काठमाडौं / काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन-जी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् ।
सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ ।
काठमाडौँका विभिन्न स्थानबाट अराजक गतिविधि गरेका केही युवाहरूलाई पक्राउ गरेको छ भने देशैभरि भीड नगर्न, सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड नगर्न पनि आग्रह गरिरहेको छ ।
कसैले क्षति पुर्याइरहेको थाह पाए सेनालाई सूचना दिन पनि आग्रह नेपाली सेनाले गरिरहेको छ । जेनजीले पनि आन्दोलनका क्रममा केही तत्त्वहरूले लुटपाट गर्ने र सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास गरिरहेको भन्दै लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेको पारिसकेको छ ।
प्रदर्शनकारीले आगो लगाएको संसद भवनमा सेनाले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ । अन्य सरकारी एवं संवैधानिक निकायहरूमा पनि सेना लगायत सुरक्षाकर्मीहरू परिचालित हुन थालेका छन् ।





