आज भन्दा ६५/६७ वर्ष अगाडी पोखराको मुल बजारभन्दा पश्चिमको थुम्को ग्यारजाती मेथलाङ वा सराङकोटबाट पोखरा उपत्यका निहाल्दा पूर्वपट्टिको सम्पूर्ण समथर भूभाग सर्लक्कै हरियाली देख्थ्यौँ । बीच–बीचमा डाँडाकाँडा, भद्रकाली थुम्को, जय थुम्कोबाहेक सम्पूर्ण भूभाग बेगनास तालसम्मै, बरसाम्मी, भरतपोखरीसम्मै लहलह धान देख्दा मन नै प्रफुल्लित हुन्थ्यो ।
त्यसपछि विजयपुर खोला तर्नुपर्ने अवस्थाले अर्घाै सिसुवा फाँटका उब्जनी पोखरा बजार ल्याउन त्यति सजिलो थिएन । बाल्यकालमा देखिएको त्यो हरियाली फाँटबारे जान्न खोज्दा हाम्रा अग्रजहरूले भन्नु हुन्थ्यो, ‘कुँडहर, बाँझापाटन, काहुँफाट, छिनेडाँडा ढुङ्गेसाँघु, विरुवाका फाँट अनि विजयपुर खोला पारिका अर्घाै, सिसुवा, रिठ्ठेपानी, पट्नेरी, खुदी, बेगनास, मोहरिया, गगनगौंडा, रूपा र सातमुहानेका फाँटहरुमा फल्ने धानले कास्कीका नागरिकलाई पर्याप्त थियो र बढी हुने धान र चामल अन्यत्र बजारमा पठाइने गरिन्थ्यो ।’ यसबाट हामी अनुमान गर्न सक्छौं पोखरा उपत्यकाका यी फाँट अत्यन्तै मलिलो र उब्जाउ भूमि थिए अनि यहाँका बासिन्दा निकै मिहिनेती र कर्मशील थिए ।
उसै पनि पोखरा र पश्चिम भेगबाट नेपालको राजधानी काठमाडौं हिँडेर जानु पर्दा कुँडार विजयपुर कन्दनीडाँडा अर्घाै, सिसुवा, सातमुहाने भएर नै जानु पथ्र्यो । त्यसैले यी सबै बस्तीहरु निकै चलनचल्तीको थिए भन्ने लख काट्न सकिन्छ । विसं १८०९ मा त्यसयताका का राजा सिद्धिनारायण शाहले पोखरा उपत्यकालाई व्यापारको केन्द्रसहितको सहर बनाउन काठमाडौं उपत्यकाबाट व्यापारी, प्राविधिकहरु (सिकर्मी–डकर्मी) ल्याएर २६ कुरिया जग्गामा बसोबास गराइसकेपछिको इतिहास पोखरा हो ।
राजा सिद्धिनारायण शाहको कास्की राज्य सैनिक दृष्टिकोणले शक्तिशाली थियो नै, यी राजा दूरदर्शी पनि थिए । त्यसैले गोरखाका राजा पृथ्वीनारायण शाहले कास्कीलाई जितेर आफ्नो मातहतमा ल्याउन तीन पटक आक्रमण गरेका थिए । तर, जीत हासिल गर्न सकेनन् । पृथ्वीनारायण शाहका सेनालाई भण्डारढिक क्षेत्रमा रोकेर कास्कीलाई अपराजित राज्य कायम राख्न सफल भएको इतिहासकारहहरुले उल्लेख गरेका छन् । इतिहासमा अंकित यही भण्डारढिक, हरियाली फाँटले सुसज्जित खुदी, सिसुवा, अर्घाै, मोहरिया चिटिक्क परेको रूपा र बेगनाससहितको सात तालले सुसज्जित अनि कविशिरोमणि जन्मेको अर्चले सबै समेटेर झन्डै २४/२५ वर्ष अगाडी लेखनाथ नगरपालिकाको पहिचान बनाएको हो । यो भन्दा २८/३० वर्ष अगाडी काठमाडौं र पोखरा सडकबाट जोडन निर्माण भएको पृथ्वीराजमार्गले यस क्षेत्र सुन्दर र समृद्धिको भविष्य कोरिसकेको थियो । त्यसमाथि शिक्षाको क्षेत्रमा अब्बल सावित भएको यो क्षेत्र, हुनेखाने वर्गले भरिपूर्ण यो क्षेत्र २०७२ सालको संविधान निर्माण भएपश्चात् कता रुमल्लियो भन्ने थाहा नै हुन सकेन ।
आफ्नो पहिचान कायम राखेको लेखनाथ–नगरपालिका २०७२ पछिको पुनःसंरचनामा पोखरा महानगरपालिकामा समाहित गर्न किन तत्परता देखायो वा लेखनाथ नगरपालिकाको रूपमा निरन्तरता दिन किन प्रतिरोध गर्न सकेन ? आफ्नो पहिचान गुम्दा पीडा महसुस किन गर्न सकेन ? त्यस क्षेत्रका राजनीतिकर्मी, शिक्षासेवीहरु, समाजसेवी,व्यवसायीहरु र आम नागरिकले लघुताभाषसमेत गर्न नसक्नु अचम्मको विषय बनेको थियो । समग्र लेखनाथ नगरपालिकालाई ७ वटा वडाहरुमा सीमित गर्दा प्रतिरोधको आवाज निस्कन नसक्नु आश्चर्यलाग्दो थियो । पोखरा विश्वविद्यालयजस्तो शैक्षिक संस्था स्थापना भइसकेको ठाउँका बासिन्दाहरु विकास र समृद्धि खोज्न अन्यन्त्र भौँतारिनु भनेको कस्तुरीले आफूसँग भएको विना खोज्न भौँतारिएजस्तै हो ।
समय चक्रसँगै उहिलेको अर्घौं वा साहमुहाने वा खुँदीको स्वरूपमा उल्लेखनीय परिवर्तन भएको छ । समथर फाँटहरुमा थुप्रै क्रंक्रिटको घरहरु बनेका छन् । स–साना थुम्की डाँडाहरु काटिएका छन् ठाउँठाउँमा सडकहरु बिस्तार भइरहेका छन् । बस्ती विकास तीव्र छ बसाइँसराइ पनि बढ्दो छ । त्यसताका देखिने चिटिक्क परेका माटाका घरहरु, खर र स्लेटले छाएका छानाका घरहरु यदाकदा देख्न पाइन्छ । बेगनास ताल वरिपरी खान–बस्न र रमाइलो गर्ने ठाउँहरु विकसित भएका छन् । रूपातालको आकार बढाउने कामसँगै किनाराहरू सुसज्जित गर्ने र होटल रेस्टुराँ, चमेना घरहरु खोल्ने कामले तीव्रता पाएको छ । उहिलेजस्तो खेती किसानी गर्नेले मकै, कोदो, धान, परालहरू बोकेर ल्याउनु पर्ने अवस्थाको अन्त्य भएको छ । पृथ्वीराजमार्ग झन्डै यो क्षेत्रको बीच भागबाट भएको हुनाले नयाँ सहर निर्माणमा तीव्रता आएको थियो । तर, लामेआहालमा बन्ने भनिएको ठुलै बसअड्डा निर्माण सुरु हुन सकेको छैन । अब त बस टर्मिनललाई छुट्याएको जग्गा अतिक्रमण हुने हो कि भन्ने आशंका बढ्न थालेको छ ।
ख्याल गरौँ–लेखनाथ क्षेत्र कास्कीकै अब्बल क्षेत्र भएको हुनाले कास्कीमा संचालन भएका धेरै योजनाहरुमा सबैभन्दा पहिले यही क्षेत्रमा संचालित भएको इतिहास साक्षी छ । कास्कीको प्रजातान्त्रिक आन्दोलनको हावा नै त्यस क्षेत्रबाट सुरु भएर पोखरा आइपुगेको भन्ने कुरामा कुनै संशय छैन । कस्केलीको शैक्षिक जागरण र चेतनाको विकासमा यस क्षेत्रको योगदान प्रशस्त छ नै । त्यसैले अहिले पनि कास्कीको राजनीतिक मियो धान्ने काम यहीँका बासिन्दाहरुले गरेको पाइन्छ । स्वतन्त्रता र चेतनाको आन्दोलनमा यस भेगका बासिन्दाहरुको सक्रियताको कारणले अहिले पनि राजनैतिक नेतृत्व लिने पंक्तिमा यसै क्षेत्रका नागरिकहरु अग्रपंक्तिमा रहेको पाइन्छ ।
संघीय सरकार गठन हुने बेलामा कास्कीको प्रतिनिधित्व गर्ने अवस्थामा यही क्षेत्रका सांसदहरु नै मन्त्री बनेको र संख्या ४ पुगिसकेको छ । सरकारी निकायका विभिन्न पदहरूमा पनि यो क्षेत्रका मान्छेहरु प्रशस्तै छन् । तर, समग्रमा अहिलेको परिस्थितिलाई नियाल्दा लेखनाथ क्षेत्रको हिजोको ओजपूर्ण अवस्था आज पाइँदैन । हिजोको जाँगर, उत्साह जोशपूर्ण अवस्था आज देख्न पाइँदैन । संघसंस्थाहरुको सक्रियता बढन नसक्नु बरु कमजोर देखिनु, नेतृत्व दिने राजनीतिक, सामाजिक, व्यावसायिक व्यक्तिहरु,अनायास नै कम सक्रिय देखिनु, नागरिक समाजका अगुवा बुद्धिजीविबीच बौद्धिक बहस र छलफल नहुनु दुर्भाग्यपूर्ण रहेको छ ।
विकास र समृद्धिका खाकाहरू तयार गर्नुपर्ने बेला भइसक्यो । पूर्वाधारहरूले सुसज्जित यस क्षेत्रमा बृहत आर्थिक गतिविधिका सम्भावना हुँदाहुँदै पनि ध्यान नपुगेकोबारेमा सोच्ने र अरुले गरिदेला भन्ने मनस्थितिलाई त्याग्ने बेला भएन र ? हिच्किचाहट त्यागौँ र भरपुर जागेर उत्साह देखाऔं । विगततर्फ हेरौं !
– कास्कीको सबैभन्दा पहिलो र पुरानो विजयपुर सिँचाइ आयोजनाले अहिले पनि बाँकी रहेको समथर भूभागलाई हरियाली बनाएकै छ । कृषी कर्ममा लाग्न चाहनेहरुका लागि यो ७० वर्ष पुरानो सरकारी सिँचाइ आयोजना वरदान नै सावित भएको छ ।
फेवातालको पानीलाइ बिरौटा ढुङ्गेसाँघु, फाँटमा त्यसपछिमात्र पु¥याइएको हो । सार्दीखोला सिँचाइ आयोजनाले पुरन्चौर र लामाचौर फाँट हरियाली बनायो काँहुखोलाको सिँचाइले कुँडहर, बाँझापाटन, छिनेडाँडा फाँटहरु हरियाली बन्यो अनि सेती जल उपयोग आयोजनाले पोखरा सहरको भित्री भूभाग फूलवारी, प्रस्याङ, मालेपाटन क्षेत्रलाई निकै मद्दत ग¥यो । त्यसैले सिँचाइ क्षेत्रमा लेखनाथ पहिलो प्राथमिकतामा परेको थियो नै ।
– कास्कीमा व्यवस्थित बसोवास योजनाको सुरुवात भण्डारढिक क्षेत्रबाट संचालन भएको हो । त्यही ढुंगेपाटन क्षेत्रमा बसोबास गरिएको अहिले पृथ्वी राजमार्गले ठ्याक्कै बीच भाग भएर जाँदा यो क्षेत्रको महत्व निकै बढेको महसुस गरिएको छ ।
– कोत्रेखोला पहिलेदेखि नै डरलाग्दो बाटोको रुपमा लिने गरिन्थ्यो । धेरै मानिसहरुको ज्यान जोखिममा परेको सबैलाई थाहा भएकै कुरा हो । त्यही कोत्रेखोलाको वारि र पारी सालको जंगलको रूपमा परिचित थियो । कोत्रे जंगल घर बनाउन वा फर्निचरहरू बनाउन मुख्य श्रोत थियो नै, पोखरामा स्थापना भएको हिमालय उडवक्र्स उद्योगको लागि काठ आपूर्ति गर्ने थलो थियो । यसलाई अहिले पनि हावापानीको दृष्टिकोणले बहुमूल्य काठ उत्पादन गर्ने जंगलको रूपमा विकसित गर्न सकिन्छ ।
– बेगनास र रूपातालको अवस्थिति र पानीको गुणस्तरको कारणले फेवातालभन्दा उन्नत र स्वादिला माछाहरू उत्पादन गर्ने थलो हुनसक्छ भनेर २ वटा महत्वपूर्ण आयोजना संचालन गरिएको थियो । बेगनास जलाधार संरक्षण कार्यक्रममार्फत् दुवै तालको संरक्षणको लागि भू–स्वखलनबाट जोगाउनका लागि बृहत कार्यक्रम संचालन गरिएको थियो । अर्कोतर्फ जापान सरकारको सहयोगमा माछासम्बन्धी अनुसन्धान, माछाका भुराहरु उत्पादन अनि स्वादिलो रैथाने माछाहरू व्यापकरूपमा उत्पादन गर्न योजना संचालन भएको थियो । सुरुमा नेपाल सरकारले फेवातालमा संचालित मत्स्य विकास कार्यक्रम बेगनास मै समाहित भएको हो । अझै पनि यो क्षेत्र माछा उत्पादनको लागि महत्वपूर्ण थलो बन्न सक्छ । त्यसरी नै रूपाताल एकीकृत जल परियोजना सन्चालन भइरहेको छ । यसले यस भेगको सुन्दरतासँगै जलक्रीडा सम्भावनाहरु बढाएको छ । सिँचाइ सुविधा विस्तार हुनेछ । पर्यटकिय विकासका लागि थप मदतगार हुनेछ । जे भए पनि, बेगनास, रूपालगायत सातै तालहरूको संरक्षण, अतिक्रमण हुनबाट जोगाउने, प्रदूषण हुनबाट जोगाउने, आकर्षक मनोरञ्जन स्थलहरु बनाउने र ती तालहरूको व्यावसायिक उपयोग आमजनताको आम्दानी बढाउने काममा यसै क्षेत्रका बासिन्दाहरु भरपुर लाग्नुपर्ने अवस्था छ ।
– फिनल्याण्ड सरकारले नेपालको पहिलो ग्रामीण विद्युतीकरण गर्ने कार्यक्रम यसै क्षेत्रबाट सुरू भएको कुरा बिर्सनु हुँदैन । फिनल्याण्ड सरकारले आफ्नै मुलुकमा उत्पादन भएका लामो र मोटो काठका खम्बाहरुमार्फत् नाङ्गे तार नदेखिन बेरिएको सुरक्षित विद्युतीय तारहरु मार्फत् आधुनिक आफ्नै देशको बिजुली मिटरसहित सम्पूर्ण लेखनाथ क्षेत्रमा विद्युतीकरण सम्पन्न गरेको थियो । भण्डारढिकको हालको रंगशालामा कार्यालय र गोदाम राखेर संचालित कार्यक्रम अत्यन्तै लोभलाग्दो थियो । पहिलोपटक फ्याक्स (फ्याक्स मेसिन) मार्फत् फिनल्याण्डबाट नेपालमा र नेपालबाट फिनल्याण्डका कागजहरू पठाउन सकिने व्यवस्था त्यहीँ देख्दा हामीले अचम्म मानेका थियौं ।
– आजभन्दा ६०/६२ वर्ष अगाडी पचभैया डाँडामा योग अभ्यास गराउने गरिन्थ्यो र अहिले पनि विपश्यनाको र योग शिविरहरू संचालनमा रहेको पाइन्छ ।
– हाल नेपाली सेनाको पृतना रहेको ठाउँ अत्यन्तै उब्जाउ भूमि थियो । सेनाको ब्यारेक राख्ने निर्णय झन्डै ५०/५५ अगाडी गरिएको बेला त्यस भेगका पुर्खाहरू, जग्गाधनीहरूले ठेलो प्रतिरोध गरेका थिय । ब्यारेक यस्तो उब्जाउ भूमिमा नराखी उब्जाउ नहुने जग्गामा राख्नुपर्ने कुरा राख्दै विरोध गर्दा त्यस भेगका युवाहरुलाई पक्राउ गरिएको थियो । त्यसताका यसलाई सरकार विरोधी राजनीतिक कार्य भनिएको थियो । यस भेगका राजनीतिक व्यक्तिहरुलाई कहिले टेलिफोन तार चोरेको, कहिले विद्यार्थीलाई व्यवस्थाविरुद्ध उक्साएको, सिँचाइमा अवरोध गरेको जस्तो झुटा र बेमतलबको मुद्दा लगाएर दुःख दिने काम गरिएको थियो ।
– नेपालको पर्यटन प्रवद्र्धन खासगरी पोखरा र वरिपरीका रमाइला ठाउँहरुलाई चिनाउँदै पदयात्रामार्फत् पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । चराचुरुङ्गीहरूमार्फत् पर्यटकहरूलाई गाउँघरमा रात बिताउने गरी राख्न सकिन्छ भन्ने अवधारणालाई बेलायती पूर्वसैनिक कर्नेल रोवर्टले बेगनास क्षेत्र सुन्दरी डाँडा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर सुरु गरेका थिए । उनले बेगनास क्षेत्रसम्मको भूभागमा अत्यन्तै धेरै प्रजातिहरुका चराचुरुंगी अवलोकन गर्न पाइन्छ भन्ने तथ्यवोध गराए । पर्यटकहरूलाई सुविधाको लागि घोडामार्फत् भ्रमण गराउने काम गरे । हाल टाइगर माउन्टेन टप रिसोर्ट भएको ठाउँमा पालहरू गाडेर रात बिताउने सुविधा प्रदान गरे । परेवालाई सञ्चारमाध्यमको रुपमा पोखरा सँग सम्पर्क गर्ने काम गरे । त्यसबेला टेलिफोन सुविधा थिएन । यो झन्डै ५५/५७ वर्ष अगाडी को कुरा हो । बेलायतका हालका राजा चाल्र्स युवराजको रूपमा पोखरा भ्रमण गर्दा पदयात्रा गर्ने जिम्मा कर्नेल रोवर्टको माउन्टेन ट्राभल्सले प्राप्त गर्दा उनले पदयात्राको लागि कन्दनीडाँडाबाट बेगनास क्षेत्रसम्मको पदमार्ग रोजेका थिए । यो पदयात्रा मार्गपछि निकै विश्व पर्यटन चित्रमा पोखरा सुन्दरीडाँडा बेगनास क्षेत्रलाई चिनाउने श्रेय कर्नेल रोवर्टलाई जान्छ । समग्र यो क्षेत्र पर्यटनका लागि लगानीयोग्य क्षेत्रको रुपमा विकसित हुने सम्भावनाहरु छन् नै !
आजभन्दा ठिक ४० वर्ष अगाडी पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा विश्वविद्यालय स्थापना गर्ने अभियानअन्तर्गत धेरै ठाउँहरूको निरीक्षण/अवलोकनपश्चात त्यसबेलाका लब्ध–प्रतिष्ठित व्यक्तिहरुबाट ढुंगेपाटनको खाली बाँझो रहेको २७०० रोपनी जग्गा उपलब्ध गराउन पु¥याएको सहयोग प्रशंसनीय छ ।
अन्य ठाउँको तुलनामा यो क्षेत्रमा उपयुक्त हुने कुराका साथ अभियान अभियान चलाएपछि पोखरा विश्वविद्यालय हाल केन्द्रीय परिसर रहेको खुँदीसहित अन्यन्त्र पनि शैक्षिक केन्द्रहरु खोलिने गरी स्वीकृत भएको थियो र विश्वविद्यालय संचालनमा आएको हो । हाल के कति जग्गाको उपयोग भइरहेको छ भन्नेबारेमा पूर्णतः जानकारी नभएको ले यसै भन्न सकिएन तर सुरुमा शैक्षिक र चेतनासँगै स्वतन्त्रताको आन्दोलनमा समर्पित लेखनाथ क्षेत्रले शिक्षा क्षेत्रमा फड्को मार्ने विश्वास लिन सकिन्छ । उसै पनि गण्डकी विश्वविद्यालयका भवनहरु निर्माण भएका छन् । प्राविधिक विद्यालय संचालनमा आएको छ र यस भेगका जनताहरुले शैक्षिक केन्द्र बनाउन स्वामित्व लिने, हस्तक्षेपकारी भूमिका निर्वाह गर्न जरुरी छ । यी शैक्षिक केन्द्रहरुको अहिले कै अवस्थामा रहनु पर्याप्त छैन । यो बढी गुणस्तरीय, अव्वल केन्द्रहरु बनाउन लेखनाथ क्षेत्रका सचेत नागरिकहरुले अपनत्व कसरी ग्रहण गम्भिरतापूर्वक लिन जरुरी छ ।
सामाजिक, राजनीतिक, शैक्षिक, कृषिजस्ता सवैखाले जागरणमा अब्बल देखिएको लेखनाथले अब आर्थिक जागरणलाई मुल मुद्दाको रुपमा अगाडी बढाउने बेला हो । अन्यत्रबाट बसाइँ सरेर आएको ठूलो जमातको बस्तीलाई व्यवस्थित, योजनाबद्ध र चिटिक्क मिलेको बनाउन हाल कायम रहेको सातवटा वडाले ध्यान दिन सकेमा पोखराजस्तो अथवा अव्यवस्थित वस्ती र सहर लेखनाथ क्षेत्रमा देख्न नपर्ला भन्ने आशा गर्न सकिन्छ ।
यी सात वडाभित्र रहेका प्रचुर सम्भावनाहरुलाई अधिकतम् उपयोग गरी समग्र लेखनाथ क्षेत्रको स्तर माथि उठाउन बसोबास गरेका खासगरी रैथाने समूहले गम्भीर चासोका साथ सामुहिक आवाज उठाउने, अभियान चलाउने र दवाब सिर्जना गर्नुपर्दछ । लेखनाथको भविष्य तय गर्ने पहिलो जिम्मेवारी लेखनाथवासी कै हो,दूरदृष्टि र गम्भीर सोच राख्नुपर्ने जिम्मेवारी पनि लेखनाथवासीकै हो त्यसपछि मात्र अन्यले सघाउँछन् ।
तुलनात्मक रूपमा लेखनाथ क्षेत्रको भू–स्थिति अत्यन्तै लाभदायक आकर्षक र आर्थिक सम्भावनायुक्त रहेको छ । पोखराजस्तो अव्यवस्थित हुन पाएको छैन, व्यवसाय व्यापक बनाउन अझै ठाउँ पर्याप्त छन् । त्यसैले आकर्षक र व्यवस्थित योजनाबद्ध सहर बनाउन सकिने सम्भावना कायमै छ । कोत्रेबाट विजयपुर पुलसम्म ६ लेनको गुणस्तरीय सडक निर्माण भएको छ । लामेआहालबाट मैदान–पशुपतिघाट हुँदै विरौटा पुग्ने बाटोको स्तरोन्नतिसँगै सिद्धार्थ राजमार्ग पुग्ने बाइपास सडकले अर्को अवसर प्रदान गर्नेछ । रूपा गाउपालिका हुँदै सिसाघाट पुग्ने सडकबाट पृथ्वी राजमार्गको दमौली पुग्ने अर्को वैकल्पिक सडक र यसका संजालले थप सघाउ पुग्ने अनि भैँसे हुँदै भोर्लेटार, करापुटार–मध्यनेपाल र सुन्दरबजार नगरपालिका हुँदै बेँसीसहर अनि मनाङ जोडिने अर्को सडक संजाल तथा राइनास–पालुङटार हुँदै मध्यपहाडी राजमार्गसँग जोडिने संजाल, मोदी कोरिडोर सिक्लेस–दमौली जोडिने थप सडकसँगै मध्यपहाडी राजमार्गको कास्की खण्डबाट कोरोला जोडने अर्को राजमार्गसँग जोडिने अवसर लेखनाथले पाएको छ । यस्तै पुँडीटार, ढोर, चित्रे भञ्ज्याङबाट वालिङ, केलादीघाट, रामपुर नवलपुर गैंडाकोट पुग्न अर्को सहजताले लेखनाथ क्षेत्रलाई सडक संजालले व्यापक बनाउने छ ।
सडक संजाल नै समृद्धि र विकासको लागि प्रमुख र पहिलो आधार हुने भएकोले हामी त्यो सुदूर भविष्य आंकलन र आर्थिक गतिविधिलाई तीव्र अनि व्यापक बनाउने लक्ष्य निर्धारण गर्न सक्छौँ । गण्डकी प्रदेशमात्र त्यो प्रदेश हो–जसले उत्तरी सीमा कोरोला नाका र दक्षिणी सीमा त्रिवेणी नाकालाई जोड्छ । केही आवश्यक पूर्वाधार निर्माणपछि गण्डकी प्रदेशको राजधानी पोखरा त्रिदेशीय (नेपाल भारत र चीनको) अन्तर्राष्ट्रिय व्यापार केन्द्र को रूपमा उदय हुनेछ । अहिलेको विश्वमा विभिन्न विषयमा नीतिगत भिन्नता र फरक मत हुँदा पनि आर्थिक विषयमा सहमति हुन्छ÷भएकै छ । व्यापार–व्यवसाय संचालनमा अवरोध नभएको अवस्था छ । यस कारण पोखरा अन्तरदेशीय व्यापारिक केन्द्रको रूपमा स्थापित गर्न सुख्खा बन्दरगाह स्वरूप धेरै गोदाम, कन्टेनरहरु राख्न सकिने ठाउँ, व्यापार टर्मिनललगायत सरकारी कार्यालयसमेत स्थापना गर्ने उपयुक्त ठाउँ लेखनाथ क्षेत्र नै हुनेछ । यातयात संजालको कारण अन्तर्राष्ट्रिय विमानस्थल निकटताको कारण, समथर भूभागको उपलब्धता, राजमार्गको सहजीकरणको करणले एउटा व्यवस्थित व्यापारिक शहरको रूप धारण गर्न सक्ने क्षमता लेखनाथको छ ।
लेखनाथ क्षेत्रले फड्को मार्न सक्ने क्षेत्र पर्यटन गतिविधी पनि हो । स्थानीयवासीले यसलाई अर्को प्राथमिकता नदिएको पाइन्छ । भूगोल हेर्ने हो भने हालको पोखरा भन्दा रमणीय, हरियाली स्वच्छता र सुन्दरता छ । तापक्रम अलिकति उच्च हुने भए तापनि सात तालले प्रभावित पार्ने र वर्षा निरन्तर हुँदा प्रदूषण पनि कम पाइने गरेको छ । पोखराको पर्यटन विकासको आधार नै कर्नेल रोवर्टले यसै क्षेत्रबाट सूत्रपात गरेको हुनाले थप नयाँ गन्तव्यहरु बनाउन सकिने सम्भावना अझै धेरै छन् । प्राकृतिक त छँदै छ, कृत्रिम भौतिक निर्माण गर्न सकिने यथेष्ट सम्भावनाहरु छन् । हेल्मेट डाँडा र मजुवाको जंगल क्षेत्र समेटेर एम्युजमेन्ट पार्क निर्माणसम्बन्धी कुरा २० वर्ष अगाडी सुरु भएको थियो । बेगनास र रूपातालमा पानीसँग सम्बन्धित मनोरञ्जन, खेलकुद, जलविहार गर्ने योजना पनि नीति–नियम नभएको कारणले सुचारू गर्न नसकिएको अवस्था छ । तर, अब त्यतिकै राखेर अगाडी बढन सकिँदैन । स्थानीयवासीको हस्तक्षेपकारी भूमिका अपेक्षित छ ।
लेखनाथवासी र उद्यमीले अब रणनीतिक कार्य गर्न जरुरी छ । त्यो हो–प्रत्येक पर्यटकले लेखनाथ क्षेत्रमा घुमफिरपछि रात बिताओस् र पोखरा र अन्यत्र जाओस् । आजसम्म लेखनाथवासीले ७ तालको वर्णन मात्र गरिराखेका छन् तर वातावरणीय पक्षलाई ध्यानमा राख्दै उचित मापदण्डभित्र रहेर तालहरूको व्यावसायिक उपयोग नगर्ने हो भने हामीसँग ताल छ भनेरमात्र बस्नुको केही अर्थ छैन । सबैको लागि हेरी राखांै, घुमी राखौं, बसी राखौं भन्ने वातावरण र अवस्थाको सिर्जना गर्नको विकल्प छैन । अब लेखनाथवासी आफ्नो क्षेत्रमाथिबाट जहाजहरु अवतरण गर्न लागेको वा उड्न लागेकोमात्र हेरेर बस्ने अवस्था छैन । ठूलाठूला र महँगा सुविधायुक्त होटल वा मनोरञ्जन केन्द्र, क्यासिनो वा सिटी सेन्टर हेर्नलायकका साँस्कृतिक केन्द्र वा सम्मेलन, सभा केन्द्र बनाउन उपयुक्त क्षेत्र अब लेखनाथ नै हो भन्ने मानसिकताका साथ अगाडी बढ्नै पर्छ ।
लेखनाथ क्षेत्रका बासिन्दाहरू लेखनाथलाई एउटा उच्चतम शैक्षिक केन्द्र, अनुसन्धान र वैज्ञानिक कार्यक्रमहरु संचालन गर्न र मानव विकास र जनशक्ति तयार गर्ने आधार तयार भइसकेको सन्दर्भमा यहाँ अवस्थित २ वटा विश्वविद्यालय, थुप्रै उच्च विद्यालयलाई गुणस्तरीय शैक्षिक केन्द्रको रूपमा विकास गर्न जागरुक हुने बेला आएको छ । यो क्षेत्र प्राज्ञिक बहस गर्ने थलोको रूपमा बौद्धिक व्यक्तिहरु जमघट हुने थलोको रूपमा किन अगाडी नबढाउने भन्ने सोच र दृष्टिकोण अपरिहार्य भइसकेको छ । विश्वविद्यालयमा अहिले भलै राजनैतिक भागबन्डाको आधारमा नियुक्ति गर्ने, सिनेट गठन गर्ने काम अन्त्य गरी शैक्षिक उन्नयन र प्राज्ञिक कार्यलाई पहिलो प्राथमिकता दिने व्यक्तिहरुको समागम स्थल बनाउन दवाब दिन र आवश्यक परे हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्नु पर्दछ । तर, यो क्षेत्र शैक्षिक स्थलको रुपमा अगाडी बढ्ने प्रचुर सम्भावना जीवित छ ।
समग्रमा लेखनाथ क्षेत्रमा क्रियाशील राजनैतिक दल, उद्योग वाणिज्य संघलगायतका संघ÷संस्थाहरु नागरिक अगुवा सहितका नागरिक समाज, बौद्धिक र सामाजिक व्यक्तित्वहरु तथा अन्य सरोकारवालाहरू स–साना मतभेद अन्त्य गरी, तल्लो र उपल्लो भेगका कुरा नगरी एउटा सामूहिक संकल्प, दूरगामी उदेश्य सोच र लगावका साथ लेखनाथलाई अगाडी बढाउनुपर्छ भन्ने हुटहुटी लिएर क्रियाशिल र जागरुक हुने हो भने नतिजा प्राप्त गर्न धेरै समय लाग्ने छैन । लेखनाथ नगरपालिका हुँदाका क्षेत्र हाल ८ वटा वडाहरु केन्द्रीत छन् । सबै वडाहरूले सामूहिक रूपमा निम्न ४ वटा प्रमुख विषयलाई केन्द्रविन्दुमा राखेर यहाँका सबै सरोकारवाला दल, संघ–संस्थाहरुले सामूहिक रूपमा रणनीतिक योजना तर्जुमा गरी अगाडी बढन उचित देखिन्छ ।
– लेखनाथ क्षेत्रभित्र अन्तर्राष्ट्रिय रूपमै अन्तरदेशीय (चीन– भारत–नेपालबीच) व्यापारी केन्द्रको रूपमा विकास गर्ने गरी सरकारहरुसँग संवाद छलफल अघि बढाउने । यसले वृहत थोक व्यापार केन्द्र, आयात निर्यात केन्द्र । डाटा सेन्टर बनाउन सघाउ पु¥याउने छ ।
–रणनीतिकरुपमा सडक संजालले लेखनाथलाई एउटा आर्थिक केन्द्र बनाउने छ । त्यसैले उन्नत र व्यावसायिक कृषि उत्पादन साथै वनजंगलका उत्पादनलाई प्रशोधित रुपमा तयार गरी अन्यत्र निर्यात गर्न सके प्रशस्त अवसर सिर्जना हुनेछ ।
–पर्यटन भविष्यको आर्थिक आधार हो । लेखनाथ क्षेत्रको भू स्थितिलाई पर्यटकीय दृष्टिकोणले विकास गर्दै थुप्रै गन्तव्य स्थल निर्माण गर्न, छुट्टिका दिनहरुमा पर्याप्त घुमफिरसँगै लामो अवधिसम्म अनुसन्धान कार्म, लेखन कर्म, ध्यान कर्म गर्न यो क्षेत्रको भरपुर उपयोग हुने विश्वास र आधार पर्याप्त छन् ।
.–गुणस्तरीय जनशक्ति, सीप विकास, मानव विकासका लागि उच्चस्तरको उन्नयन केन्द्रहरु स्थापना भइ भरपर्दो शैक्षिक केन्द्रको रुपमा स्थापित हुने प्रचुर सम्भावना छ ।
उपरोक्त ४ क्षेत्रलाई केन्द्रविन्दुमा राखेर समग्र लेखनाथको समृद्धिबारे एउटा सुनिश्चित र भरपर्दो खाका तयार गर्न सकिन्छ जसले आमनागरिकको जीवनस्तरलाई उकास्न सहयोग पुग्नेछ । आम्दानी र आर्थिक गतिविधि बढ्ने छन् । उन्नत सहर अनि चहलपहल, आवतजावत बढने छ । यसमा सवै सरोकारवालाको ध्यान पुगोस् ।





