पोखरा/ जेन जी आन्दोलनको पहिलो दिन भदौ २३ मा १९ युवाको मृत्यु भएपछि राजीनामाको घोषणा गरेका गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटाको राजीनामा स्विकृत भएको छ ।
विहीबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटाको राजीनामा स्विकृत भएको जनाएका थिए । गण्डकी सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा.टकराज गुरुङले मन्त्री देवकोटाको राजीनामा बुधबार नै स्विकृत भएको मुख्यमन्त्रीले क्याविनेट बैठकमा जानकारी गराएको बताए । ‘मन्त्रीको राजीनामा स्विकृत गर्ने विशेष अधिकार मुख्यमन्त्रीसंगै हुन्छ । क्याविनेटमा ल्याउनु पर्दैन’, मन्त्री गुरुङले भने । मन्त्री गुरुङले बुधवार ढोरपाटनको जिज्ञासामा आफुहरुले सामाजिक सञ्जालबाट देवकोटाले राजीनामा दिएको थाहा पाएको र औपचारिक रुपमा राजीनामा नआएको बताएका थिए ।
केन्द्र सरकारले १९ जनाको हत्या गरेको, युवाको सहादत र सयौं घाइते भएको घटनाले मर्माहत बनाएको भन्दै देवकोटाले राजीनामा दिएका थिए । देवकोटा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का तर्फबाट मन्त्री बनेका हुन् । मन्त्रीबाट फिर्ता हुन पार्टीले पनि निर्देशन दिएको उनले जनाएका थिए । उनी माओवादी केन्द्रको चुनाव चिह्नमा गोरखाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।





