बागलुङ/बुधबार रातीदेखि परेको अविरल वर्षाले सडकको बेश पहिरोले बगाएपछि मध्यपहाडी लोकमार्गको गलकोट–खर्वाङ खण्ड पुर्णरुपमा अबरुद्ध भएको छ ।
गलकोट नगरपालिका वडा नं. ९ मल्मको भालुपाइलेमा सडकको वेश वर्षासंगै भत्किएपछि सडक पुर्ण रुपमा अबरुद्ध भएको वडा सदस्य नारायण सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार, सडक भत्किदा दुईपाङ्ग्रे सवारी बाहेक अन्य सवारी वारपार गर्न सक्ने अवस्था छैन । दुई पाङ्ग्रे सवारीले पनि जोखिमपूर्ण यात्रा गरेको उनको भनाई छ ।
मल्मको भालुपाईले, छिस, रिस्मीहुँदै गलकोटतर्फ जाने वैकल्पिक सडक पनि जोखिमपुर्ण रहेकोले सडक पुर्ण रुपमा अबरुद्ध भएको सापकोटाले बताए । उक्त सडक खण्डमा फोरब्हिल साना सवारी मात्रै गुड्न सक्छन् ।
सडक खुलाउन सडक डिभिजनको स्काभेटर प्रयोग गर्ने तयारी गरिएपनि सडक डिभिजन पोखरामा जेन्जी समुहको आगजनीपछि चालकसहित कर्मचारी पोखरा गएकोले समस्या भएको सापकोटाले जानकारी दिए । इलाका प्रहरी कार्यालय हरिचौरले भने सडक खुलाउन पहल भईरहेको जानकारी दिएको छ ।





