पोखरा/जेनजी पुस्ताको आन्दोलनमाथि सरकारले बर्बर दमन गर्दा देशभर १९ भन्दा बढी युवाहरुको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । यो संख्या बढ्न सक्ने सम्भावना रहेको सरकारी अधिकारीको भनाइ छ ।
त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् । काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको ।
सामाजिक सञ्जाल बन्द भएपछि आक्रोशित बनेका युवाहरु भ्रष्टाचारविरोधी नार नारासहित सडकमा उत्रिएपछि सरकार निर्मम र विवेकहीन बन्दा नरसंहारको अवस्था सिर्जना भएको हो । दमनबाटै युवाहरुको मुख थुन्न उद्यत सरकारले अचाक्ली बल प्रयोगमात्र गरेन,घुसपैठ भएको जिकिर गर्दै रगत लत्पतिएको हात पुच्छ्ने प्रयाससमेत गरेको छ । दम्भी प्रधानमन्त्री र सत्ता साझेदार दलहरुले युवाहरुलाई लान्छित गर्दै बन्दुककै बलमा सत्ता चलाउने ध्येय राखेकैले सोमबार देशैभर युवाहरु स्वतः स्फूर्तरुपमा सडकमा उत्रिएका हुन् ।

पोखरामा जेनजी पुस्ताको भ्रष्टचारविरुद्धको आन्दोलनमा ४ जनालाई गोली लागेको छ । शान्तिपूर्ण आन्दोलनले एकाएक हिंसात्मक रुप लिँदा एसओएस हर्मन माइनर स्कूलका १८ वर्षीय विद्यार्थीसहित चारजनालाई गोली लागेको हो ।
उनीहरुको गण्डकी मेडिकल कलेज, मेट्रोसिटीलगायतको अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एसओएसका विवश घर्ती मगर, पोखरा २५ हेमजाका ३२ वर्षीय रेशम शर्मा, स्याङजा मिर्मिका २१ वर्षका निश्चल भट्टराई र पर्वतका २६ वर्षका सरोज क्षेत्रीलाई गोली लागेको हो । उनीहरुमध्ये विवशको अवस्था गम्भीर रहेको प्रहरी स्रोतको दाबी छ ।

जेनजी पुस्ताले स्वस्फूर्त रुपमा सोमबार भ्रष्टाचारविरुद्ध सडक विरोधको आयोजना गर्दै थियो । सामाजिक सञ्जाल फेसबुक, एक्सलगायत विभिन्न दर्ता नभएको भन्दै बन्द गराएपछि उनीहरु सामाजिक सञ्जाल होइन भ्र्रष्टाचार बन्द गर भन्दै विरोधमा उत्रिने तयारी गरे । काठमाडौंमा यसको तयारी व्यापक भयो । देशभर कहाँ कहाँ हुन्न यकिन थिएन । सोही अनुसार पोखरामासमेत विरोध भयो । पोखरामा के कति सहभागी हुन्छन भन्ने कुनै यकिन थिएन । सोमबार बिहान पोखरा ८ पोखरा सभागृह अगाडि जेनजी पुस्ता भेला भए । भेलाले ठूलो रुपमा लिँदै गयो । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चिनिएका नेताहरु पनि सो विरोध प्रदर्शनमा सक्रिय देखिए ।
आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने ठेगान नभएको आन्दोलनकारी सुरुमा पोखरा ४ मानवअधिकार चोकमा पुग्ने र सम्पन्न गर्ने योजनाका साथ सभागृहबाट उत्तर लागे । सभागृहबाट करिब ६ सय मिटरमाथि पोखरा महानगरपालिकाको कार्यालयमा पुगेको भीडले आधा घण्टाजति नाराजाजी गदैै मिडल फिंगर (बीचको औंला) देखाउँदै विरोध गरे । आन्दोलनकारी लाई नै थाहा थिएन कि उनीहरुको आन्दोलन कता जान्छ भनेर ।

त्यसै उपक्रममा मानवअधिकार चोक पुगेपछि भने आन्दोलनकारीको भीड बाँडियो । एउटा समूह जिल्ला प्रशासन कार्यालयतर्फ लाग्यो । कोही घर त कोही मानवअधिकार चोकमै बसे । जिल्ला प्रशासनतर्फ लागेको टोलीले मुख्यामन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको निषेधाज्ञा तोड्दै अघि बढे ।
निषेधाज्ञा तोडि अघि बढेको भीडलाई प्रहरीले समेत केहि गरेन तर, भीडले मुख्यमन्त्री कार्यालय अगाडि पुगेपछि एकाएक मन्त्रालयको भवनमा ढुंगा प्रहार गरे । मन्त्रालयको सिसा फुट्यो । त्यसपछि भने प्रहरीले भीड नियन्त्रण गर्न पानीको फोहोरा र अश्रुग्याँस प्रहार ग¥यो । भीड जिल्ला प्रशासन कार्यालय र रत्नचोकतर्फ बाँडियो । रत्नचोकतर्फ लागेको भीडले वन मन्त्रालयको गाडी ध्वस्तै हुने गरी तोडफोड गरेपछि प्रहरीले गोली चलायो । गोली एक आन्दोलनकारीको छातीमा लाग्यो । त्यसपछि झन आक्रोशित भएको भीड र प्रहरीबीच झडप सुरु भयो । झडपले ठुलो रुप लिँदै जाँदा प्रहरीले निरन्तर अश्रुग्यास र गोलीप्रहार गरिरह्यो । दिउँसो २ बजेदेखि सुरु भएको झडप साढे पाँच बजे साम्य भयो । उक्त भीड रत्नचोकबाट पुनः उत्तरतर्फ सिर्जनाचोक हुँदै नदीपुरस्थित प्रदेशसभा भवन पुगेर प्रदेशसभा भित्र प्रवेश गर्न लागेपछि पुनः दोहोरो झडप हुन पुग्यो ।

प्रदर्शनकारीको प्रहारबाट वडा प्रहरी कार्यालय बैदामका डिएसपी नमराज भट्टराईसहित केही प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट भट्टराइको च्यापुमा चोट लागेको छ । यसैगरी प्रदर्शनमा उत्रिएका २४ जना प्रदेश प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।
घाइते आधा घण्टा घटनास्थलमै छट्पटाइरहे तर एम्बुलेन्स आएन
पोखराको आन्दोलनमा सुरक्षा निकायको तयारी नपुग्दा घाइतेहरु घटनास्थलमै छट्पटाउन बाध्य भए । एक प्रत्यक्षदर्शीका अनुसार पहिलो गोली लागेर घाइते भएका युवालाई अस्पताल लैजानका लागि एम्बुलेन्स नहुँदा आधा घण्टा घटनास्थलमै रहे । ‘यो आन्दोलनमा एम्बुलेन्स नै देखिएन । कम्तिमा प्रहरी यसबारेमा तयार हुनुपर्ने थियो । गोली लागेको घाइते लगभग आधा घण्टाभन्दा बढी समय अस्पताल जान पाएनन्,’ उनले भने, ‘भीडले प्रहरीको गाडी जान दिने स्थिति थिएन । सरकारी गाडीमाथि तोडफोड भएको थियो तर एम्बुलेन्सलाई तयारी अवस्थामा राख्नुपर्ने त्यो चाहिँ देखिएन ।’ उनका अनुसार भीडले निषेधाज्ञा तोडेर सरकारी कार्यालयमा तोडफोड सुरु गरेपछि मात्रै झडप भएको हो । घटनाबारेमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिन चाहेनन् ।
गृहमन्त्रीको राजीनामा
गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन् । सोमबार साँझ बसेको कांग्रेसको बैठकपछि बालुवाटार मन्त्रिपरिषदमा लेखकले राजीनामा बुझाएका हुन् ।





