पोखरा/ गण्डकी प्रदेश सभाका नवनियुक्त सचिव अधिवक्ता गोविन्द पौडेलले कार्यभार सम्हालेका छन् । सभामुख कृष्णप्रसाद धितालको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले सचिवमा नियुक्त गरे लगत्तै पौडेलले सोमबार नै पद तथा गोपनियताको सपथ लिएका थिए । सभामुख धितालले उनलाई सपथ खुवाएका थिए ।
पौडेलले जनप्रतिनिधि र राजनीतिक दलहरुको संगमस्थल प्रदेश सभा रहेकाले सोही अनुसार सबैसंग समन्वय गरेर अघि बढ्ने बताए । एकतामा नै उर्जा हुने र उर्जाका साथ काम गरेमा प्रदेश सभाको गरिमालाई पनि बढाउने उनले बताए । आफ्नो काम, कर्तव्य र अधिकारको सीमा र दायराभित्र रहेर सबैलाई समेट्दै काम गर्ने उनको भनाई थियो । पौडेल यसअघि २ वर्ष नुवाकोट जिल्ला अदालतमा श्रेस्तेदारको रुपमा काम गरिसकेका थिए । हाल पृथ्वीनारायण क्याम्पसमा अध्यापनरत रहेका छन् ।

नेपालको संविधानको धारा १९५ को प्रावधान अनुसार भट्टले उनलाई नियुक्त गरेका हुन् । पोखराको भलाम घर भएका अधिवक्ता पौडेलको नाम अघिल्लो कार्यकालमा पनि प्रदेश सभा सचिवका लागि चर्चामा थियो । उनी माओवादी निकट क्रान्तिकारी कानुन व्यवसायी संगठनसँग आबद्ध थिए । यसअघिका सचिव हरिराज पोखरेलको ५ वर्षे कार्यकाल पूरा भएपछि यही भदौ १९ गतेदेखि उक्त पद रिक्त थियो । प्रदेश सभा सचिवको पदावधि ५ वर्ष र तलब र सुविधा प्रदेशको प्रमुख सचिव सरह हुन्छ ।





