काठमाडौं/ मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट मंगलबार राजीनामा दिएका छन् । आफ्नै पार्टी जनमतले प्रपञ्च रचेको र सरकारमा सहभागी दलहरूले बोली फेरेको आरोप लगाउँदै उनले मधेश प्रदेश सभामा मंगलबार विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुअघि सभालाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
आफु सत्ता र पदका लागि नभई जनताका लागि काम गर्न चाहेको भन्दै उनले जनताको हित र संविधानको रक्षाका लागि उभिएको र वर्तमान परिस्थितिमा मार्ग प्रशस्त गर्दै मुख्यमन्त्रीको पदबाट राजीनामा गर्दछु भन्ने मन्तव्य दिएका थिए ।प्रदेशसभामा अल्पमतमा परेपछि मुख्यमन्त्री सिंहले विश्वासको मत नलिँदै राजीनामा दिएका हुन् । सभामुख रामचन्द्र मण्डलले उनलाई विश्वासको मत नलिएको हुनाले प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा दिन निर्देशन दिएका छन् ।
नेपालको संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम राजीनामाको घोषणा गरेकाले अब विश्वासको मतको प्रक्रियामा जानु नपर्ने सभामुखले बताए ।





