बागलुङ/जेनजी आन्दोलन पछिको परिस्थिति सम्हाल्नका लागि संवैधानिक बाटो अपनाउनुपर्ने भन्दै बार र पत्रकारले पहल थालेका छन् । शुक्रबार दिउँसो उच्च अदालत बार इकाई बागलुङ र नेपाल पत्रकार महासंघ बागलुङ शाखाले संयुक्त रुपमा मौन र्याली निकाल्दै संवैधानिक मार्ग खोज्न राज्यको ध्यानकर्षण गराएका हुन् ।
कालो कोट लगाएका कानून व्यवसायीको साथमा पत्रकारले हातमा संविधानको किताव बोकेर र्याली गरेका हुन् । ‘राष्ट्र बचाऔ, संविधान जोगाऔं’ अंकित प्लेकार्ड पनि उनीहरुले बोकेका थिए । उच्च अदालत बार एसोसिएसन बागलुङ र नेपाल पत्रकार महासंघ बागलुङले अभियानका अन्य क्रियाकलापमा पनि बार र महासंघ सँगै जाने योजनामा छन् ।
तीन दिनदेखि बागलुङमा दिउँसो निशेधाज्ञा र रातमा कर्फ्यू लागेको छ । निशेधाज्ञाका बाबजुत कानून व्यवसायीले शुक्रबार कालो कोट लगाएर, हातमा संविधानको किताब समात्दै दबाव दिएका हुन् । उनीहरुले संविधान बचाउन सकियो भने संविधानले देश बचाउने भन्दै मौन र्याली गरेका हुन् । उक्त र्यालीमा नेपाल पत्रकार महासंघले पनि साथ दिएका हो । उच्च अदालत बार एसोसिएनका अध्यक्ष गीता श्रीष र नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा ‘अविरल’ले र्यालीको नेतृत्व गरेका थिए ।





