पोखरा/ गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमाले नेता खगराज अधिकारीले जेन जीको आन्दोलनका क्रममा केही युवाहरूको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना व्यक्त गरेका छन् ।
अधिकारीले एक वक्तव्य जारी गर्दै युवापुस्ताले उठाएको आवाज केवल माग मात्र नभई भविष्यको सपना भएको उल्लेख गर्दै त्यसलाई राज्यले सुन्ने जिम्मेवारी लिने बताए । उनका अनुसार भ्रष्टाचारविरुद्ध जेन जी पुस्ताले उठाएको आवाज जायज र न्यायोचित छ, तर दोस्रो दिन देखिएको तोडफोड र हिंसात्मक गतिविधि आन्दोलनकारीहरूको असली स्वर नभई बाहिरी घुसपैठे तत्वको काम थियो ।
उनले मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेको भन्दै बाह्य शक्तिले परिस्थितिलाई आफ्नो स्वार्थअनुसार मोड्न सक्ने सम्भावनाप्रति सतर्क रहनुपर्ने बताएका छन् । आन्दोलनको नाममा युवापुस्ताको वास्तविक आकांक्षालाई कमजोर पार्ने प्रयास हुन सक्ने भन्दै अधिकारीले संयम, धैर्य र सतर्कताको आवश्यकता औंल्याए । अधिकारीले लोकतन्त्र र गणतन्त्र लामो संघर्ष र बलिदानका माध्यमबाट प्राप्त भएको भन्दै यसको रक्षा र सबलीकरण सबैको जिम्मेवारी भएको उल्लेख गरे । उनले संविधानको अधीनमा रही नयाँ सम्भावनाका ढोका खोल्दै जेन जी पुस्ताको आकांक्षा र प्रतिनिधित्वलाई नीति, कार्यक्रम र नेतृत्व तहमा प्रतिबिम्बित गर्ने प्रतिबद्धता जनाए ।
उनले आफ्नै जीवनप्रति खुला हुँदै दशकभन्दा बढी समयदेखि परिवार र पैत्रिक सम्पत्तिबाट आर्जित एकतले घरमै बसोबास गर्दै आएको बताए । त्यही घरमा रहेका दुर्लभ पुस्तक सामग्री, छोरीका किताब र निर्दोष निजी सम्पत्ति नोक्सान भएकोमा पीडा व्यक्त गर्दै उनले यो केवल निजी दुःख नभई भविष्यलाई चोट पुर्याउने कार्य भएको उल्लेख गरे । ‘युवापुस्ताको सपना हाम्रो पनि सपना हो । यात्रा सजिलो छैन, तर साझा प्रतिबद्धता, एकता र आपसी विश्वासका साथ हामी हरेक चुनौती पार गर्न सक्छौँ,’ अधिकारीले भनेका छन् ‘हामी तपाईंहरूको साथमा छौँ ।’





