सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

बारम्बार बाढीको त्रास

बारम्बार बाढीको त्रास

भोटेकोशी बाढी आएको डेढ महिनामै गोरखाको बुढीगण्डकीमा आयो आकस्मिक बाढी


  • ढोरपाटन संवाददाता
  • असोज २६ २०८३, सोमबार
default

पोखरा/बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न क्षेत्रबाट नेपाली सेनाले आइतबार साँझसम्म ४९ जनाको उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ ।चार वटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौजले प्रभावित क्षेत्रबाट प्रभावितको उद्धार गरेको हो ।

गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबिचमा खसेको ठूलो पहिरोका कारण बुढीगण्डकीमा बाढीमा परी २ महिला र ३ पुरुष गरी ५ बेपत्ता भएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुव्री गाउँपालिका–६, चुम्चेतको उङ्गिलुङ निवासी उनीहरू भेडीगोठमा रहेकाबेला बेपत्ता भएका हुन् ।

सिरिंगे हिमालको फेदी उइनगुलुङ स्थित भेडीगोठमा सम्पर्कविहीन भएका पाँच जनाको पहिचान खुलेको छ । सम्पर्कविहीन हुनेमा चुमनुब्री गाउँपालिका–६, चुम्चेत निवासी ६५ वर्षीय सोनाम लामा, उनकी पत्नी ५९ वर्षीय मोम्मो अजि लामा, ६६ वर्षीय सोम भुरी लामा, ६८ वर्षीय कर्मा लामा र ४१ वर्षीय तेन दोर्जे लामा रहेको खुलेको छ ।

सम्पर्कविहीन भएका पाँच जना स्थानीय बासिन्दा रहेको खुलेपनि उनीहरु कहिलेदेखि सम्पर्कविहीन भएका हुन् भन्नेबारे विस्तृत विवरण प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनीहरुको अवस्था पत्ता लगाउन सम्बन्धित निकाय तथा स्थानीयवासीको सहकार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सयुक्त टोलीले खोजी कार्य गरिरहेको छ ।

‘बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुंगे र पक्की पुल, विद्युतका खम्बा तथा टेलिफोन टावरमा क्षति पु¥याएको छ’, प्राधिकरणका प्रवक्ता शान्ति महतले भनिन्,‘धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालि र आसपासका सातदेखि आठ वटा घर बगाएको छ ।’

चुमनुब्री गाउँपालिका–३ न्याकचेतमा न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुंगे पुल बगाएको छ भने सोही स्थानमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको छ । धार्चे गाउँपालिका–५, माछिखोलाबाट केरौजा जोड्ने झोलुंगे पुलसमेत बगाएको उनले जानकारी दिए ।

आरुघाट–९, नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग पनि बाढीले बगाएको छ । आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ । बूढीगण्डकी जलविद्युत् आयोजनाको ३४१ मेगावाट क्षमताको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणसमेत बगाएको छ ।

बाढीको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ४ सय ३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डाधर्मराज उप्रेतीले नेपाली सेनाका चार वटा हेलिकप्टर खोज तथा उद्धारमा परिचालन गरिएको जानकारी दिए ।

सुरुङ उद्धार सिक्दै सेना
म्याग्दी संवाददादाता अमृत बास्कुनेका अनुसार, नेपाली सेनाको गुरु गोरख गुल्मले म्याग्दी जिल्लामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनामा सम्भावित विपद्लाई मध्यनजर गरी प्रतिकार्य तथा उद्धार अभ्यास गरेको छ ।

असोज २० देखि २२ गतेसम्म सञ्चालन गरिएको उक्त अभ्यासले खासगरी जलविद्युत् आयोजनाका सुरुङभित्र आकस्मिक दुर्घटना वा विपद् पर्दा फसेका नागरिकलाई उद्धार कसरी गर्ने भन्ने विषयमा केन्द्रित थियो ।

नेपाली सेनाका मेजर राकेश बस्नेतले हालै भोटेकोसी तथा अन्य विभिन्न स्थानका जलविद्युत् आयोजनामा आइपरेका आपतकालीन अवस्था र क्षतिलाई मध्यनजर गर्दै पूर्वतयारी स्वरूप यो अभ्यास गरिएको बताए । अभ्यासका क्रममा आपतकालीन अवस्थामा सुरक्षित निकास, सुरक्षात्मक ड्रिल तथा सुरुङभित्र जोखिममा परेका व्यक्तिको खोज तथा उद्धार गर्ने व्यावहारिक तरिकाहरू प्रदर्शन गरिएको थियो ।

हाइड्रो भिलेज, नौरा, झरी पोस्टका साथै पोखरे बगर र कालीगण्डकी गर्ज क्षेत्रमा रहेका प्रमुख जलविद्युत् आयोजनालाई समेटिएको मेजर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->