पोखरा/ जेन जीको आन्दोलनका कारण गण्डकी प्रदेशका चार जिल्ला कारागारबाट मंगलबारदेखि विहीबार मध्यान्हसम्म १ हजार ३ सय १ जना कैदी बन्दी फरार भएका छन् । उनीहरुमध्ये ५२ जना नियन्त्रणमा लिइएको र सम्पर्कमा आएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कास्की कारागारबाट ७ सय ७३ कैदीबन्दी मंगलबार साँझ फरार भएका थिए । उनीहरु मध्ये १८ जना सम्पर्क (नियन्त्रण) मा आएका छन् । यसैगरी तनहुँ जिल्ला कारागारबाट ३ सय २७ जना फरार भएकोमा २ मात्रै सम्पर्कमा छन् । यस्तै म्याग्दी जिल्ला कारागारबाट फरार ७६ मध्ये २४ जना नियन्त्रणमा छन् । पर्वत कारागारबाट भागेका १९ जनामा २ जना नियन्त्रणमा छन् ।
बाल सुधार गृहबाट भागेका मध्ये ६ जना सम्पर्कमा
यसैबीच पोखराको सराङकोटमा रहेको वाल सुधार गृहबाट १०६ जना वालविज्याइँमा परेका थुनुवाहरु (१८ वर्ष भन्दा मुनिका) पनि भाग्न सफल भएका छन् । उनीहरुमध्ये ६ जना सम्पर्कमा रहेका छन् ।





