एक र अखण्ड हाम्रो देश नेपालमा रहेका ७ प्रदेश र ७५३ ओटा पालिकाहरुका आ–आफ्नै विकासका सम्भावना र परिकल्पनाहरु छन्, हुनुपर्छ र हुन जरुरी छ । यो संसारमा सायदै कोहि होला जो आफ्नो स्थानीयता र राष्ट्रितालाई माया गर्दैन वा आफ्नो मौलिकताबाट पर होस् । तर, पनि केहि अपवादहरु बाहेकको अवस्थामा आफु र आफ्नो चीर परिचित स्थानको विषयमा सरोकार हुनु पनि एक विशेष महत्व र आकाङ्क्षाको विषय हो । जसलाई देशभक्त वा यसको नजिकका शाखाहरुबाट अध्ययन गर्न सकिन्छ । त्यसरी गरिएको परिभाषाले देशभक्ति र राष्ट्र निर्माणको जग राख्दछ भने देशलाई आवश्यक नेतृत्व र जनशक्तिको पुर्ति र परिचालनमा सहयोग पुराउँदछ ।
खासमा हाम्रो देश एक सुन्दर देश हो, मात्र सुन्दरताको प्रयोग राम्ररी गर्न सके पनि यो देश धनी बन्ने वा आर्थिक फड्को मार्ने सम्भावना प्रवल हो र छ । अर्कातिर विद्युतको सम्भावना पनि त प्रवल हो तर हाम्रो सोच र राजनैतिक व्यवस्थाको कारण हाम्रो परिकल्पना र राष्ट्र निर्माणको सोच भने फरक छ, जसको असर आजको पुस्तामा व्याप्त रहेको छ । वास्तवमा ‘नेपाल माग्नेको हातमा सुनको कचौरा हो’ र बनाइएको छ । नेताहरु सुनको कचौरामा माग्नेहरु हुन भने हामी जनताहरु ति माग्नेहरुलाई भोटको भिक दिने अमुक दर्शकहरु हौं । जबसम्म हामीहरुले आफुसंग भएको सुनको कचौरा यसको अर्थ देशमा रहेका स्रोत र साधनहरुको महत्व बुझ्दैनौ र उपयोग गर्न जान्दैनौ वा त्यो प्रकारको राजनैतिक वातावरणको सिर्जना गर्न सक्दैनौ र अनि यो ‘ताक परे तिवारी तत्र गोतामे’को राजनैतिक खेललाई परिवर्तनकारी र समय सापेक्ष बनाउन सक्दैनौ तबसम्म हामी कस्तुरीको पारामा जंगलमा घुमिरहेका हुनेछौ । भनिन्छ– जसले आफ्नो नाइटोबाट निस्केको सुगन्ध आफै खोजेको हुन्छ तर भेट्दैन् भन्ने जनजिब्रो छ र वैज्ञानिक तथ्य पनि हो वा फेरी माग्नेको हातमा सुनको कचौराको कुरा वा पारा हुन्छ नेता, देश र विकासको भन्ने तथ्य पनि यहि कारण भनिएको हो र हुन्छ । त्यसकारण वर्तमान पुस्ताले बुझ्नु पर्ने मुल विषय भनेका तार्किकता र विवेकशीलताको प्रयोग हो, जसको परिक्षण आगामी राजनैतिक परिघटनाहरुले स्पष्ट पार्ने छन् ।
संक्षिप्त इतिहास हेर्दा वि.सं. २००७ सालको परिवर्तन पनि आयो र सबै मिलेर खाइयो । अहिले ७५ वर्ष पुरा भयो र पच्यो त्यसको गन्ध हरायो । तर, जगको ढुंगा भने अहिले पनि राजनैतिक पुरातत्व विभागमा रहेको छ । ३० वर्षे पञ्चायत पनि आयो ‘माछो माछो भ्यागुतो’ भयो अनि ‘मित गए तिरैतिर मैले खाए खिरैखिर’ भयो र गयो । सिमित मान्छेको हातमा राज्य सत्ताको चाबी रह्यो जसले समानता र स्वतन्त्रताको धरातललाई जनताको हातबाट चुकुल लगाइदियो । २०४७ पनि हावा र आँधीको रुपमा आयो तर सुर्य त सुर्य नै हो र थियो आफ्नो गुरुत्व फालेर कहाँ अस्तित्वमा रहन सक्थ्यो र आखिर सबै शक्ति २०५९ मा तान्यो । फेरी २०६२÷६३ को हावा पनि राम्रै चलेको हो । त्यो हावाको मूलविन्दु दक्षिणबाट आयो, ततायो र फेरी सेलाउने बेलामा बलेको आगोमा घ्यु थप्न खोज्दै छ । नेपालमा भुकम्प गयो दिल्लीमा इपिसेन्टर बन्यो तर नेपालको धरातलिय स्वरुप परिवर्तन भएन्, जुन परिवर्तनका लागि भुकम्प गएको हो त्यो प्रकारको सामाजिक रुपान्तरण ल्याउन दक्षिणको हावाले स्थिरतालाई उडाइ दियो भने मुखले ‘राम राम बगलीमा छुरा’को खेल चलिरह्यो । जसले प्रजातन्त्रलाई ‘प्रजातन्त्र’, प्रशासनलाई ‘पर शासन’ र अधिकारलाई ‘अब धिकार’ बनायो । अवस्था त्यही नै छ र रह्यो । किनभने वास्तवमा राजनैतिक जनसम्पर्कको अवस्था अलि फरक, यथार्थपरक र वास्तविक धरातलमा टेकेर लयाइएको परिवर्तन थिएन र हाम्रो मौलिकताबाट आएको परिवर्तन होइन भन्ने आज प्रष्ट छ । जसले गर्दा आजको सामाजिक परिवेश र राजनैतिक अस्थिरताको भोगी बनेको पूस्ता हो हाम्रो । जसमा अग्रगामी सोच र गहिरो अध्ययन गरी वास्तविक निचोडमा पुग्न जरुरी छ । र, त्यो प्रकारको राजनैतिक शक्तिको निर्माणको आवश्यकता छ ।
मानौ २०६२÷६३ एक अग्रगामी परिवर्तन हो तर फेरी हामीले किन स्थिरता गुमायौ त ? किन एकल वहुमत प्राप्त सरकारको निर्माण गर्न सकिरहेका छैनौ । यो देशको परिवर्तनमा हामी भित्रको सोच नै किन नकरात्मक बनिरहेको छ वा हाम्रै माटोमा जन्मेका हामी नै किन बाधक बनिरहेका छौ ? मानौँ हामी र हाम्रो राजनैतिक सिद्धान्त फरक हो । धर्म फरक हो, जाती फरक हो, भाषा फरक हो तर पनि हामीले मान्ने संविधान र हाम्रो नागरिकतामा रहेको पहिचान एउटै हो । तर हामी देश र राष्ट्र निर्माणमा किन फरक मत र विचारका पक्षधर छौं भन्ने मुल विषय हो । असल राष्ट्रनिर्माणका लागि असल जनमतको जरुरी हुन्छ । असल वा समयसापेक्ष जनमत जनताले नदिएका वा नेताले नपाएका पनि होइनन् । असल जनमतबाट निर्वाचितहरुले असल राष्ट्र निर्माणका लागि सुशासन, कानूनी राज्यको मान्यता र सिद्धान्तहरुको परिपालना गर्न जरुरी हुन्छ । तर, किन पालना गरेका छैनन् त । यदि संविधान नै मुल कानुनका रुपमा हो र हामी सबै संविधानको मुनि रहेका छौ भने र कानूनको परिपालना गर्छौ भने किन महिला, दलित, र जनजातीका समस्याहरु जस्ताको तस्तै छन् । सामाजिक विभेद किन कानुनमा मात्र सिमित छ त ? संविधान नै मिचेर किन मनपरि ढंगबाट देशको सत्ता हाँकीरहेका छौ त ? यी आम प्रश्न र जवाफका लागि को जिम्मेवारी हो ? त्यसकारण अहिलेको सन्दर्भमा हामी नेपालीहरु भ्रममा छौं । त्यो के भने वास्तवमा राजनीति भनेको के हो र किन यसको आवश्यकता पर्दछ भन्ने विषयमा ।
हामी अज्ञानी पनि होइन् ज्ञानी छौं, समयमा भोट दिन्छौ, कर तिर्छौ, काम देशमा नपाए विदेश गई दिन्छौ र अन्य वा नैतिकता हराएको पनि होइन् । देशीविदेशी सबैलाई आदार सत्कार गरेकै छौं, रातो कार्पेट विछाएकौ छौँ, टाउकोमा क्रृण थोपारेकै छौं । तर हामी र हाम्रो देशका जनता र युवाहरुमा तर्कशक्ति हराएको र वर्गशक्ति जराएको अवस्था छ र हो । त्यो कसरी भने हामी राजनैतिक, सांस्कृतिक, आर्थिक र भौगोलिक अतिक्रमणमा परेका छौं । यो हाम्रो अनुकुलता आत्मसातकरण र पर संस्कृतिको ग्रहण बनेको छ तर नेतृत्व वर्गमा जसलाई जनताको काँधमा जबरजस्ती थोपरिएको छ भने त्यो भार र मारका कारण हामी र हाम्रो देशको अवस्था धोबीको कुकुर घर न घाटको बन्नु पर्ने अवस्थामा छ । यिनै विविध कारणहरुलाई केलाउँदा र गहिरो अर्थमा बुझ्दा लाग्दछ अब पनि हाम्रो घैंटामा घाम लागेन भने भोलि नेपाल र नेपालीको अस्तित्व नै खतरामा पर्ने निश्चित छ । हामी भन्छौं नेपाल भुपरिवेष्ठित देश हो विकासका लागि धेरै कुराहरुको अभाव छ तर त्यो सत्य होइन् किनकी भुपरिवेष्ठित देश भएर पनि स्विजरल्याण्डको विकास किन सम्भव भयो त ? हाम्रो पनि सम्भावना छ पृथ्वी नारायण शाहले भनेको एउटा तथ्य र बाणीलाई हेर्दा नेपाल दुइ ढुंगा बिचको तरुल रे, होइन् हामी दुई तरुल बिचको ढुंगा हो किनकी तरुलहरु बढेर विश्वमा हाँगाहरु फैलाएका छन्, हामी ढुंगा बनेर जहाँको तहिै छौ । त्यो नै हाम्रो सामाजिक राजनैतिक, आर्थिक वास्तविकता हो ।
विद्यमान अवस्था र आउँदो राजनैतिक घटनाक्रमलाई मध्यनजर गरि भन्ने हो भने देशको कुनै पनि पालिका वा आफ्नो क्षेत्रमा हरेक वर्गलाई जागरुक बनाउन जरुरी छ । त्यो एक राजनैतिक चेतनाबाट जसको स्वतन्त्र व्याख्या हुन जरुरी छ र मध्यमार्गी विचारको उत्खनन् हुन जरुरी छ । यस विषय र सन्दर्भमा के, किन, कसरी र कस्तो जस्ता विषयलाई जनताका माझ पुर्याउनका लागि केहि विशेष नियम मातहत जान पनि जरुरी छ । जसका लागि तर्क गरौं सम्झौता होइन् ।
नेता र नेतृत्व परिवर्तन
भरसक नयाँ युवा, शिक्षित, अनुभव प्राप्त राजनीति र कुटनीतिक रुपमा सक्षम व्यक्तिलाई नेतृत्व दिइन जरुरी छ । चाहे त्यो स्थानीय तह होस् प्रदेश वा संघिय संसद । हुनतः बेथिती, विसंगति, समस्या, विरोधका आवाजहरु जहाँ पनि छन् तर असल नेतृत्व नहुनुका पछाडी धेरै समस्याहरु छन् । कार्यसम्पादनका आधारमा ५०% प्रतिशत सम्पादन गर्नेभन्दा ७५% प्रतिशत सम्पादन गर्नेलाई असल मानेर नेतृत्व दिन र मतदान गर्न जरुरी छ । जसले मतदानशैलीलाई पनि परिवर्तन गर्नेछ भने अर्थपूर्ण रुपमा अधिक मात्रामा परिवर्तनको आभाष गर्ने मौका मिल्ने छ । अर्कातिर सामाजिक रुपमा परिवर्तन पनि आउने छ र समय सापेक्षताका आधारमा प्रत्यक्ष प्रसारणमा जनतासंग सवाल–जवाफमा भिडाउने र जसले अति धेरै विषय वस्तुहरुमा पारदर्शिता ल्याउन सक्छ वा स्पष्ट भिजन देखाउन सक्छ उसलाई नै मतदान गर्ने वा जनतालाई मुल्याङकन् गर्न लगाउने नीति र परम्पराको विकास गर्न जरुरी छ । जुन नेता वा उमेदवारले जित्छ त्यो नेतृत्वमा जान्छ । जसको कार्यशैलीलाई विशुद्ध तरिकाले अवलोकन र मुल्याङकन गर्न स्वतन्त्र बहुदलिय समितिको आवश्यक हुनुपर्दछ ।
बानी र व्यवहारमा परिवर्तन
हामी जनताले हाम्रो संस्कार नफेरेसम्म नेता फेरिनेवाला छैनन् । अग्र परिवर्तनको महसुस गर्न हामीलाई गाह्रो हुनेछ । त्यसकारण पनि हाम्रा सामाजिक रितीरिवाजमा अग्र परिवर्तनको जरुरी छ । नेपालमा सामाजिक र तीब्र राजनैतिक परिवर्तन हुन नसक्नु जात प्रथा र धर्म हो जसमा तार्किकता कम र रुढीवादी सोच बढी छ । अर्को ऋण वा लगानीको स्वार्थ हो । जसले लगानी वा कुनै विशेष अवस्थामा सहयोग गर्छ, उसबाट लगानीकर्ताले वा दाताले उसको मातहतबाट आफु निकटलाई जिताउन भोट माग्दछ । जुन प्रथा सामन्तवादी सोचमा अग्रसर छ र त्यो कांग्रेस–कम्युनिष्टहरु सबैमा व्याप्त छ । यसको उन्मुलनका लागि या त अति चरम आर्थिक विकास हुनु जरुरी छ । कि सबै सम्पन्नशाली र विलासी जीवनस्तरमा प्रवेश गरुन् वा फेरी अर्को जनआन्दोलन वा जनसत्ता परिवर्तन जरुरी छ वा तानाशाही एकल संसदिय बहुमतको सरकार वा पूर्ण एकात्मक शासन हुन जरुरी छ । तर, यो सबै अहिलेको नेपाली भुराजनीतिमा असम्भव जस्तै छ र यदि सम्भव छ भने त्यो राष्ट्रिय स्वतन्त्र पार्टीको अवधारणाबाट मात्र सम्भव छ । यो कांग्रेस वा कम्युनिष्ट भन्ने सिद्धान्त र युज गर र फालमा पुगेका विचारधारा हुन् र भएका छन् । जसको प्रयास नभएको होइन तर असल नेता र नेतृत्वको अभाव वा चरमपन्थ सोचमा दक्षिणपन्थहरु हाबी रहनु हो ।
पार्टी वा संगठनमा विधान र नेतृत्व परिवर्तन
समयको मागसंगै संविधान र कानूनमा परिवर्तन हुन्छ भने संगठनका विधानहरुमा पनि समयसापेक्ष परिवर्तन हुन जरुरी हो । तर, नेपालका राजनैतिक दल र राजनीतिमा यो सबै व्यर्थ भइसक्यो र अबको पुस्तामा पनि यो नहोस् भन्नका लागि स्पष्ट आन्तरिक प्रजातान्त्रिक निर्वाचनका आधारमा आएको जनादेशबाट पार्टीको विधान र नेतृत्व परिवर्तन जरुरी हो । यो व्यवस्थाको पालना नेपालका कुनै पनि दलहरुले स्पष्ट रुपमा पालना गरेको देखिन्न् । जसका लागि यो पुस्ताले नयाँ सोच र विचारका साथ पार्टी वा संगठन वा संगठनका प्रारुपहरु परिवर्तन गर्न जरुरी छ । यो समयको माग पनि हो ।
राजनैतिक विचार र सिद्धान्तमा परिवर्तन
अबको सोच न त पुजिँवाद वा न साम्यबाद भनेर व्याख्या गर्ने सोच वा राजनैतिक विचारधारा हो । यो विचार धारा वा समयको माग भनेको स्वतन्त्र राष्ट्रवाद र राष्ट्र निर्माणको सोच र विचारको युग हो । त्यसकारण पनि हामी यो मान्यताबाट राजनीतिमा जान वा राजनैतिक मूल्यको स्थापना गर्न जरुरी छ । जसले हामीलाई कुनै वादसंग जोडिएको विकास र राष्ट्रभन्दा पनि आफ्नो मौलिकतासंग जोडिएको विकास र राजनैतिक विचार धारा वा वादलाई प्रष्ट पार्दछ र ‘सबैका लागि एक र एकका लागि सबै’ भन्ने मुल मन्त्र र अवधारणाको विकास गर्दछ । तर, यो साम्यवादमा आधारित धारणा होइन्, यो सहकार्यमा आधारित अवधारणा हो ।
राजनीतिसंगै विकासको परिकल्पना
राजनीतिसंगै विकासको परिकल्पना एक महत्वपूर्ण आधारशिला हो विकास बिनाको राजनीति र राजनीति बिनाको विकासको महत्व नै छैन भन्दा अर्थ नहोला । तर, विकासका रणनीतिहरुको तय गर्न विषय विज्ञताको जरुरी हुन्छ । त्यसकारण पनि हामीले यो कुरामा ध्यान दिन जरुरी छ कि कुन क्षेत्रमा के, किन, कसरी, कति र केका लागि भन्ने महत्वपूर्ण प्रश्नहरुको जवाफ दिन जरुरी छ । त्यसकारण अग्रगामी विकासका लागि निम्न योजना र सिद्धान्तहरुको अख्तियारी गरिनुपर्छ ।
१. समावेशी विकासको सिद्धान्तः जात, भाषा, धर्म, क्षेत्र, लिङ्ग, उमेर, र वर्ग सबैलाई समेटी गरिने विकास र योजनाहरु । जस्तैः नेदरल्याण्डमा ।
२. दिगो विकासको सिद्धान्तः वातावरणमा अवस्थित सबै भौतिक वस्तुहरुको उपयोगसंगै दिर्घकालिन सोचका साथ गरिने विकास र योजनाहरु । जस्तैः जि सेभेन देशहरुमा र विकासशिल देशहरुमा चीन, भारत, र युरोपयिन देशहरुमा ।
३. परिणाममुखी विकासको सिद्धान्तः प्रत्यक्ष जनसरोकारका विषयहरुलाई समेट्ने गरि तत्काल परिणाम आउने गरि गरिने विकास र योजनाहरु । जस्तैः जापान, कोरिया र रुसमा ।
४. बजारमुखी विकासको सिद्धान्तः अर्थतन्त्र र आर्थिक क्रियाकलापलाई प्रक्षेपण गरि निश्चित वृद्धि दरका आधारमा प्रत्यक्ष राहत र राज्यको योजनालाई फराकिलो र लचिलो पार्ने गरि गरिने विकास र योजनाहरु । जस्तैः चिनमा ।
५. समतामुखी विकासको सिद्धान्तः आर्थिक असमानतालाई कम गरि वर्ग विभाजनभन्दा पनि वर्ग निराकरण गरी समाजमा स्थिरता, शान्ति र अमनचयन दिने खालको विकास र योजनाहरु । जस्तैः चीनमा र यसको आर्थिक व्यवस्था ।
६. उत्पादनमुखी विकासको सिद्धान्तः राज्य वा जनताका हरेक क्रियाकलापबाट उत्पादन गरि देशको अर्थतन्त्रलाई सवल बनाउने विकास र योजनाहरु । जस्तैः अमेरिकी र चिनियाँ ।
७. संरक्षणवादी विकासको सिद्धान्तः देशको उत्पादनलाई प्राथमिकता दिने र सहज उत्पादनको वातावरण कायम गर्ने विकास र योजनाहरु । जस्तैः भारतिय कृषि उत्पादन ।
८. प्रविधिमैत्री विकासको सिद्धान्तः देशको विकासका लागि हरेक क्षेत्रमा प्रविधिको प्रयोग र उत्पादनमा जोड । जस्तैः जापान र चीनको ।
९. राष्ट्रवादी विकासको सिद्धान्तः सम्पूर्ण क्रियाकलापको अन्तिम रुप राष्ट्र निर्माण हो भन्ने विकास र योजनाहरु र अन्य ।
हामी संसारको जुनसुकै कुनामा बसै हाम्रो पहिचान नेपाल र नेपालीको नै रहन्छ भने हाम्रो सामाजिक, सांस्कृतिक मनोविज्ञान सधैँ यहि मन मष्तिस्कबाट चलेको हुन्छ । तर पनि हामीलाई परिवर्तन गर्न समय लाग्ला तर सम्भव भने अवश्य छ । हामी यो वा त्यो प्रकारबाट नयाँ बाटाहरु खोज्न र परिवर्तनका संवाहकको रुपमा रहि आधुनिक नेपालको निर्माण सहभागी हौं भन्ने मानसिकताको भावना विकास गरौं । आ–आफ्नो क्षेत्रबाट विचार, विमर्स र मन्थन गरौं । हाम्राभन्दा राम्रालाई चुनौं, झोलेवादभन्दा पनि भोलेवादमा जाउँ । नत्र भने फेरी ‘खाउँ भने दिनभरिको शिकार, नखाउ भने कान्छा बाको अनुहार’को समयको सामना गर्नु पर्नेछ । सबैमा चेतना भया ।





