पोखरा/ गण्डकी प्रदेश सभाको शुक्रबारको बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन । बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले विकास निर्माणदेखि भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका विषयमा आफ्नो धारणा राखे ।
बैठकमा कांग्रेस सांसद एवं प्रदेशका पूर्वमन्त्री दीपेन्द्रबहादुर थापाले बागलुङ सदरमुकामदेखि काठेखोला गाउँपालिकाको घोडाबाँधेसम्मको मध्यपहाडी राजमार्गको २६ किलोमिटर खण्डमा ठेकेदारले काम नगर्दा समस्या भएको बताए । उनले पहिलो ठेकदारबाट काम हुन नसकेपछि अर्को ठेकेदारलाई जिम्मा दिदाँ पनि काम नभएको भन्दै अव पनि काम नभए यही मंसिर १ बाट राजमार्ग नै बन्द गर्ने स्थानीयको चेतावनी रहेकाले तत्कालै काम गर्नुपर्नेमा जोड दिए । कांग्रेसकै विकल शेरचनले स्वास्थ्य मन्त्रालयको केही महत्वपूर्ण काम र उपलब्धीमा प्रदेश अस्पताल मुस्ताङको नवनिर्मित भवनबाट सेवा प्रवाह भएको लेखिएको तर नयाँ भवनबाट सेवा प्रवाह भने नभएको बताए । यसैगरी प्रदेश सरकारले नयाँ गाडी खरीद नगर्ने भनेको अवस्थामा स्वास्थ्य मन्त्रालयले बी ग्रेडको एम्बुलेन्स र प्रदेश जनस्वास्थ्य कार्यालयलाई चारपांग्रे सवारी साधन खरीद गर्न खोजेको कुरा के हो भनेर उनल प्रश्न गरे ।
एमालेका बेदबहादुर गुरुङले भदौ २४ मा गण्डकी प्रदेश सभाको भवन अगाडि आगजनी गरेर हामीले ठूलो ‘भिक्ट्री’ गरेउ दाई भनेर भनिएको भिडियो भाइरल भए पनि त्यसमा संलग्नलाई कारवाही नगरिएको भन्दै गुनासो गरे । एमालेकै भक्तबहादुर कुँवरले जेन जी आन्दोलनका विषयमा सांसदहरुले विशेष समय लिएर आफ्ना धारणा राख्ने अवसर नपाएको गुनासो गर्दै वहुवर्षीय योजनाको अनुगमनका लागि सरकारको ध्यानाकर्षण गराए । एमालेका अर्का सांसद भीमबहादुर कार्कीले देशको अवस्था अन्यौलग्रस्त बनेको, संविधानमाथि आक्रमण भएको, संघीयता निशानामा परेको, प्रदेश संरचनामा चौतर्फी हमला भएको बताए । प्रदेश जनताको नजिकको अर्थात् जनताको साथ र काखमा भएको सरकार रहेको भनदै उनले सरकारका कामलाई व्यवस्थित र पारदर्शिता बनाउनु पर्नेमा जोड दिए । साथै विनियोजित योजना समयमै गुणस्तरीयरुपमा सम्पनन गर्नुपर्ने उनको भनाई थियो ।
एमालेका लिलबहादुर थापामगरले जेन जी आन्दोलका विषयमा सांसदहरुलाई बोल्नका लागि विशेष समय नदिएको भन्दै उनले पनि रोष व्यक्त गरे । एमालेकै श्यामराजा महतले पृथ्वीराजमार्ग स्तरोन्नति भएपछि अत्याधिक दुर्घटना बढेको र सडक चौडा र चिल्लो भएकाले गाडीको गतिलाई कन्ट्रोल गर्न नसकिएका कारण दुर्घटनमा बृद्धि एकाले ठाउँठाउँमा आकाशे पुल र भूमीगत क्रसिङको माग गरे । साथै पाठ्यक्रममा ट्राफिक नियमबार विषय समावेश गर्नुपर्ने उनले बताउ ।





