सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

सोह्र श्राद्ध : पितृहरुप्रति श्रद्धा गरौं

सोह्र श्राद्ध : पितृहरुप्रति श्रद्धा गरौं


  • माधव चापागाईं
  • भाद्र २२ २०८२, आइतबार

आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मका १६ दिनलाई पितृपक्ष अर्थात् सोह्र श्राद्ध भनिन्छ । श्राद्ध भन्नाले श्रद्धाद्वारा गरिने कर्म बुझिन्छ । ‘श्रद्धया क्रियते यत्र तच्च श्राद्धं परिकीर्तितम् ।’ अर्थात् पितृ तृप्तीको उद्देश्यले जो कार्य श्रद्धापुर्वक गरिन्छ, त्यसलाई श्राद्ध भनिन्छ । शास्त्रमा ‘श्राद्ध वा पितृयज्ञः स्यात् ।’ भनी श्राद्धलाई पितृ यज्ञको संज्ञा दिइएको छ । यसरी हेर्दा श्राद्ध भन्नाले पितृ तृप्तिका निम्ति देशकाल परिस्थिति अनुसार पितृले पाउन् भनेर गरिने तर्पण, अन्न (सिदादान) र पिण्डदान सहित ब्राह्मण भोजनादि कार्यलाई बुझ्न सकिन्छ । सामान्य बोलिचालीको भाषामा पितृहरूलाई सम्झिएर श्रद्धापूर्वक गरिने कर्मलाई श्राद्ध भनिन्छ ।

हिन्दू धर्मावलम्बीहरूले परापुर्वकालदेखि चलिआएका १६ संस्कारलाई विशेष महत्व दिदै आएको यथार्थ हामी सामु छ । हामीहरूले वेद, गुरु, गायत्री, गीता, गाई, गङ्गामा आस्था राख्ने ॐलाई मूल मन्त्र मान्ने अनि पूर्व जन्म र पुनर्जन्ममा विश्वास राख्छौं । इहलोक र परलोकको सुख सुविधा एवं दिनचर्यालाई महत्व दिन्छौं । हामीले दैनिक गरिने नित्यकर्मलाई देवकार्य र पितृ कार्यका रुपमा स्वीकार गरि सदाचारको मार्ग अबलम्बन गर्दछौं । हिन्दू धर्ममा नित्य, नैमित्तिक र काम्य गरी तीन प्रकारका कर्म छन् । नैमित्तिक कर्ममा श्राद्धको विषय पर्दछ । श्राद्ध विभिन्न छन् । वार्षिक रूपमा गरिने श्राद्धलाई तिथि श्राद्ध अर्थात् एकोदिष्ट श्राद्ध भनिन्छ । आश्विन कृष्णपक्षमा गरिने श्राद्धलाई पार्वण श्राद्ध भनिन्छ । त्यस्तै पितृ पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एकपार्पण श्राद्ध भनिन्छ । नेपालको उत्तरगया अर्थात् गोकर्णेश्वर महादेव स्थान, बराह क्षेत्र, बेत्रावती नदीको तट लगायतका तिर्थस्थलहरुमा गरिने श्राद्धलाई तीर्थ श्राद्ध भनिन्छ । ‘श्रद्धया दियते दानं इति श्राद्धम्’ अर्थात् जुन वस्तु श्रद्धाले दिइन्छ त्यो नै श्राद्ध हो । यसर्थ श्राद्धमा शुद्धाशुद्धिको विशेष ख्याल गरिन्छ । बाह्य जीवनमा देखाउनकै लागि गरिएका कर्महरूबाट पितृहरू कदापि खुसी हुन सक्दैनन् । शास्त्रमा ‘पितरो वाक्य मिक्षन्ति भाव मिक्षन्ति देवता’ अर्थात् पितृहरू वाक्यको इच्छा गर्दछन् । यदि वाक्य शुद्धी भएनन् भने श्राद्ध गरेको व्यर्थ हुन्छ । त्यसकारण मन्त्रहरू शुद्ध उच्चारण गर्न जानेको, शुद्ध, नैतिकवान ब्राह्मणलाई दान दिन सके पितृहरु प्रसन्न हुने भनाइहरु शास्त्रमा वर्णित छन् ।

शास्त्रअनुसार तिथी श्राद्धमा एक अहोरात्रपूर्व र सोह्र श्राद्धमा पूरा अवधिभर ब्रह्मचार्यको पालना गर्नु पर्छ । तामसी भोजन र संसर्ग निषेध हुन्छ । शास्त्रोक्त एवं लौकिक विधान अनुसार निषिद्ध मानिएका लसुन, प्याज, मुला, गाजरलगायतका वस्तुको प्रयोग गर्नु हुँदैन । यो समयमा मुण्डनादी कार्यपश्चात् एक छाक सात्विक भोजन गरी शुद्ध भएपछि टाढाको यात्रा, मांगलिक कर्म, खनजोत, नाचगान, खाटमा शयन गर्न र लाभमूलक कार्यमा समावेश हुन वर्जित हुन्छ ।

पितृयज्ञ गर्दा मन, वचन र शरीर शुद्ध भई श्रद्धापुर्वक गर्नु पर्छ । जहाँ श्रद्धा हुँदैन त्यहाँ श्राद्ध हुन सक्दैन । त्यो केवल औपचारिकता मात्र हुन्छ । श्राद्धमा पितृका निम्ति तर्पण, अन्न (सिदादान) र पिण्डलाई विशेष मानिन्छ । एकोदिष्ट श्राद्ध गर्दा मध्यान्न समय छुनुपर्छ भने पार्वण श्राद्ध गर्दा मध्यान्नको केही समय व्यतीत भएको हुनुपर्छ । हाम्रो समाजमा बिहान सबेरैबाट श्राद्ध सुरु गर्ने प्रचलन बढ्दो छ । मध्यान्न पूर्व नै २÷३ वटा श्राद्ध गर्ने गराउने प्रवृत्तिले गर्दा धार्मिक आस्था र विश्वासमा विघ्न पर्न गएको छ । यस्तो विसङ्गतिलाई बुझेर हामीले शास्त्रोक्त नियमको पालना गर्नुपर्छ । योग्य ब्राह्मण पूजन गर्नु, तिथि र पार्वण श्राद्ध घरमै गर्नु, एउटा ब्राह्मणले दिनमा एउटा मात्रै श्राद्ध गर्नु, यजमानको आवश्यकता र परिस्थिति अनुसार दुई ओटा श्राद्ध गराउनु परेमा पुनः शुद्ध भइ मध्यान्नकालको ख्याल गरि श्राद्ध गराउनु पर्छ । यसरी पितृ प्रसन्नताको लागि अस्थिरतालाई परित्याग गरेर शुद्ध आचरणसहित ब्राह्मण र यजमान पितृ कर्ममा जुट्नु पर्छ । अन्यथा पितृदोष लाग्छ ।

वर्तमान नेपाली समाजमा वैदिक संस्कार र संस्कृतिका नाममा तथाकथित कर्महरु गरिँदै आइएका छन् । जसमा पितृको श्राद्ध गर्ने व्यक्तिको असमजदारीपन, वर्षको एक दिन पनि पितृलाई खर्चिन नसक्ने सन्तानको विकास हुँदैछ । शुद्धाशुद्धीको ख्याल नगरी श्राद्ध गरिँदैछ । जुन कर्मबाट कुनै फल प्राप्ति हुँदैन । श्राद्धको दिन घरमा शान्तसँग बस्न नसक्नु, एक छाक खाने नाममा जुनसुकै बेला भोजन गर्नु, एकाबिहानै श्राद्ध गरेर अफिस, व्यापार व्यवसाय र रोजगारीमा जान हतार गर्नु जस्ता विकृति बढ्दा छन् । सम्झौं हाम्रा पिता पूर्खाले हामीलाई यो अवस्थामा ल्याउन कति संघर्ष गर्नुप¥यो । तर आज हामी उहाँहरुलाई एक दिन पनि सम्झन नसक्ने, श्रद्धापूर्वक सम्मान गर्न नसक्ने अवस्थामा छौं । के यसरी हामी सन्ततिहरुको बाबा आमाप्रतिको कर्तव्य पूरा हुन्छ ? यता ब्राह्मणहरूले दिनमै १०÷१२ वटासम्म श्राद्ध गर्ने, आफ्नो नैतिकता नै भुलेर दान दक्षिणाको बोलकबोल गर्ने, पात्रोमा निर्दिष्ट गरिएको समयावधि र तिथि निर्णयलाई नै पर धकेलेर श्राद्ध गराउनु जस्ता विकृति नेपाली समाजमा बढ्दा छन् । ब्राह्मणवादको चपेटामा नपरौं । तिथि निर्णय हेरौं । श्राद्धका नाममा ब्राह्मणका हतारोले अक्षता र जौतिल छर्किदैमा पितृहरु खुशी नहुन सक्छन् । हतारमा गरिएका कर्मले हाम्रो समय र सम्पत्ति दुवै नष्ट हुन्छ । यसर्थ हामीले गर्ने जुनसुकै धार्मिक कर्महरु गर्दा के कसरी गर्नुपर्छ भन्ने शास्त्रोक्त नियम पद्धति र आचरणको विषयमा बुझ्नु जरुरी हुन्छ । नीति नियमरहित कर्म गरेर कुनै फाइदा हुँदैन । त्यसैले योग्य आचरणद्वारा पितृ कार्यमा जुटौं ।

हिन्दु वैदिक सनातन धर्मअनुसार मानव जातिले जन्मोपर लिएर आएको पितृऋण र देवऋण तिर्नु पर्ने बताइएको छ । जस्का लागि पितृऋण चुक्ता गर्न बुवाआमा इहलोकमा रहुन्जेल सेवासुश्रुशा र आदरसत्कार गर्नु पर्छ भने परलोक गमन पश्चात् श्राद्धादी कर्म गरेर पितृ ऋणबाट मुक्ति हुनुपर्छ भन्ने मान्यता छ । मातापिता र गुरुलाई जीवित देवता समान मानेर आदर गर्नु पर्छ । सृष्टि क्रममा गर्भधारणदेखि जन्म र जन्म पश्चात् हाम्रो जीवनमा मातापिताको महत्त्वपुर्ण भुमिका रहन्छ । स्वभाविक रुपमै मातापिताप्रति सन्तान ऋणी हुन्छन् । सो ऋण चुक्ता गर्न पनि मातापिताका लागि हरेक वर्षको उनको पुण्य तिथिमा श्राद्ध गरेर पितृ प्रसन्नताको कामना गर्नु उपयुक्त हुन्छ । श्राद्ध गर्नाले पितृको कल्याण मात्र होइन । कुलपितृहरुको आशीर्वादबाट श्राद्ध कर्ता (सन्तान)को कल्याण हुन्छ । उनीहरुको कार्य सफलता, घर गृहस्थिमा सुख, शान्ति, समृद्धि र ऐश्वर्य प्राप्ति हुन्छ भन्ने भनाइ पुराणहरूमा उदृत छ । यसर्थ पनि प्राचीन कालदेखि देव कार्यलाई भन्दा पितृकार्यलाई विशेष महत्व दिदै आइएको पाइन्छ ।

प्रत्येक वर्ष मातापिताको मृत्यु तिथिमा श्राद्ध गरिन्छ भने पिताको तिथि अनुसार सोह्र श्राद्धमा पनि पितृहरुलाई विशेष सम्बोधन गरिन्छ । पितृकर्मको लागि कर्ता, यज्ञ सामग्री, स्थल, र मन्त्रोच्चारण शुद्ध हुन सक्यो भने पितृहरु आउँछन् पितृहरुलाई दिएको सबै उनीहरुले भोग गर्न पाउँछन् भन्ने विश्वास छ । यसर्थ हामीहरुले शुद्धतालाई विशेष ख्याल गर्नु पर्छ । मातापिता समान देवता अर्को हुन सक्दैनन् । जीवनमा कुल पितृको आशीर्वादलाई शिरोपण गर्न सक्यौं भने कुनै पनि व्यक्ति भोको र नाङ्गो रहनु पर्दैन भन्ने महान उक्तिहरु हाम्रा शास्त्रमा निर्देश गरिएको छ । यसर्थ पनि मातापिताको इच्छाबमोजिम सन्तानको कर्तव्यबोध गर्दै सत्कर्मतर्फ उन्मुख हुनु आवश्यक छ । त्यसैले इहलोकमा रहेका मातापिताको सम्मान र परलोकमा भएका मातापिताको योगदानलाई स्मरण गर्दै अघि बढ्नु जरुरी हुन्छ । यस वर्षको सोह्र श्राद्ध एवं पितृपक्ष भदौ २३ गतेदेखि असोज ५ गतेसम्म रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->