आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

‘मोन्था’को प्रभाव सकियो, आज यी स्थान हल्का वर्षाको सम्भावना

‘मोन्था’को प्रभाव सकियो, आज यी स्थान हल्का वर्षाको सम्भावना

अरबसागरमा बनेको न्यूनचापीय प्रणालीका कारण पनि नेपालमा वर्षा र हिमपात भएको थियो । त्यो प्रणाली समेत निकै कमजोर भइसकेको उनले जानकारी दिए ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०८२, आइतबार

काठमाडौं / देशका केही स्थानमा आज (कात्तिक १६) वर्षाको पूर्वानुमान छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशमा हाल मुख्यतः पश्चिमी वायुको प्रभाव रहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए । त्यसकै प्रभावले उक्त क्षेत्रमा हल्का वर्षा हुने उनले बताए । उक्त क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको उनले जानकारी दिए ।

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव सकिइसकेको उनले बताए । “मोन्थाको प्रभाव हिजै सकियो,” उनले भने, “अहिले पश्चिमी वायुकै प्रभाव हो ।” अरबसागरमा बनेको न्यूनचापीय प्रणालीका कारण पनि नेपालमा वर्षा र हिमपात भएको थियो । त्यो प्रणाली समेत निकै कमजोर भइसकेको उनले जानकारी दिए ।

“त्यसको ठूलो प्रभाव छैन,” मौसमविद् झाले भने, “त्यो प्रणाली आफैँमा कमजोर भइसकेको छ । कतैकतै आर्द्रता भने आएको हुनसक्छ ।” आइतबार बिहान सिन्धुपाल्चोक, कास्की, पर्वत, नुवाकोट, संखुवासभालगायत जिल्लामा हल्का पानी परेको छ । यस दिन राति यी प्रदेशका एक/दुई मात्र स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले बताए ।

asdfg-1762046441.jpg

थोरै स्थानलाई कसरी बुझ्ने ?
१० देखि ३० प्रतिशतसम्मको क्षेत्रफललाई ‘थोरै स्थान’ भनिन्छ । १० प्रतिशतभन्दा कम क्षेत्रफललाई ‘एक–दुई स्थान’ भनिने महाशाखाले जनाएको छ । ३० देखि ५० प्रतिशत क्षेत्रफललाई ‘केही स्थान’ भनिन्छ । ५० देखि ८० प्रतिशत क्षेत्रफललाई ‘धेरै स्थान’ भनिन्छ । ८० प्रतिशतभन्दा बढी क्षेत्रफललाई ‘अधिकांश स्थान’ भनिने महाशाखाले जनाएको छ ।

हल्का वर्षा भनेको कति ?
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->