बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

‘अपांगमैत्री संरचना छैन, अन्य खेल्दा हाम्रा बच्चा हेरेर बस्न नपरोस्’

‘अपांगमैत्री संरचना छैन, अन्य खेल्दा हाम्रा बच्चा हेरेर बस्न नपरोस्’

अहिले अन्य बच्चाहरु विद्यालय वा अन्य स्थानमा खेलिरहँदा आफ्ना बच्चा टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता रहेको र यसको अन्त्य हुनुपर्नेमा उनीहरुको जोड थियो ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०८२, आइतबार

पोखरा/राज्यले अपांगमैत्री संरचना बनाउन नसक्दा अपांगता भएका व्यक्तिले निकै सास्ती खेप्दै आइरहेका छन् । सडक देखी सदनसम्मका संरचना बनाउदा अपांगमैत्री बनाउनमा जोड दिइएको छ । नेपाल दृष्टिविहीन कल्याण संघको पोखरामा भएको ३८ औं केन्द्रिय सभामा बोल्दै अपांगता भएका व्यक्तिहरुले उक्त कुरा उठाएका हुन् ।

राज्यले अपांगता भएका व्यक्तिका लागि आवश्यक बजेट समेत विनियोजन गर्न नसक्दा संरचना निर्माणमा समेत असर गरिरहेको उनीहरुको भनाइ छ । अहिले अन्य बच्चाहरु विद्यालय वा अन्य स्थानमा खेलिरहँदा आफ्ना बच्चा टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता रहेको र यसको अन्त्य हुनुपर्नेमा उनीहरुको जोड थियो ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपांगता भएका व्यक्तिहरुलाई सक्षम बनाउन जरुरी रहेको बताए । उनीहरुलाई रोजगारी प्रदान गरी सहज जीवनयापनका लागि सक्षम बनाउनु आजको मुख्य दायित्व रहेको सुनाउँदै अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिशाप नभई समतामूलक समाजको हिस्सेदार रहेको उल्लेख गरे ।

‘समाजमा अपांगता भएका व्यक्तिहरूप्रति गरिने व्यवहार अझै सम्मानजनक नभएको तीतो यथार्थ हामी सामु छ । मुलुकमा दशकौंदेखि व्याप्त रुढीवादी, अन्धविश्वास र भेदभावलगायतका कारण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले न्यूनतम मानवअधिकारको उपभोग गर्न पाइरहेका छैनन्’ उनले भने, ‘रोजगारीको व्यवस्थापन, सीप विकासका साथै अपाङ्गता भएका व्यक्तिको हित प्रवद्र्धन गर्न जरुरी रहेकोमा उहाँले जोड दिनुभयो । ‘अपाङ्गता मैत्री संरचना र सेवा अपरिहार्य आवश्यकता हो । अपाङ्गता भएकाहरुको समानुपातिक समावेशी सहभागिता अनिवार्य छ ।’ उहाँले भन्नुभयो ‘उनीहरूको सहजताका लागि आवश्यक ऐन, कानुन निर्माणमा राज्यसहित सबै क्षेत्र जिम्मेवार तथा जवाफदेही बन्नुपर्ने हुन्छ ।’

अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै नीति तथा योजना निर्माणमा उनीहरुको सार्थक सहभागिताको सुनिश्चितता गर्न आवश्यक रहेकोमा भट्टले जोड दिए ।

२०३८ सालमा नेपाल अन्धा कल्याण केन्द्र स्थापना भएकोमा नाम परिवर्तनसँगै २०४२ सालदेखि दृष्टिविहीन कल्याण संघ गैर नाफामुखी संस्थाका रुपमा अघि बढेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, नेपाल नेत्र हीन संघ, दृष्टिविहीन अभिभावक संघ नेपाल जस्ता एकै उद्देश्यका साथ स्थापित संस्थाहरू एक आपसमा सहकार्य गरी अघि बढ्न पनि प्रदेश प्रमुख भट्टले सुझाव दिए ।

नेपाल दृष्टिविहीन कल्याण संघका केन्द्रिय अध्यक्ष तीर्थराज वन्तले सामाजिक संघसंस्थामा राजनितिक हस्तक्षेपको विरोध गरे । उनले गैरनाफामुलक संस्थामा स्वार्थको राजनीति हाबी भइरहेको भन्दै तटस्थता को आवश्यकता रहेको रहेको उल्लेख गरे । उनले २०३८ सालमा नेपाल अन्धा कल्याण केन्द्र स्थापना भएकोमा नाम परिवर्तनसँगै २०४२ सालदेखि दृष्टिविहीन कल्याण संघ गैर नाफामुखी संस्थाका रुपमा अघि बढेको बताए ।

नेपाल दृष्टिविहीन कल्याण संघ कास्की शाखाका अध्यक्ष टेकमान प्रधानाङ्गले नेत्र परीक्षण, आँखा शल्यक्रिया, वृक्षारोपण, सरसफाई, छात्रवृत्ति तथा शैक्षिक सामाग्री प्रदान, ब्रेल लिपी तालिम, सदस्यहरुलाई लघुवित्त व्यावसायिक योजना सम्बन्धी क्षमता अभिवृद्धि एवं सीपमूलक तालिमको आयोजना, ब्रेल लिपी पाठ्यपुस्तक उत्पादन तथा वितरण, दृष्टिविहीन विद्यार्थीको प्रतिभा प्रस्फुटन, पुरस्कार स्थापना र वितरण लगायतका कार्यक्रमहरु संस्थाले गर्दै आएकोे जानकारी दिए ।

सभामा पोखरा उद्योग वाणिज्य संघका महासचिव एवं लाइन्स क्लब अफ लेक सिटीका अध्यक्ष सुदिप प्रधानाङ्गले दृष्टिविहिनहरुको व्यवसायिक प्रवद्र्धनमा प्राविधिक ज्ञान बारे सहकार्य गर्न सकिने बताए । मोतियाविन्दु सम्बन्धी स्वास्थ्य परीक्षणमा सहयोग गर्दै आएको जनाउदै भविष्यमा सामाजिक कार्यहरूलाई बढावा दिने उनको भनाई थियो ।

संघका केन्द्रिय महासचिव पवन घिमिरेले संस्थाको प्रगति विवरण संक्षिप्त रुपमा पेश गर्दै अबका संरचना अपांगमैत्री बनाउनुपर्ने बताए । ‘राज्यले अपांगता क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गर्न सकेको छैन् । सरकारी कार्यालय नै अपांगमैत्री छैनन्’ उनले भने, ‘हाम्रा बच्चाहरु अरु बच्चा खेलेको टुलुटुलु हेरेर बस्छन् अब त्यसको समेत अन्त्य होस् ।’

दृष्टिविहिनहरुका लागि सीपमुलक कार्यक्रम, शैक्षिक कार्यक्रम, पाठ्यपुस्तक लगायतको वर्तमान अवस्था बारे प्रकाश पारे । २०३० को दिगो बिकासका लक्ष्यलाई प्राप्त गर्न अपांगता समावेशी कानुनको निर्माण भए मात्र लक्ष्य पुरा हुने उनले बताए ।

सभामा राष्ट्रिय अपाङ्ग महासंघका प्रवक्ता रमेश पोखरेल, नेपाल नेत्रहिन संघका निर्देश अमृत राई, नेपाल दृष्टिविहीन कल्याण संघका केन्द्रिय उपाध्यक्ष चण्डेश्वरानन्द राज वैद्य, लगायतले दृष्टिविहिनहरुको सशक्त बिकासमा प्रविधिको स्तरलाई जोड दिन आवश्यक रहेको बताए ।

विभिन्न व्यक्ति सम्मानित
उक्त सभामा अपाङ्गताको क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत उत्कृष्ट शाखा पुरस्कारबाट नेपाल दृष्टिविहीन कल्याण संघ कास्की शाखा ५० हजार रुपैयाँ सहित सम्मानित भएको छ । त्यस्तै केशावती मास्के अपाङ्गता उत्कृष्ट सेवा पुरस्कारबाट नेपाल नेत्रहिन संघका निर्देश अमृत राई पुरस्कृत भए । उनलाई ३० हजार रुपैयाँ प्रदान गरियो ।

डा.लक्ष्मीनारायण प्रसाद प्रतिभा पुरस्कारबाट विद्यार्थी दिपेश उपाध्यय र सचिना सुवेदीलाई १५ हजार नगदसहित पुरस्कृत गरियो । रोटरी क्लब अफ काष्ठमण्डप पुरस्कारबाट हालै एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने १५ जना दृष्टि अपाङ्गता भएका विद्यार्थीलाई १०–१० हजारका दरले पुरस्कृत गरिएको थियो ।

त्यस्तै नेपाल दृष्टिविहीन कल्याण संघ कास्की शाखाको भवन निर्माणका लागि गा.वि.स का तर्फबाट जग्गा उपलब्ध गराउनुहुने तत्काल सराङकोट गा.वि.सका अध्यक्ष एवं संघका आजिवन सदस्य झपट बहादुर थापालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->