काठमाडौं / नेकपा एमालेले पार्टीमा देखिएका यौनजन्य आचारण लगायतका विसंगतिहरूलाई विधान महाधविशेनको दस्तावेजमा समेटेको छ । पार्टी अनुशासन आयोगले ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीभित्र देखिएका यौनजन्य आचारण लगायतका विसंगतिहरूलाई विभिन्न बुँदामा प्रस्तुत गरेको छ ।
कुण्ठा र अतृप्त महत्वाकांक्षा, वैयक्तिक स्वार्थ, विचार र आचरण, सांगठिनक अराजकता, लाभ र अवसरको अनुचित आशक्ति, अपरादर्शी आर्थिक गतिविधि, गुटगत गतिविधि लगायतका शीर्षकमा विसंगतिहरू औंल्याइएको छ ।
केशव प्रसाद बडाल अध्यक्ष रहेको आयोगले प्रतिवेदनमा पार्टीका कतिपय नेताहरूको जीवनशैली बदलिएको र खर्चालु भएको समेत उल्लेख गरिएको छ । प्रतिवेदनमा कतिपय नेताहरूको व्यवहारमा देखिएको बडप्पन, रुखो वचन तथा आक्रमक गाली गलौजको शैलीलाई जनताले नरुचाएको पनि उल्लेख छ ।
‘पार्टीभित्र र जनसंगठनमा यौनजन्य आचरणहरू समेत देखिन थालेका छन् । जनस्तरबाट नै प्रश्न उठिसकेपछि समेत आचरणहरूलाई सच्याउनुको सट्टा सार्वजनिकरूपमा दम्भ प्रकट भैरहनु दुखस्द कुरा हो,’ आयोगका अध्यक्ष बडालको प्रतिवेदनमा भनिएको छ ।
पार्टीमा सांगठनिक अराजकता चुनौतीकै रुपमा अघि बढेको प्रतिवेदनमा भनिएको छ । ‘कतिपय नेताहरूबीच एकआपसमा परस्पर विश्वास नभएको अवस्था छ । कमिटीमा रहेकाहरूलाई कमिटीमा छु भन्ने अनुभूति नभएको समते देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘कतिपय जनप्रतिनिधिहरूले पार्टी कमिटीसँग समन्वय गर्ने चासो देखाएको पनि देखिँदैन । यो गम्भीर अवस्था हो ।’





