पोखरा/पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षको क्षमता बढाइएको छ । १० शैय्याको सघन उपचार कक्ष (आइसियु) चलाइरहेको अस्पतालमा आइतबारबाट २५ शैय्या थप भएको हो ।
अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्ष ३५ शैय्याको बनेको छ । अस्पतालमा १६ शैय्याको आइसियु, शैय्याको आइसोलेसन आइसियु र ८ शैय्याको सिसियु गरी २५ शैय्या आइतबारबाट थप गरिएको हो । सेवा विस्तारबाट सघन उपचार कक्षमा राखी उपचार गर्नुपर्ने बिरामीलाई शैय्या अभावकाकारण अन्यत्र पठाउनुपर्ने वाध्यता अन्त्य हुने विश्वास गरिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नारायणसिंह गुरुङले पश्चिमाञ्चल अस्पताललाई अन्यत्रबाट रिफर भएर बिरामी आउने तर यहाँ आइसकेपछि सबै खालका उपचार पाउने गरी विकास गरिरहेको बताए ।‘सघन उपचार चाहिने बिरामीलाई यसअघि अन्यत्र रेफर गर्नुपथ्र्याे । अरु ठाउँबाट रेफर भएर आउनुपर्ने ठाउँ हो यो,’ उनले भने ।
यहाँ ५० शैय्याको आकस्मिक उपचार युनिट छ । आकस्मिक उपचारका लागि दैनिक डेढ सय जति बिरामी आउने गरेकोमा आठ/दश जनालाई सघन उपचार कक्षामा राखेर उपचार गर्नुपर्ने अवस्था हुन्छ । गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल अस्पतालमा दिनमा २ हजार ५ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।
केही समयअघि टिकट काउन्टर थपिएकोमा अर्काे हप्ता फार्मेसीमा १० वटा काउन्टर थप्ने तयारी भएको छ । प्रतिष्ठानका निर्देशक सहप्राडा झपिन्द्र पोखरेल करिब एक करोड खर्चेर सघन उपचार कक्ष विस्तार भएको बताए ।‘जनशक्ति व्यवस्थापन पूरा त छैन । एक, दुई दिन लाग्छ । सघन उपचारमा यसले ठूलो सहजता ल्याउने विश्वास गरेका छौँ,’उनले भने ।





