पोखरा/आगामी फागुन महिनामा वा त्यसको दुई तिन महिनामा निर्वाचन नभएमा देशमा राजतन्त्र फर्कने सम्भावना रहेको भन्दै नागरिक समाजले चिन्ता व्यक्त गरेको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दका कारण भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन पछि गठित अन्तरिम सरकारले निर्वाचन गराउन नसकेमा राजतन्त्र फर्कने खतरा भएको उच्च अदालत पोखराका पूर्व मुख्य न्यायधीश डिल्लीराज आचार्यले बताएका छन् ।
सुनको अवैद्य पैठारी (तस्करी) जाँचबुझ आयोग २०८० का अध्यक्ष समेत रहेका आचार्यले २४ गते रातीदेखि २६ गते रातिसम्म अर्थात ४८ घण्टा राज्य सरकार विहिन अवस्थामा पुगेपछि असंवैधानिक रुपमा गठित सरकारसँगै विभिन्न समस्याहरु देखिएको सुनाए ।
नागरिक समाज कास्कीको आयोजनामा पोखरामा बिहिबार आयोजित वर्तमान संवैधानिक गतिरोध समाधानका उपायहरु विषयक छलफलकार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
आधारपत्र प्रस्तुत गर्दै आचार्यले जेन जी आन्दोलनपछि लोकतान्त्रिक मान्यता विधिको शासन र संविधानवाद संकटमा परेको बताए । सोही क्रममा जेन जीले शुशिला कार्कीलाई प्रधानमन्त्री बनाउने घोषणा पछि नियुक्त भएकी उनले समेत संविधान बाहिर जान नसक्ने उद्घोष गरेको सुनाउँदै निर्वाचन हुन नसके राजतन्त्र आउने र त्यो पनि सम्भव नभए देश गृहयुद्ध र प्रत्यक्ष हस्तक्षेप हुने अवस्था रहेको सुनाए ।
‘मेले यो विषयमा धेरै अध्ययन गरे । यदि फागुन २१ अथवा सारेर बैशाख वा जेठ सम्म भएन भने राजतन्त्र आयो । तपाईले राजतन्त्र चाहेपनि आयो नचाहेपनि आयो । चुनाव गर्ने जसरी पर्ने गर्ने मरे जेन जी मर्छ भन्यो भने फेरी चुनाव हुँदैन’ उनले भने, ‘पोलिटिकल वैज्ञानिकहरुले समेत के भनेका छन् भने जहाँ डेमोके्रसी असफल हुन्छ त्यहाँ राजतन्त्र नै चाहिन्छ भन्छ । देश कानूनले नचले बन्दुकले नै चल्ने हो नेपालमा अहिलेसम्म नभएको भनेको सैनिक शासनमात्रै हो । त्यसैले पनि राजतन्त्र आउने सम्भावना छ ।’
उनले आफु राजतन्त्रको वकालन गर्ने व्यक्ति नभएपनि निर्वाचित कुनैपनि व्यक्ति भन्दा वंशिय व्यक्तिलाई देशको बढि माया लाग्ने सुनाए । निर्वाचित व्यक्ति भोलि विक्न सक्ने स्थिति रहेको र वंशिय व्यक्ति नविक्ने उनको धारणा थियो ।
‘निर्वाचित हुने व्यक्ति मौका परे विक्छ वंशिय व्यक्ति विक्दैन, त्यो टिक्दैन यो टिक्छ सिद्धान्तको कुराले । यदि जन्मजात नै राजा हुन्छ २० वटा राष्ट्रपति किन चाहियो ? राजा नै ठीक भन्ने भयो भने खर्चको हिसाबले कम हो तर, तपाईँ म नै राष्ट्रपति हुन सक्छु भने जन्मजातको लाई किन राष्ट्रपति मान्ने ? तपाईको आफ्नो रोजाइ हो’ उनले भने ।
चुनाव नभए प्रधानमन्त्री समेत बसिनरहने उनले बताए । प्रधानमन्त्रीको स्वभाव, संस्कृति र धारणाको हिसाबले बसिरहने जस्तो आफुलाई नलाग्ने उनको भनाइ थियो । जति जे भनेपनि यो सबै राष्ट्रवादी चिन्तन नै भएको भनाइ राखे ।
गणतन्त्रवादीहरु क्रमशः असफलतातिर र राजावादीहरु संख्यात्मक रुपमा क्रमशः बढोत्तरितिर गइरहेको पछिल्ला घटनक्रमहरुले देखाएका छन् । त्यतिमात्र होइन अहिलेको अवस्थामा राजा बराबर राष्ट्रवादी कोही छैन र हुँदैन भन्ने बुझाइ अधिक हुँदै गएको छ । राजसंस्थाले अहिलेको अवस्थामा सर्वदलीय सहमति वा छिमेकीको संकेत पर्खेको अवस्था रहेको उनले बताए ।
चरम गृहयुद्ध सत्ताच्युत शक्ति, राजावादी शक्ति समाजवादी लोकतान्त्रिक गणतन्त्रवादी शक्ति, मध्यममार्ग शक्तिहरु आ–आफ्ना स्वार्थहरु लिएर अघि बढिरहँदा भाषिक र भौगोलिक विविधताको नाममा अतिवादी कृयाकलापका कारण मुलुक चरम गृहयुद्धमा फस्ते संगीन अवस्थामा पुगेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
आचार्यले जेन जी आन्दोलनपछि लोकतान्त्रिक मान्यता विधिको शासन र संविधानवाद संकटमा परेको बताए । नेताहरु देशको सेवा भन्दा व्यक्तिगत स्वार्थमा लाग्दा देशको अवस्था नाजुक भएको औंल्याए । नेतृत्वमा पुगेका व्यक्तिहरु कहिल्यै देश अभिभावक बन्न नसकेको उनले आरोप लगाए ।
‘हामीले भोट दिएका व्यक्तिहरु असल रहेनछन् । देशलाई माया गर्नेे होइन, सत्ता र स्वार्थका लागि उभिनेहरुले भोट पाएका छन्, यही नै हाम्रो दुर्भाग्य हो । नेताहरुको सोच यस्तो छ, विद्यार्थीहरू विदेश जाऊन्, उनीहरुका कार्यकर्ताहरु मात्र देशमा बसुन् अनि जहिल्यै चुनाव लड्ने व्यक्तिगत स्वार्थ पुरा गर्ने,’ उनले भने । देशमा रोजगार सिर्जना र युवालाई स्वदेशमै अवसर प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।
पृथ्वीनारायण क्याम्पसका बिएएलएलबी कार्यक्रम निर्देशक भीमनाथ बरालले देशमा सुशासन र जिम्मेवार नेतृत्वको आवश्यकता औंल्याउँदै वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे । फागुनमा चुनाव हुन सक्ने अवस्था बनिनसकेको उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘देशमा सुशासन चाहिन्छ । सरकारले जनताको हितका लागि नभइ, सत्ताको दुरुपयोगका लागि संविधान प्रयोग गरिरहेको छ । सत्तामा बस्नका लागि संविधानको गलत प्रयोग गरिरहेको छ ।’
पश्चिमाञ्चल इन्जिनियरिङ कलेजका विद्यार्थी प्रशान्त सुवेदीले जेनजीको माग अनुसारको काम नभएको बताए । विद्यार्थीलाई डेसमा आन्दोलनमा सहभागि गराउनु जायज नरहेको बताए । विद्यार्थीलाई प्रहरीले केहि गर्दैन भन्ने गलत सुचनाका कारणले आन्दोलनमा विद्यार्थी मारिनुपरेको बताए । विद्यार्थीलाई आन्दोलनको अग्रपक्तिंमा राख्नु गलत रहेको उनको भनाइ छ ।
आन्दोलनमा घुसपैठ हुँदा हिंसात्मक वातावरण सृजना भएको सुवेदीले बताए । नेतृत्व चयनमा वास्तविक आवाजभन्दा बढी बाह्य हस्तक्षेप र घुसपैठ भएको उनको भनाइ छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले संवैधानिक अवरोध, राजनीतिक अस्थिरता, बेरोजगारी र सामाजिक असमानता समाधानका उपायबारे सुझाव दिएका थिए । उनीहरूले शासन प्रणाली सुधार, राष्ट्रिय हित संरक्षण र नागरिक सहभागिता सुदृढ गर्न नागरिक समाजले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागि भएका नागरिक इन्द्रबहादुर गुरुङले अहिले विदेशीहरुको घुसपैठ भएको बताइरहँदा उनीहरुले चलाउने व्यक्ति नेपाली नै रहेको भन्दै चिन्ता व्यक्त गरे । देशका सबै संयन्त्र फेला हुँदाको स्थितिले देशलाई कता डोहो¥याउने भन्ने अवस्थाबारेमा चिन्ता व्यक्त गरे ।





