फाइल तस्बिर
बागलुङ/जेनजी पुस्ताको आन्दोलनको क्रममा सोमबार भएको नरसंहारकारी घटनाको उच्च अदालत बार एसोसिएसन बागलुङले भत्र्सना गरेको छ । यो घटना मानवअधिकार र विधिको शासनको गम्भिर उल्लंघन भएको बारले ठहर गरेको छ ।
मंगलवार बिहान बार अध्यक्ष गीता श्रीषको अध्यक्षतामा वरिष्ठ अधिवक्ता सहितको आकस्मिक बैठकले निहत्था, भविष्यका कर्णधार दर्जनौं युवाले आफ्नो अमूल्य जीवन गुमाउनुपरेको ह्दयविदारक घटनाले सम्पुर्ण राष्ट्र शोकमग्न भएको बारको बैठकपछि जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । बारका सचिव उमाशंकर सापकोटाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा सरकारले गरेको यो पासबिक र अमानवीय दमन तथा गैरकानूनी हत्याको विरोध गरिएको हो ।
बारले घटनामा मृत्यु भएका सबै युवाप्रति श्रद्दाञ्जली व्यक्त गर्दै शोकशन्तप्त परिवारजनमा समवेदना पनि प्रकट गरेको छ । सबै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै राज्यले तत्काल निशुल्क उपचारको व्यवस्था गर्न पनि माग गरिएको छ । धरपकड गरेर पक्राउ गरिएका सबैको रिहाइको बारले माग गरेको छ ।
शान्तिपुर्ण आन्दोलनमा मारिएका युवाहरुको घटनाको निश्पक्ष छानविन गरी दोषीमाथी कडा कारवाही गर्नुपर्ने, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय खारेज गरिनुपर्ने, देशमा व्याप्त भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न जायज माग पुरा गर्नुपर्ने र विधिको शासन तथा नागरिकको मौलिक हकको पुर्ण पालना गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । त्यस्तै स्वतन्त्र, निश्पक्ष र सक्षम न्यायपालिका, विधिको शासन, देशभित्रै भविष्यको सुनिश्चितता र लोकतन्त्रको पक्षमा निरन्तर आवाज उठाइरहने उच्च अदालत बार इकाई सदा कटिबद्द रहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसैबीच सोमबारको घटनाले देशनै शोकमा डुबेकोले मंगलबार अदालतका सबै पेशी हटाइदिन बारले जिल्ला अदालतलाई आग्रह गरेको छ । सुशासनको माग र सामाजिक सञ्जालमा रोक लगाएको बिरुद्दमा सोमबार बागलुङमा पनि जेनजी समूहले प्रद्र्धशन गरेका थिए । साथै, उनीहरुले मंगलबार बागलुङ बन्दको पनि घोषणा गरेका छन् ।
यसैबीच नेपाल मानवअधिकार संगठन बागगलुङले पनि विज्ञप्ती प्रकाशित गरेर सोमबारको घटनाको भत्र्सना गरेको छ । अध्यक्ष लक्ष्मीदेवी जिसी कार्कीले विज्ञप्ती प्रकाशित गरेर घटनाको विरोध गर्दै घाइतेको उपचार निशुल्क गराउन पनि राज्यको ध्यानाकर्षण गरेकी छिन् । राज्यको क्रुर शैलीबाट मानवअधिकारको गम्भिर उल्लंघन भएको भन्दै मृतकप्रति श्रद्दाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेशदान प्रकट गरिएको छ ।
बागलुङमा पनि अप्रिय घटना हुन नदिन प्रशासन र प्रहरीको ध्यानाकर्षण गराइएको छ । यसैबीच प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जिल्लामा सुरक्षा व्यवस्था मजबुत बनाएको र कर्फु लगाउने योजना नभएको, आन्दोलनरत युवालाई पनि संयमित बन्न आग्रह गरिएको बताएका छन् ।





