आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बाँदर आतंकदेखि मल नपाएको किसानको गुनासा

बाँदर आतंकदेखि मल नपाएको किसानको गुनासा

झाडी र बुट्यान हटाउने काममा नगरपालिकाले साथ नदिएको, मल र बीउ समयमा नआएको र प्राकृतिक रुपमापनि खडेरी, हावाहुरी र असिनाजस्ता प्रकोपले सताएको उनीहरुको गुनासो छ । त्यसका लागि किसानको उत्पादनको बीमा हुनुपर्ने अधिकांसको भनाइ छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २९ २०८२, शनिबार

बागलुङ/नगरपालिकाले समयमा मल र बिउ बितरण गर्न नसकेको, कृषिबालीमा क्षति पुग्दा क्षतिपुर्ति नपाएको र स्वास्थ्य बीमाबाट औषधी पाउन कठिन भएको जैमिनीबासीले गुनासो गरेका छन् । चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो चौमासिकको जैमिनी नगरपालिका–६ अर्जेवामा आयोजित सार्वजनिक सुनुवाईमा सहभागिले अत्यावस्यक सेवामा नगरपालिकाले नागरिकको हितमा काम गर्नुपर्ने सुझाव दिएका छन् ।

शुक्रबार आयोजित कार्यक्रममा उनीहरुले कृषि क्षेत्रलाई बचाउन नसके बसाइसराइको तीब्रता अझै बढ्ने पनि गुनासो गरे । बाँदर आतंकले किसानलाई नै पिरेको उनीहरुको गुनासो छ । झाडी र बुट्यान हटाउने काममा नगरपालिकाले साथ नदिएको, मल र बीउ समयमा नआएको र प्राकृतिक रुपमापनि खडेरी, हावाहुरी र असिनाजस्ता प्रकोपले सताएको उनीहरुको गुनासो छ । त्यसका लागि किसानको उत्पादनको बीमा हुनुपर्ने अधिकांसको भनाइ छ । किसानले समयमा मल र बीउ पाउन नसकेकोले उत्पादनमा असर परेको उनीहरुले बताए ।

जैमिनी नगरपालिका १ का तिलक थापाले पटक पटक नगरपालिकामा आवाज उठाएपछि ढीला गरी मल आएको बताए । त्यस्तै बीमा गरेकाहरुले पनि समयमा औषधी नपाएकोले नगरपालिकाले अत्यावस्यक सेवामा चासो राख्ने र सेवा प्रवाहमा असर परेको देखिएमा हस्तक्षेप गर्नुपर्ने सुझाव दिए । उनले कृषि प्राविधिकहरु किसानको घरदैलोमा नगएको समेत टिप्पणी गरे । नगरपालिकाले दिएको सवारी साधन घर र सदरमुकाम जान मात्र नभइ फिल्डमा जान पनि भएको उनले सुझाव दिए ।

कार्यक्रममा जैमिनी–६ का दलबहादुर थापाले बाँदर आतंकले खेतीपातीमा असर परेको गुनासो गरे भने उनले प्राकृतिक श्रोत साधन उत्खनन्मा नगरपालिकाले अनुगमन गर्न नसकेको बताए । चित्रबहादुर थापाले बेरुजु बढ्दै गएको भन्दै नगरपालिका समयमा सचेत रहन आग्रह गरे । अर्का स्थानीय लालमाया पुनले बिपतमा नगरले साथ नदिएको, खानेपानीको समस्या परेका बस्तीमा नगरपालिकाले तत्काल सम्बोधन गर्नुपर्ने बताइन् ।

नगरप्रमुख नरबहादुर पुनले कानून संशोधन अभावमा विकासका काम रोकिएको भन्दै बाँदर नियन्त्रण र रुख बुट्यान काट्ने काम कानूनी समस्याले असर परेको बताए । त्यस्तै औषधी र कृषि मलबारे आएको समस्याको समाधानमा तत्काल पहल गर्ने र आगामी दिनमा अप्ठ्यारो पर्न नदिने बताए ।

उपप्रमुख हरिहर शर्माले कृषि सडक कालोपत्रे गरेर किसानका उत्पादनलाई बजारसम्म लैजने योजनासहित एशियाली विकास बैंकको सहयोगमा कालोपत्रे गर्ने लक्ष्यमा लागेको बताए । साथै, उनले बजेट व्यवस्थापन गरेर अन्य धेरै विकासका कामलाई अगाडि बढाउने सोचबारे जानकारी गराए । पर्यटन प्रवद्र्धन र कालीगण्डकी करिडोरको उपयोग गर्ने अभियानमा स्थानीयलाई समेत जागृत गराउने उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले बेरुजु कम गर्न पहल भएको, सैद्दान्तिक बेरुजु बाहेक अन्य न्युनिकरण भएको, सार्वजनिक खरिद ऐनका कारण आएका समस्या समाधान गर्ने र ठेकेदारलाई काममा फर्काएर अलपत्र प्रशासकीय भवन पुरा गर्ने जस्ता प्रतिवद्दता जनाए ।

नेपाल पत्रकार महासंघको सहजीकरणमा भएको सार्वजनिक सुनुवाइमा जैमिनी नगरपालिका सुशासन समितिका संयोजक प्रेम सापकोटाको अध्यक्षता, नेपाल पत्रकार महासंघका सल्लाहकार तारानाथ आचार्यको संचालन र वडा अध्यक्ष कृष्णबहादुर थापाको स्वागतमा सम्पन्न भएको थियो ।

कार्यक्रममा महासंघका सचिव नारायण रिजालले आचारसंहिता, सहसचिव डम्मर बुढाले नागरिक सन्तुष्टी प्रतिवेदन पेश गरेका थिए भने पत्रकार प्रकाश बरालले टिप्पणी गरेका थिए । कार्यक्रममा महासंघका अध्यक्ष राम थापा अविरल, नगरपालिकाका विषयगत शाखाका प्रमुखहरु समेतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->