पोखरा/बंगालको खाडीमा विकसित भएको न्यूनचापीय मौषम प्रणाली नेपाल पस्दा असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा बाढी,पहिरो र डुवानका समस्या देखिए । बाढी र पहिरोमा परेर ठूलो धनजनको क्षति भयो । राजमार्गहरु अवरुद्ध हुँदा सयौँ यात्रुहरुको बिचल्ली भयो । जल तथा मौषम विज्ञान विभागको मौषम प्रक्षेपणसँगै सरकारले सार्वजनिक यातायात संचालनमा रोक लगाउनेदेखि सचेतनासम्बन्धी विभिन्न कार्यक्रम पनि संचालन ग¥यो । विभागले योपटकको विध्वशंकारी मनसुनबाट गण्डकी क्षेत्र कम प्रभावित हुने प्रक्षेपण गरेको थियो । देशकै सबैभन्दा बढी पानी पर्ने ठाउँ पोखरा रहेको गण्डकी क्षेत्रका बासिन्दाहरु पनि भारी वर्षा हुने त्रासमा थिए । तर,पोखरा र गण्डकी क्षेत्रमा विध्वशंकारी मनसुन आउँदै आएन । जल तथा मौषम विभागबाट पोखरा एयरपोर्टमा गरिएको मापन अनुसार असोज १९ गते देशकै सबैभन्दा बढी पानी पर्ने पोखरामा २.८ मिलिलिटरमात्र वर्षा भयो । मापन केन्द्रमा रहेकी हुमा गुरुङका अनुसार असोज १८ गते चाहिँ पोखरामा २९.८ र १७ गते ०.५ मिलिलिटरमात्र पानी परेको थियो । बंगालको खाडीबाट भित्रिएको मनसुन पोखरा नआउनु एउटा कुरा भयो । तर, पोखरामा दिनहुँ पानी पर्नाको कारण चाहिँ के हो त ?
जल तथा मौषम विभाग कार्यालय पोखराका सूचना अधिकारी सुजन सुवेदीका अनुसार बर्खाको बेला पोखरामा एकै दिन ३ सय मिलिलिटर हाराहारीमा पानी परेको रेकर्ड रहेको छ । पोखराको पनि ठाउँ हेरेर कतै कम र कतै बढी पानी पर्ने उनले बताए । देशकै सबैभन्दा बढी पानी पर्ने ठाउँ चाहिँ कास्कीको अन्नपूर्ण गाउँपालिकाको लुम्ले क्षेत्र हो । सूचना अधिकारी सुवेदीका अनुसार सन् २०२१ को सेप्टेम्बर १० तारिखमा पोखरामा २८०.४ मिलिलिटर वर्षा भएको थियो । उनका अनुसार वार्षिक तथ्याङ्क हेर्दा चाहिँ सन् १९९८ मा सबैभन्दा बढी ४ हजार ८ सय ७९ मिलिमिटर वर्षा भएको थियो ।
जल तथा मौषम विभाग काठमाडौंमा कार्यरत जलविज्ञ इन्जिनियर विनोद पराजुलीका अनुसार पोखराको भौगोलिक अवस्थाले एउटा छुट्टै मौषमी अवस्था सिर्जना गरेको छ र त्यसले वर्षभरमा औषत रुपले देशको सबैभन्दा बढी वर्षा हुने अवस्था छ,’उनले भने,‘क्षणिक भारी वर्षा हुने क्षेत्र चाहिँ पोखरा हैन । त्यस्तो क्षेत्र भनेका चुरे आसपासका क्षेत्रहरु, काठमाडौं दक्षिणी क्षेत्रहरु हुन् ।
पोखरामा वार्षिक रुपले हुने बढी वर्षा र अहिले बंगालको खाढीबाट आएको वायु प्रणालीलाई जोडेर हेर्न नमिल्ने कुरा उनले दोहो¥याए । अहिले नेपालबाट बाहिरन आँटेको मौषम प्रणालीले पोखराको आसपासदेखि पूर्वतिरमात्र पानी पार्ने भन्ने पूर्वानुमान रहेको पनि उनले स्मरण गरे ।
लामो समयसम्म पोखराकै मौषम विभागमा काम गरेका रामकुमार कापैरको भाषा सापट लिने हो भने पोखराको मौषमबारे अनु्मान गर्न कठीन हुन्छ । कहिले पानी पर्छ भन्यो, पानी नै नपर्ने र कहिले अनुमानै नगरेको बेला पानी दर्कनु पोखराको लागि नौलो नभएको उनले. स्वीकारे ।
‘ठूलो वर्षा हुने अनुमान चाहिँ मिल्न जान्छ तर पोखरामा सानातिनो वर्षा भइरहेको हुन्छ । ठ्याक्कै मिल्दैन,’ उनले भने,‘नजिक हिमाल भएकाले यहाँको हावाको गति नै फरक पारेकाले पोखरामा मौषमको पूर्वामान गर्न नसकेकोजस्तो हुन्छ ।’
आखिर पोखरामा किन अन्यत्रभन्दा बढी पानी पर्छ र यहाँको मौषमको पूर्वानुमान गर्न असजिलो छ त ?
जलविज्ञ इन्जिनियर विनोद पराजुली यसरी पोखिए–‘पहिलो (पोखरा)यस्तो उपत्यका हो, जसको वरपर उच्च पहाड र हिमालहरु छन् । खासगरी यसको माथिल्लो भागमा रहेको कालीगण्डकी गर्ज साँघुरो छ । त्यसले दक्षिणतिरबाट गएको हावालाई मुस्ताङतिर छिर्न दिँदैन । पानी बोकेको बादल त्यहाँबाट फर्कँदा पर्वत,कास्कीको लुम्ले र पोखरालगायतका क्षेत्रमा पानी बढी पर्छ । यो क्षेत्रमा बढी पानी पर्नुको कारण एउटा यही हो । अर्को कुरा–पोखराको आफ्नै एउटा बाष्पिकरण प्रक्रिया छ । पोखरामा ८ वटा ताल छन् । ती तालहरुबाट निरन्तर पानी बाफ बनिरहेको हुन्छ । त्यो बाष्पिकरण प्रक्रियाले बादलमा पानी गइरहेको हुन्छ र त्यो बाफ बोकेको बादलाई यहाँका डाँडाकाँडाले बाहिरिन दिँदैनन् र उत्तरी हिमाली क्षेत्रमा त्यो बादल पुग्दा चिसिएर पानी बन्छ अनि पानी पर्छ । सामान्यतयाः तालबाट दैनिक एक मिलिलिटर पानी यसरी बाफ बनेको हुन्छ । त्यसले गर्दा दिउसो १ वा २ बजेपछि पोखरामा पानी पर्ने गरेको हो ।’ तर, उनले यी विषयको बैज्ञानिक अध्ययन चाहिँ नभएको सुनाए ।‘ यसको अध्ययन भएको छैन । यहाँको तालबाट दैनिक कति पानी बाफ बन्छ भन्ने कुरा ठ्याक्कै भन्न चाहिँ सकिँदैन । तथ्य चाहिँ हामीले देखेको र भन्दै आएको वरपर नै छ,’उनले कुराको बिट मारे ।
भूगोलविद भानु पराजुलीका अनुसार पोखरा वरपरका पहाडले पूर्वबाट आउने बादल रोक्दा त्यसको पानी पार्ने स्वभाव स्वतः कमजोर हुन्छ । उनी भन्छन्,‘ स्थलाकृतिक छायाँ प्रभावः पोखरा वरपरका पहाडहरूले पूर्वबाट आउने बादल रोक्छन् र कमजोर पार्छन् । स्थानीय मौसम चक्रः पूर्वमा व्यापक नमी र चक्रवर्तीय गतिविधि हुँदा पश्चिमी क्षेत्रमा अपेक्षाकृत स्थिर उच्च दाब क्षेत्र बन्ने गर्छ ।’





