बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

राँगो मार हान्न ४ लाख ९२ हजार रुपियाँ बोलकबोल

राँगो मार हान्न ४ लाख ९२ हजार रुपियाँ बोलकबोल


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०८२, बुधबार
मल्लाज कोतमन्दिरमा भक्तजनहरु । तस्वीरः ढोरपाटन

म्याग्दी / नवरात्रको अन्तिम दिन बुधबार (आज) म्याग्दीका शक्तिपिठहरुमा पूजा आराधना र दर्शनका लागि भक्तजनहरुको घुँइचो लागेको छ । जिल्लाका विभिन्न स्थानहरुमा रहेका कोतघर र भगवती मन्दिरहरुमा दर्शनका साथै पूजा आराधना गर्न विहानैदेखि भक्तजनहरुको भिड लागेको हो ।

आज महानवमीका दिन शक्तिपिठहरुमा बाजागाजासहित बलि दिने परम्परा छ । कोतघर र भगवती मन्दिरहरुमा विधिपूर्वक पूजा आरधना गरी धार्मिक विधिअनुसार बलि दिने प्रचलन छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका –२ स्थित राखु भगवती कोतमन्दिर, धवलागिरि गाउँपालिका –७ स्थित ताकमकोत मन्दिर, बेनी नगरपालिका-९ स्थित घतान कोत मन्दिर र बेनीसँग नजिक रहेको मल्लाज भगवती कोत मन्दिरमा आज धुमधामसँग पूजा आरधना गरिएको छ ।

अन्य ग्रामीण भेगहरुमा रहेका देवी भगवतीका मन्दिरहरुमा पूजा र दर्शनका लागि पुगेका भक्तजनहरुको भिड लागेको छ । नवरात्रको अन्तिम दिन आज आश्विन शुक्ल नवमीमा देवीको पनि विशेष पूजा आराधना बलि दिने कार्यक्रम रहेको राखु भगवती कोत मन्दिरका पूजा व्यवस्थापन समितिका अध्यक्ष देबेन्द्रबहादुर मल्लले बताए ।

उनका अनुसार भागवती कोतमा बलि दिइने सरकारी राँगोको मार हान्न मंगलबार राति खुल्ला प्रतिस्पर्धामार्फत बढीबढाउ गरिएको छ । यस वर्ष ४ लाख ९२ हजार रुपियाँ बोलकबोल गरेर रघुगंगा गाउँपालिका–२ निवासी भगवान खत्री सरकारी राँगो मार हान्नका लागि छनौट भएका छन् ।

यसैगरी, मल्लाज भगवती कोत मन्दिर बलि चढाइने सरकारी राँगो मार हान्न (काट्न) ३ लाख ३ हजार तीन सय ३३ रुपियाँ बोलकबोल गरी जलजला गाउँपालिका-४ फटकेढुङ्गाका अनोजबहादुर मल्ल छनौंट भएको मल्लाज भागवती पूजा व्यवस्थापन समितिका सदस्य नविन जिसीले बताए ।

भगवती कोत मन्दिरमा सरकारी मार हान्ने व्यक्तिको मनोकांक्षा पूरा हुने जनविश्वासका कारण धेरै जनाको प्रतिस्पर्धा हुने भएकाले बढीबढाउमार्फत सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिलाई नै सरकारी मार हान्न दिने परम्परा रहेको राँखु भगवती कोत मन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष मल्लले जानकारी दिए ।

यसैगरी, धवलागिरि गाउँपालिका–७ स्थित ताकमकोत मन्दिरमा पनि आज विहानैदेखि भक्तजनहरुको भिड लागेको कोत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कलानिधि शर्माले बताए । उनका अनुसार ताकमकोतमा विहानैदेखि म्याग्दीका साथै बागलुङका समेत भक्तजनहरु पूजा आरधनाका लागि आएका छन् । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->