बागलुङ (खर्वाङ)/बस्दै आएको घरबाट निकालिएपछि बडिगाड गाउँपालिका वडा नं. ४ जलजलाका केशव पुनको परिवार तीन दिनदेखि ओडारमा बस्दै आएको छ । बडिगाड ५ ग्वालीचौर सेरोफेरोमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका ४६ वर्षिय पुनसहित ८ जनाको परिवार यसअघि पनि अर्कैको घरमा बस्थे । अहिले घरधनीले बसेको ठाउँ छाड्न भनेपछि सो परिवार ओत लाग्न ओडारमा पुगेको हो ।
८२ वर्षीया आमा जमुनाकुमारी पुन, श्रीमती, तीन छोरी र दुई छोरासहित घरविहीन पुन परिवार यतिबेला बडिगाड ५ ग्वालीचौरको कालिमाटीखोला नजिकको ओडारमा बसेको हो ।
‘म ज्याला मजदुरी गरेर खाने मान्छे हो । सानो ठुलो जुनसुकै काम गर्न पनि म तयार छु । अहिलेसम्म मजदुरी काम गरेरै परिवार पाल्दै आएको छु । श्रीमती र छोरीहरुले पनि होटलमा काम गर्छन् । मलाई बस्ने बासको व्यवस्था मिलाइदिनुस्,’ पुनले बिलौना गरे ।
स्थानीय नविन कुवँरले तत्कालको लागि उनीहरुलाई खाने व्यवस्था गरे पनि उपयुक्त बासको व्यवस्था भने गर्न नसकिएको बताए । चिसो पनि बढ्दै गएको छ । बुढी आमासहित बालबालिकाको ख्याल गर्नुपर्ने समयमा परिवार यस्तो अवस्थामा पुग्नु दुःखद भएको भन्दै उनले सहयोगको लागि सबैसँग अनुरोध समेत गरे ।





