बागलुङ / बागलुङको धौलागिरी प्रादेशिक अस्पतालमा बिरामीले औषधि नपाएको गुनासो आएपछि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक फार्मेसी पुगे । उनी शनिबार अस्पताल प्रशासनलाई थाहै नदिइ धौलागिरी अस्पतालको फार्मेसीमा पुगेका हुन् ।
स्वास्थ्य बिमामा आबद्ध अधिकांश बिरामीले नियमित रूपमा सेवन गर्ने थाइराइड, उच्च रक्तचाप, सुगर र मुटुलगायतका औषधि अस्पतालको फार्मेसीमा नपाएको गुनासो सार्वजनिक भएपछि स्वास्थ्य मन्त्री पाठक अनुगमनमा गएका हुन् ।
सुटुक्क फार्मेसीमा पुगेका पाठकलाई फार्मेसीका कर्मचारीले सुरुमा चिन्न सकेनन् । मन्त्री पाठकले प्रदेश सरकारले औषधि खरिदका लागि पैसा पठाइसकेकाले किन औषधि खरिद नगरेको भन्दै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट र फामेर्सी इञ्चार्जलाई प्रश्न गरे ।
अस्पतालका स्वास्थ्यकर्मी र फार्मेसीको बाहिर आफ्नो निजी पसल भएकाले अस्पतालमा औषधि अभाव बनाइराख्ने गरेको बिरामीको गुनासोपछि मन्त्री पाठकले निजी फार्मेसी र प्रायोगशाला रोज्ने कि अस्पताल रोज्ने भन्दै स्वास्थ्यकर्मीलाई प्रश्न गरेका थिए ।
उनीसँगै बिरामीले प्रयोगशाला र फार्मेसीमा काम गर्ने अधिकांश कर्मचारीको अस्पताल बाहिर आफ्नै फार्मेसी र प्रयोगशाला रहेकाले मिलेमतोमा समस्या सिर्जना गरिएको गुनासो गरे ।
स्वास्थ्यमन्त्री पाठकले अस्पतालमा काम गरेर बाहिर प्रयोगशाला र फार्मेसी चलाउनेलाई कारबाही गर्ने भन्दै तुरुन्तै औषधिको आपूर्ति व्यवस्था मिलाउन अस्पताललाई निर्देशन दिए । पाठकले स्वास्थ्य मन्त्रालयले तत्कालै दोहोरो फाइदा लिने कर्मचारीलाई अस्पताल वा निजी फार्मेसी रोज्न निर्देशन दिए ।
‘अस्पतालमा जागिर गर्ने तर निजी स्वार्थका लागि बिरामीलाई औषधि नदिएर बाहिर पठाउने कुरा गलत छ । प्रदेशले औषधि खरिदका लागि पठाएको रकमले छिटो औषधि खरिद गरौँ । मन्त्रालयले दुईतिर काम गर्ने कर्मचारीलाई कारबाही गर्न तत्कालै परिपत्र पठाउछ’, मन्त्री पाठकले अनुगमनपश्चात् भने । अस्पतालले समयमै औषधि नल्याउँदा बिरामी महँगो मूल्यमा औषधि खरिद गर्न बाध्य भएका छन् ।





