पोखरा/पाँचवर्षे पदावधि सकिएपछि बुधबार गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेल अवकाशमा गएका छन् । २०७७ भदौ १९ गते तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले पोखरेललाई नेपालको संविधानको धारा १९५ (१) अनुसार प्रदेशसभाको सचिव नियुक्त गरेका थिए ।
संविधानको यो धारामा प्रदेश सभामुखको सिफारिसमा प्रदेश प्रमुखले सचिव नियुक्त गर्ने व्यवस्था छ ।
प्रदेशको प्रमुख सचिव बराबरको सुविधा पाउने यो पदमा नियुक्त हुने पोखरेल पहिलो हुन । प्रदेशसभाले प्रदेशसभा सचिवालय ऐन, २०७७ बनाएपछि पोखरेल पहिलो सचिवमा नियुक्त भएका थिए । ऐनको दफा ९ अनुसार सचिवको पदावधि पाँच वर्षको हुने उल्लेख छ । ऐनको यही दफा अनुसार पोखरेल कार्यकाल सकाएर बिदा भएका हुन । उनलाई मंगलबार नै प्रदेश प्रमुख डिल्लीराज भट्टले अवकाश पत्र थमाएका थिए ।
प्रदेशसभा सचिवालयले भने बुधबार एक कार्यक्रम गरि उनको औपचारिक बिदाई गरेको हो । सचिवालयको सांगठिनक ढाँचा अनुसार प्रदेशसभा सचिवपछि कार्यव्यवस्था, कानुन तथा विधेयक महाशाखामा कानुनका एकजना उपसचिव रहन्छन भने प्रशासन महाशाखाको नेतृत्व नवौँ वा दशौँ तहका अधिकृतले गर्छन । प्रदेशसभामा अहिले कानून उपसचिवको पद रिक्त छ भने, प्रशासन शाखाका प्रमुख निलम्बनमा छन् ।
प्रदेशसभामा नवौँ तहका अधिकृत हरिबहादुर खपाङ्गीमाथि थाहा नगरपालिकाको तत्कालीन लेखा अधिकृत हुँदा अक्सिजन प्लान्ट खरिदमा भ्रष्टाचार गरेको आरोप लागेको छ । त्यसकारण उनी निलम्बनमा छन् । अख्तियारले गत असार २२ गते विशेष अदालतमा दायर गरेको मुद्धामा खपाङ्गीले अक्सिजन जेनेरेसन प्लान्ट खरिद गर्दा बदनियतपूर्वक स्विकृत स्पेसिफिकेसनमा उल्लेखित विशेषता भन्दा फरक रुप र आकार, तोकिएको शर्त तथा मापदण्ड विपरित झुट्टा कागजातहरु पेश गरि कम गुणस्तर र मूल्यको प्रविधी उपलब्ध गराउने बोलपत्रलाई उत्तीर्ण गराएको आरोप लागेको छ । अख्तियारले खपाङ्गीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, इन्जिनियर सन्तोष बोहरा र सहायक पाँचौँ सुदर्शन पहेली, प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रका बायोमेडिकल इन्जिनियर राजेश्वर कमली र शुभारम्भ सर्भिस ट्रेडर्स प्रालिका अध्यक्ष सोवित प्रसाईंविरुद्ध एक करोड १० लाख एक हजार १९९ रुपैयाँ बिगो कायमसहित मुद्द दायर गरेको थियो ।
प्रदेशसभा सचिवालयमा कार्यरत खपाङ्गी त्यसपछि निलम्बनमा परेका हुन ।् प्रशासन र कानून दुवैतर्फका पद रिक्त भएका कारण प्रदेशसभाको निमित्त सचिवको जिम्मेवारी लेखा अधिकृत पदमराज बरालले पाएका छन् । बुधबार मात्रै पदावधि सकिएपछि गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेल अवकाशमा गएका छन् । उनको बिदाइपछि स्वतः लेखा अधिकृत पदमराज बराल निमित्त सचिव भएका हुन् ।
प्रदेशसभाको पहिलो सचिव पोखरेललाई २०७७ भदौ १९ गते तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गरेका थिए । १९ गते नियुक्त भएतापनि पोखरेलले २२ गते पद तथा गोपनीयताको सपथ लिएका थिए । त्यसकारण, नियुक्त मिति वा सपथका आधारमा कार्यकाल तय हुने भन्ने द्विविधाकाबीच नियुक्ति मितिको आधारमा पोखरेलको पदावधि सकिएको हो । प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७७ को दफा ९ अनुसार सचिवको पदावधि पाँच वर्षको हुने उल्लेख गरिएको छ । एकपटक सचिव नियुक्त भएको व्यक्ति पुनः दोहोरिन पाउने व्यवस्था पनि यही दफामा छ । पहिलो सचिव नियुक्त भएतापनि पोखरेल उमेरले साथ नदिने भएपछि आफ्नो कार्यकाल लम्ब्याउन ऐन नै संशोधनको चलखेलमा सक्रिय रुपले लागेका थिए । ऐनको दफा ८ को (ज) मा सचिवको योग्यता ४५ वर्ष पूरा भइ ६० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था छ ।
दफा १० (ग) मा ६० वर्ष पूरा भएमा पदरिक्त हुने व्यवस्था छ । यही प्रावधानका कारण सचिव पोखरेल २०७९ चैतमा उमेरका कारण अनिवार्य अवकाशमा जाने थिए । तर,पोखरेलले मन्त्रीदेखि सभामुखसम्मलाई रिझाए । उनकै लागि ऐन संशोधन गरियो ।
प्रदेश सभा सचिवालय ऐन २०७७ को दफा १० मा सचिवको पद रिक्त हुने सम्बन्धी व्यवस्था छ । उपदफा ‘ग’ मा ‘निजको उमेर ६० वर्ष पूरा भएमा’ भनिएको छ । सोही दफा संशोधन गरी ‘६५ वर्ष पूरा भएमा’ बनाएपछि उनी लामो समय सचिव रहे ।





