : एमआरआरको यात्रा

फेसबुकमार्फत सुरु भएको सानो जमघट एमआरआर सामाजिक आन्दोलनमा रूपान्तरण भएको र आजको पुस्ताका लागि प्रेरणादायी बनेको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०८२, बिहिबार

पोखरा/पोखरा अनलाइन प्लेटफर्महरू आज केवल मनोरञ्जन वा सूचना आदान–प्रदानको माध्यम मात्र बनेको छैन । समाज परिवर्तन र सेवाभावको ठुलो स्रोत पनि बन्न सक्ने प्रमाणित गरिदिएको छ, एमआरआर अर्थात् ‘मेन्सरुम रिलोडेड’ नामक फेसबुक समूहले । बुधवारसम्म नेपालभर ५३ हजार ४ सय सदस्य आवद्ध भइसकेको यो समूहले सुरुवाती दिन सन् २०११ देखि नै सामाजिक चेतना, मानवीय सहयोग र संस्कारमूलक कार्यलाई निरन्तरता दिँदै आएको छ ।

आजको पुस्ता सामान्यतया सामाजिक सञ्जालमा रमाइलो, सेल्फी वा दैनिक गतिविधि पोस्ट गर्न व्यस्त देखिए पनि, एमआरआरले त्यसलाई सकारात्मक रुपमा प्रयोग गर्दै आएको छ । यो समूहले गरिब, असहाय, विपन्नलाई आर्थिकलगायत सहयोग गर्दै आएको छ । स्वास्थ्य शिविर, रक्तदान, सडक बालबालिकालाई भोज, ट्राफिक सचेतना, लागुऔषध विरुद्ध सचेतना कार्यक्रम गर्दै आएको छ । हालै पोखरामा भजन किर्तनको गतिविधि गर्दै आएको समुहले महत्वपूर्ण कुरा त युवालाई सक्रिय सामाजिक अभियन्ता बनाउन प्रेरणा दिँदै आएको छ ।

एमआरआरको सुरुवात केही युवाहरूबीचको अनलाइन छलफल र मनोरञ्जनका पोस्टहरूबाट भएको हो । समयसँगै समूहमा मानिसहरूको सहभागिता बढ्दै गयो । विभिन्न समस्या, पीडा र समाधानका उपायहरू पनि पोस्ट हुन थाले । यसरी सुरुवात भएको समूह विस्तारै ठूलो परिवारकै रुपमा परिणत हुन पुग्यो । जहाँ व्यक्तिगत गुनासो, सामाजिक समस्या र सकारात्मक विचार एकसाथ मिसिन थाले । समुह कुनै आधिकारिक दर्ता छैन । स्वतस्फुर्त रुपमा नै समु्हका सदस्यहरु जुटेर सामाजिक गतिविधि हुदै आएका छन् । समुहमा १८ वर्ष पुगेका नेपाली पुरुषमात्रै सदस्य छन् । तर गतिविधिमा भने जो पनि सहभागी हुन पाउँछ । ‘कुनै राजनीतिक कुरा हुदैन, विशुद्ध रुपमा युवालाई सामाजिक क्षेत्रमा सहभागी गराउने, सामाजिक सद्भावना, उत्तरदायी बनाउने, धर्म संस्कृतिको जगेर्ना र युवालाई कुलतबाट जोगाउने अभियान हो’, समुहका सक्रिय सदस्य उत्तम बराल भन्छन् ।

आफ्ना साथीहरुको सामूहिक एकता र ब्यापकता मात्र नभई एक फेसबुक पोष्टको भरमा नै आपत परेका ब्यक्ति वा अनजान ब्यक्ति समेतलाई सहयोग गर्दै आएको यस समूहमा लाग्नेहरु सवैको उदेश्य नै समाजमा रहेको सकारात्मकतालाई अगाडी ल्याउने रहेको पाईन्छ । एमआरआरले गर्ने उल्लेखनीय काम रक्तदान अभियान हो । समूहमा रहेका सदस्यहरूले फेसबुक पोस्टमार्फत फलानो बिरामीलाई रगत चाहियो भन्ने सूचना पाउनेबित्तिकै सहयोग गर्न दौडिहाल्छन् । निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यस्ता शिविरहरूले स्वास्थ्य सचेतना र उपचार दुवै उपलब्ध गराउँछन् ।

समूहले समाजका विपन्न वर्गलाई आर्थिक सहयोग पनि निरन्तर दिँदै आएको छ । दुर्घटनामा परेका व्यक्तिको उपचार खर्च जुटाइदिने, प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई राहत पु¥याउने काम एमआरआरका सदस्यहरूले गरेका छन् । ‘हामीले कसैसंग आर्थिक सहयोग माग्दैनौ । समुहका सदस्यबाटै खर्च उठाउने गरेका छौ’ अर्का सक्रिय सदस्य जुपीटर पौडेलले भने, ‘हाम्रा गतिविधि नेपालभरी नै हुदै आएका छन ।्’ सामाजिक सञ्जाललाई केवल मनोरञ्जनको रुपमा मात्र नभई एउटा सकरात्मक कामको स्रोत बनाउन सकिन्छ भन्ने सन्देश दिएको उनले बताए ।

एमआरआरले ट्राफिक सचेतना कार्यक्रम समेत सञ्चालन गरी सडकमा हुने लापरबाही, सवारी दुर्घटना र ट्राफिक नियम उल्लघंन कम गर्न सचेतना फैलाउँदै आएको छ । युवामाझ फैलिँदो लागुऔषधको दुरुपयोग विरुद्ध पनि सचेतना फैलाउँदै आएको पनि छ । एमआरआरले २८ महिना अघिदेखि आफ्नो सामाजिक अभियानलाई धार्मिक–सांस्कृतिक गतिविधिसँग पनि जोडेको छ । पोखरामा गरिएको भजन–कीर्तन कार्यक्रम त्यसकै उदाहरण हो । सामाजिक सद्भाव, मानसिक शान्ति र सांस्कृतिक मूल्यमान्यता कायम राख्न भजन–कीर्तन महत्त्वपूर्ण हुने भएकाले समुहले यो अभियान थालेको हो । पोखराबाट सुरु अभियान अहिले काठमाडौं, चितवन, बुटवल, बिराटनगर र विदेशमा समेत हुन थालेको छ । एमआरआरको यो अभियानले युवालाई आध्यात्मिक अभ्यासतर्फ पनि आकर्षित गर्न थालेको छ । प्रत्येक शनिवार साँझ साढे ५ बजेदेखि ७ बजेसम्म मठमन्दिर, बालगृह र वृद्धाश्रममा भजन किर्तन हुदै आएको छ । ‘संस्कृतिलाई जोगाउन र आत्मिक शान्ति प्राप्त गर्न भजनकीर्तन गरिरहेका छौँ । यसले हाम्रो समूहलाई अझ नजिक बनाएको छ’ बरालले भने, ‘हामी हरेक सदस्यलाई परिवारकै सदस्य ठान्छौँ । सबैले मिलेर मात्र राम्रो काम गर्न सकिन्छ भन्ने विश्वास हाम्रो समूहको आधार हो ।’

फेसबुकमार्फत सुरु भएको सानो जमघट सामाजिक आन्दोलनमा रूपान्तरण भएको र आजको पुस्ताका लागि प्रेरणादायी बनेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->