माधव चापागाईं
आफ्नै लगानीमा आफूले चाहेको र अनुकूलताको काममा आफूलाई संलग्न गराई आयआर्जन गर्नु नै स्वरोजगारी हो । आफूलाई जुन काममा राम्रो अनुभव र रुचि छ त्यही कार्यमा आफूलाई समाहित गरेर जीविकोपार्जन गर्नुलाई स्वरोजगारी भनिन्छ । कसैको निगरानी, नियन्त्रण र लगानीमा काम गर्नु रोजगारी हो । रोजगारीमा निश्चित समय, सेवासुविधा र कामको प्रकृति तोकिन्छ । परन्तु रोजगारीमा नाफा–नोक्सानको दायित्व वहन गरिदैँन भने स्वरोजगारीमा आफ्नो काम आफैं गरिन्छ । सेवासुविधा र कामको समयावधी छुट्ट्याउनु पर्दैन । नाफा नोक्सानमा पूर्ण स्वामित्व आफैंमा निर्भर हुन्छ ।
आफ्नै जन्मठाउँमा थोरै लगानी गरी आफ्नो श्रम, सीप र क्षमताको सदुपयोग गर्नु उदाहरणीय मानिन्छ । जसबाट आर्थिक रूपमा सफलता प्राप्त हुन्छ । मानिसले बिना आयआर्जन परिवारका आवश्यकता पूरा गर्न सक्दैन । उसले काम गर्ने उमेरमा काम पाएन वा आम्दानी भएन भने ऊ परनिर्भर बन्छ । यस्तो अवस्था कोहि कसैले सहन सक्दैन । तसर्थ मानिसले कामको खोजी गर्दछ । आफ्नो सीप, क्षमता र योग्यता अनुरुपको काम नपाएमा विद्रोही बन्छ । त्यसैले मानिस आफ्नो औकात, सीप, योग्यता र क्षमता अनुसारकै काम गर्न तयार हुन्छन् । हाम्रो जीवनका लागि गाँस, बास र कपास प्राथमिक आवश्यकता हुन् । यी आवश्यकता पूरा गर्नका लागि पनि रोजगार वा स्वरोजगार बन्नुपर्छ । कामले मानिसको जीवनलाई सहज, सन्तुष्ट र खुसी दिन्छ । जुन व्यक्तिले निरन्तर मिहिनेत गर्छ ऊ सधैं सन्तुष्ट हुन्छ ।
रोजगारीका सिलसिलामा विदेश पुग्ने तमाम नेपालीहरूले रुचि र क्षमता अनुरुपका कामको अभावमा धेरै दुःख पाएका हुन्छन् । विदेशको नाम सुन्ने बित्तिकै गगनचुम्बी सपना देख्ने नेपालीहरूले जुन सपना देखेर त्यहाँ पुग्छन् त्यो सपना पूरा हुन अधिक कठिनाइ हुन्छ । अनेकौ हण्डरठक्करका बिच विदेशी भूमिमा रगत र पसिना बगाउनुभन्दा त आफ्नै देशमा पसिना बगाउनु उत्तम हुन्छ भन्ने भनाइहरु पनि यत्रतत्र सुनिन्छन् । तसर्थ आफ्नै जन्मभुमीमा स्वरोजगार बन्न सके चौतर्फी फाइदा र सन्तुष्टि मिल्छ । स्वरोजगारीबाट नै मुलुकको विकासमा टेवा पुग्छ ।
नेपालको हकमा स्वरोजगारीका क्षेत्रहरू फराकिला बन्दै गएका छन् । वर्तमान परिवेशमा फलफुल, तरकारी र पुष्प खेतीदेखि लिएर कुखुरा, गाई, बाख्रा, मौरी र माछापालन लगातका कामहरूलाई प्राथमिकतामा राख्नु पर्छ । व्यक्तिको आत्मविश्वास र लगनशीलताले स्वरोजगारीमा ठूलो महत्व राख्छ । जो लगनशील, परिश्रमी र मेहनती छ । उसले आफ्नो व्यापार व्यवसायलाई कुशलतापूर्वक सञ्चालन गर्न सक्छ । नेपाली बजारमा कृषि, पर्यटन उद्योग लगायतका क्षेत्रमा लगाएको लगानीले दीर्घकालीन फाइदा पुर्याउँदै आएका छन् । गाउँले परिवेशमा कृषिका अतिरिक्त डोका, नाम्ला, गुन्द्री, कुचा, दुना टपरी, ज्योति, बाल खेलौना र घरायसी सारसज्जाका सामग्रीहरू निर्माण गरेर घरमै बसीबसी आम्दानी गर्न सकिन्छ । घडी, रेडियो, टिभी, मोबाइल, कम्प्युटर जस्ता इलेक्ट्रोनिक वस्तु, गाडी, साइकल, मोटरसाइकल लगायतका सामग्री मर्मतसम्बन्धी तालिम लिएर पनि स्वरोजगार बन्न सकिन्छ । त्यस्तै सिकर्मी, डकर्मी, वाइरिङ, प्लम्बिङ, विभिन्न काठ, बाँस र निगालोबाट बन्ने सामग्रीका साथमा कुर्सी, दराज, सोफा, स्वकेश, पलङ, झ्यालढोका लगायतका अत्यावश्यक वस्तु निर्माण तथा रङरोगनबाट पनि आत्मनिर्भर बन्न सकिन्छ ।
स्वरोजगारीका लागि भूगोल र पर्यावरण अनुकूलको व्यवसायमूलक शिक्षाको आवश्यकता पर्दछ । जसका कारण देशमा रोजगारीका थप अवसरहरू प्राप्त हुन्छन् । देशका विभिन्न स्थानका भौगोलिक अवस्थिति र मौसमी प्रणाली फरक फरक हुन्छन् । जुन स्थानमा जुन खेती प्रणाली अनुकूल हावा, पानी र जमिन छ त्यही ठाउँमा त्यही माटो सुहाउँदो खेती प्रणाली गरेर प्रशस्त उत्पादन लिन सकिन्छ । कफी, चिया, स्याउ, सुन्तला, अलैंची, टिमुर, अमृसो खेतीको सम्भावना भएका ठाउँमा बसिबास गर्ने मानिसहरूलाई ती वस्तु उत्पादन र प्रशोधन सम्बन्धी तालिम दिनुपर्छ । विद्यालय तहमा रहेका बालबालिकालाई स्थानीय उत्पादन र प्रविधिसँग नजिक राख्न त्यही अनुरुपको शिक्षा दिनुपर्छ । जसका कारण उनीहरू स्थानीय खेती प्रणालीलाई नजिकबाट बुझुन, जानुन र आत्मनिर्भर बनुन् । किसानलाई जडीबुटी पहिचान र प्रशोधन सम्बन्धी व्यवसायिक ज्ञान र सीपको अभिवृद्धि गराउनु पनि उत्तिकै वान्छनीय हुन्छ । पर्यटकीय क्षेत्रमा पर्यटन प्रवर्धन सम्बन्धी ज्ञान दिइनुपर्छ । फलफुल, अन्नबाली, तरकारी उत्पादनसँग सम्बन्धित क्षेत्रहरूको उचित पहिचान गरी कृषकमैत्री तालिम, सिप अनुकूलको व्यवसाय प्रवद्र्धन र प्राविधिक शिक्षा दिन सकेमा स्वरोजगारीका अवसरहरू थप उपलब्ध हुनेमा विश्वस्त बन्न सकिन्छ ।
स्वरोजगारीका काममा लाग्दा सम्भावित कामहरूमा जुन काम गर्दा सफल हुन सकिन्छ जस्तो लाग्छ, त्यही काममा जोडिनुपर्छ । आफ्नो दृढ इच्छाशक्ति र निरन्तरको मिहिनेतबाट आर्थिक लाभ लिन सकिन्छ । इमानदारिता पूर्वक व्यापार व्यवसायमा लाग्ने मानिस कहिल्यै विफल हुँदैन । ‘सही सम्बन्ध रही व्यापार’ भनेझैँ दीर्घकालीन सोच राखेर गरिएका कामहरुमा असफल हुनु पर्दैन नै ।
नेपालको हकमा धार्मिक, प्राकृतिक र साँस्कृतिक महत्वका क्षेत्रको प्रवर्धन र प्रचारप्रसार गर्न सकेमा यस्ता स्थानहरूमा बसोबास गर्ने मानिसहरू लाभान्वित हुन सक्छन् । पर्यटकमैत्री व्यापार व्यवसाय गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई मनपर्ने स्थानीय उत्पादनमा जोड दिने, अर्गानिक वस्तुहरुको उपभोगमा पर्यटकलाई आकर्षित गर्ने, पर्यटकको मार्ग प्रदर्शक बन्ने जस्ता कार्यबाट पनि हामी स्वरोजगार बन्न सकिन्छ ।
संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको पहिलो प्राथमिकता जनतालाई आत्मनिर्भर बनाउनु हो । देशलाई समृद्धिको मार्गमा डो¥याउन जनतालाई सिर्जनात्मक कार्यमा जोड्नु आवश्यक हुन्छ । जबसम्म देशमा विकास हुँदैन तबसम्म रोजगारी सिर्जना हुँदैनन् । देशमा जत्ती वस्तु उत्पादन र पुर्वाधार निर्माणका कामले तिव्रता पाउँछन् । त्यत्ति नै रोजगारी सिर्जना हुन्छन् । तसर्थ तिनै तहका सरकारहरूले विकासका कामलाई प्रोत्साहन गर्नुपर्छ ।
स्वरोजगारीमा कृषिलाई आधुनिकिकरण गर्दै उत्पादनलाई बढाउन जरुरी हुन्छ । नेपालको सन्दर्भमा सबैभन्दा धेरै स्वरोजगारीको क्षेत्र कृषि हो । तर यहि क्षेत्रमा व्यावहारिक शिक्षा नहुदाँ समस्या बढ्दो छ । त्यसैले कृषि सम्बन्धि व्यावहारिक शिक्षा अपरिहार्य छ । जसले कृषि पढेका छन् उनीहरुलाई कृषिको काममा लाग्न प्रेरित गर्नुपर्छ । कृषिमा नगदेबाली लगायत मौसमी, बेमौसमी तरकारी उत्पादन र प्रवद्र्धन गर्न सके कोहि पनि मानिस बेरोजगार बन्नु पर्दैन । नेपालमा कृषि, उद्योग, व्यापार, सेवा, प्रविधि आदि क्षेत्रमा धेरै रोजगारी सिर्जना हुन्छन् । हामीले शिक्षा र सिकाइ रोजगार अनुकूल बनाउनुपर्छ । बेरोजगार जनशक्तिलाई रोजगारीमा समेटेर आत्मनिर्भर बनाउनु राज्यको कर्तव्य हुन्छ । नेपालको संविधानले हरेक नेपाली नागरिकलाई रोजगारीको हकको सुनिश्चितता प्रदान गरेको छ । हरेक व्यक्तिले कुनै न कुनै किसिमको व्यापार व्यवसाय गरे भने उनीहरुको आम्दानी बढ्छ । जस्ले सरकारलाई सहयोग पुग्छ । जनता बेरोजगार भए सरकारको बोझ बढ्छ । त्यसैले सरकारको काम हरदम नागरिकलाई रोजगार वा स्वरोजगार बनाउन प्रयत्न गर्नु हो । नेपालमा राज्य संयन्त्रबाट कुनै रोजगारी प्रदान भएन भनेर राज्यको विपक्षमा जनमत ल्याउने, हुलदङ्गा गर्ने, सरकारले गरेका राम्रा कामलाई परोक्षमा धकेलेर नराम्रा भ्रामक प्रचार गर्ने विसंगत समाजको विकास भइरहेको छ । परन्तु सरकारले रोजगारीको उचित मापदण्ड निर्माण गरी उपयुक्त वातावरण तयार गर्ने हो । सरकार आफैंले सबैलाई रोजगारी दिने प्रावधान कुनै पनि देशमा हुँदैन । तसर्थ हामीहरुले आफ्नै लगानीमा स्वरोजगार बन्ने उद्देश्य लिनुपर्दछ । नेपाल सरकारले युवा लक्षित स्वरोजगार कोषको स्थापना गरी स्वरोजगार बन्न चाहने युवा वर्गलाई सहुलियतमा ऋण प्रदान गर्दै आएको छ । सर्वसाधारणलाई उनीहरूले चाहेको काम गर्न, आयआर्जन अभिवृद्धि गर्न र जीविकोपार्जनलाई सहज बनाउनु सरकारको उद्देश्य हुन्छ । स्वरोजगारीमा लाग्दा अरुलाई पनि रोजगारी दिन सकिन्छ । आफ्नो परिवारसँग बसेर दुःख सुखमा समसाथ प्राप्त हुने, परिवारको रेखदेख, वृद्ध बाबुआमाको हेरचाह, छोराछोरीको लालनपालन, पढाइ लगायत उनीहरूलाई उचित मार्गदर्शन दिन पाइने हुनाले छोराछोरी कुलतमा लाग्ने डर हुँदैन । मुख्य कुरा त लाखौं ऋण लिएर परिवारबाट टाढा पुग्नु पर्दैन । विदेशी भूमिमा गएर अर्काको अधीनमा बाँच्नुभन्दा आफ्नै देशमा स्वतन्त्रताको जीवन पाइने भएकाले स्वरोजगारीमुलक कार्यहरू उपयुक्त हुन्छन् । स्वरोजगारीमा व्यक्तिको साहस, लगनशीलता, आत्मविश्वास र निरन्तरको परिश्रमबाट सफलता पाउन सकिन्छ । आफूले निक्र्योल गरेको क्षेत्रमा आवश्यक जानकारी र तालिम लिएर काम गर्न सके असफलताको नाममा पछुताउनु पर्दैन । तसर्थ श्रमिक पनि आफैं मालिक पनि आफैँ बन्न पाइने स्वरोजगारीमा सबैलाई जोडौँ र आत्मनिर्भर बनौँ ।
हिजो स्वदेशमा केही हुँदैन भनेर विदेशिएका कयौं नेपालीहरु स्वदेशमा आएर काम गरिरहेका छन् । त कतिले स्वदेशमै जागिर छोडेर स्वरोजगार बनेका दृष्टान्तहरु हाम्रा सामु छन् । अर्गानिक तरकारी र फलफुल उत्पादन कृषिजन्य वस्तुको प्रवर्धन माछामासु, अण्डाको उत्पादन र बजारीकरणले देशलाई आत्मनिर्भर बनाउँछ । हाम्रा दैनिक उपभोग्य वस्तुहरूको आयातमा दिनहुँ लाखौं करोडौं रकम विदेशिएको छ । देशभित्र बसोबास गर्ने सबै मानिसहरु एउटा न एउटा काममा जोडिएर स्वरोजगार बन्न सके विदेशिएको रकमले हाम्रो जीवनस्तर माथि उठ्न सक्थ्यो । युवाहरू विदेशमा अधिक पारिश्रमिक पाइन्छ भनेर पलायन भइरहेका छन् । स्वदेशमा दैनिक २÷३ घण्टा काम गर्न गाह्रो साह्रो पर्ने मानिसले विदेशमा गरिएको १८ घण्टाको पारिश्रमिकसङ्ग तुलना गर्दै छन् । यदि नेपालमा कोहि व्यक्तिले १८ घण्टा काम गर्छ भने उसले मासिक लाखौं रकम कमाउँन सक्छ । आफ्नो देश, परिवार र छोराछोरीसङ्ग समसाथमा रहेर काममा खटिन सके कोहि मानिस बेरोजगार बन्दैन । परन्तु नेपाली समाज विकृत बन्दो छ । स्वदेशमा काम नगर्ने, प्रदेशको तलबमा लोभिने प्रवृत्तिले देश रित्तो बन्दैछ । देशले यहि गतिमा पलायनताको मार्ग समाउने हो भने समग्र देश छोटो समयमै पुर्ण पराधिन बन्नुपर्छ ।
नागरिकले आफ्ना आधारभूत आवश्यकता छाना, माना र नाना पूरा गरेर जब नयाँ–नयाँ व्यवसाय, उद्योग र सेवा क्षेत्रमा लगानी गर्छन् । तब मात्रै थप रोजगारीका अवसर सिर्जना हुन्छन् । सरकारले जिम्मा लिनुपर्ने स्वास्थ्य, शिक्षा जस्ता आधारभूत सेवामा नागरिकले नै ठूलो लगानी गरेका छन् । त्यसैले स्वरोजगार अनुकुलको शिक्षा प्रणालीको विकास, उत्पादनमुखी अर्थव्यवस्था, बजारको सुरक्षा एवं उपभोक्तामा न्याय, सेवामूलक व्यवसायको संरक्षण र उत्पादनमा देखिएका समस्या कम गर्दै लागत व्यवस्थापनमा सहजीकरण गरि कृषकलाई प्रोत्साहित गर्ने, व्यवसायमा लागेका स्वरोजगार व्यक्ति, परिवार र संस्थालाई दीर्घकालीन सोच अभिवृद्धिका लागि पुनर्बल प्रदान गर्ने, त्यसैगरी दक्ष, अर्धदक्ष र अदक्ष जनशक्तिलाई उनीहरुको रुचि अनुसार सीप सिकाउने, पेशा व्यवसायमा जोखिम वहनका लागि उचित निकास खोज्ने, साना पेशा, व्यवसायमा धेरैभन्दा धेरै मानिसलाई स्वरोजगारीमा जोड्ने अभियानमा सबै तहका सरकार र सामाजिक अगुवा र विद्वान वर्ग लाग्नुपर्छ । तब मात्रै देशमा समृद्धिको यात्रा सुरु हुन्छ ।
यसरी सबै नेपाली एक भएर स्वरोजगारीका कार्यमा जुट्नु आवश्यक छ । ‘हातमा काम र मुखमा राम’ भए कोही कसैले दुःख पाउँदैन भन्ने धार्मिक मान्यता अनुसार प्रत्येक नेपालीहरुले एउटा न एउटा काममा आफूलाई समर्पित गरेर आफू र आफ्नो परिवारलाई आर्थिक रुपमा सबल बनाउनुपर्छ । शैक्षिक जनशक्तिले आफूमा भएको ज्ञान, सीप, क्षमता र ऊर्जा आफ्नै देशको माटोमा खन्याउनुपर्छ । ससाना व्यवसाय गर्ने व्यवसायीले सफल व्यवसायी एवं उद्योगपति बन्ने अठोट लिनुपर्छ । देश विकासमा युवा वर्गको भूमिका महत्वपूर्ण हुन्छ । तसर्थ दृढ अठोट र सङ्कल्पका साथ युवाहरूले मिहिनेत गर्नुपर्छ । युवा शक्तिको जोस जाँगर र श्रमले नै देशले आत्मनिर्भर हुने बाटो भेटाउँछ । हामी आत्मनिर्भर बन्नु नै राष्ट्रको उन्नति हुनु हो । त्यसैले सबै नेपालीहरु स्वरोजगार बनेर आत्मनिर्भर नेपाल र नेपालीको परिचय स्थापित गरौं ।





