पोखरा/कांग्रेस संसदीय दलको बैठकमा अहिलेको प्रदेश सरकारको गठबन्धन नै फेर्न सांसदले सुझाव दिएका छन् ।
मुस्ताङका विकल शेरचनले एमालेसहितको गठबन्धन नै पुनर्विचार गर्नुपर्ने बताएका थिए । साथै, उनले चुनावी गठबन्धन ब्यूँताउन पनि सुझाव दिएका छन ।
‘हिजो त्रिपक्षीय गठबन्धन गरेर चुनावमा गएका हौँ । अहिले बनेको नेकपा घटकसँग भोट मागेर हिँडेका हौँ,’उनले भने ।
पछिल्ला घटनाक्रमका कारण सत्तासाझेदार एमालेलाई हेर्ने दृष्टिकोण र कांग्रेसलाई हेर्ने जनताको दृष्टिकोण फरक रहेको हुँदा पनि गठबन्धन फेर्नुपर्ने तर्क उनको छ ।
‘पछिल्लो चरण जे भयो । अहिले नेपाली कांग्रेसलाई हेर्ने दृष्टिकोण संयम दल भनेर हेर्छन । हामी संयमित छौँ । आम दृष्टिकोणमा कांग्रेस सभापति शेरबहादुर देउवामाथि आक्रमण भएपछि कार्यवाहक दिएको घटनाले पनि संयमित दल भन्ने सन्देश गएको छ । यो हिसाबले जनताले हेर्ने दृष्टिकोण फरक छ,’ उनले भने,‘तर, एमालेमा चाहिँ गुण्डुको घटना र एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिका कारण उनीहरुप्रति जनता एकदम निराश छन, चुनावमा पनि देखाउँछन जस्तो छ ।’
मधेस प्रदेशको घटनाले पनि पुरानै गठबन्धनको आवश्यकता देखिएको जस्तो उनको भनाइ छ ।
‘अर्को कुरा, आज (आइतबार) मात्रै मधेस प्रदेशमा ७४ जनाको हस्ताक्षर लिएर नेपाली कांग्रेसको अगुवाइमा पुरानो गठबन्धन गएको छ । त्यहाँबाट परिवर्तित अवस्था आयो भने हामीले गठबन्धन फेरेर पुरानै गठबन्धनमा जानुपर्छ,’ शेरचनले भने, ‘एमालेसँग गठबन्धनकै कारण देश भड्खालोमा गयो,अब चुनावसम्म प्रदेश सरकारको गठबन्धन रह्यो भने राम्रो हुँदैन ।’
मुख्यमन्त्रीको राजीनामा माग
एमालेसहितको गठबन्धनबाट गण्डकीमा सरकारको नेतृत्व गरिरहेका कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको कांग्रेसकै सांसदले राजीनामा मागेका छन् ।
कांग्रेस संसदीय दलको बैठकमा पछिल्लो घटनाको बारेमा नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै मुख्यमन्त्रीको राजीनामा मागिएको हो । गण्डकीमा कांग्रेसका २७ जना प्रदेशसभा सदस्य छन । २७ मध्ये सुरेन्द्रराज पाण्डे १८ मत ल्याएर दलको नेतामा निर्वाचित भएका हुन ।
उनीसँग प्रतिष्पर्धा गरेका स्याङजाका भोजराज अर्यालले ८ मत पाएका थिए भने एक मत बदर भएको थियो ।
उनै दल नेतामा प्रतिष्पर्धा गरेका अर्यालले मुख्यमन्त्री पाण्डेको राजीनामा मागेका हुन ।
बैठकमा सहभागी एक सांसदका अनुसार अर्यालले खुलेर नै राजीनामा माग गरेका थिए ।
‘आन्दोलन हुनुको पछाडि संघमा एउटा नेतृत्वले नैतिकताको जिम्मा लिएझैँ प्रदेशमा चाहिँ तपाइले लिनुपर्छ, तपाइले राजीनामा दिनुपर्छ,’ अर्यालले बैठकमा भनेका थिए ।
गण्डकी कांग्रेस संसदीय दलमा अर्यालले एउटा टिमको नेतृत्व गरेतापनि उनकै समूहका सांसदले भने उनको भनाइमा साथ दिएनन । समग्रमा पाण्डे नेतृत्वको सरकारप्रति कांग्रेस सांसद सन्तुष्ट नै देखिन्छ ।
मुख्यमन्त्रीको राजीनामा मागको विषयमा बुझ्न खोज्दा अर्यालको मोबाइल भने उठेन ।
दलको बैठकमा अन्य सांसदले भने स्वकीय सचिव देखि मन्त्री फेर्नुपर्ने र रिक्त मन्त्री पदमा तत्काल नियुक्त हुनुपर्ने धारणा राखेका थिए ।
सुरुमा स्वकीय सचिव र विकास निर्माणको कुरा उठ्यो । विकास निर्माणका क्रममा मुख्यमन्त्रीज्यूले बजेट कटौती नहुने आश्वासन दिएका थिए । हरेक निर्वाचन क्षेत्र जोड्ने पाँच करोडको बहुवर्षे सडकको काम सुरु गर्न भनेको एक सांसदले जानकारी दिए ।
स्वकीय सचिवको हकमा चाहिँ सांसदहरुले,‘हामीले घरका मान्छे होइन, भविष्यमा नेता हुने व्यक्तिलाई राखेको बताए । उनीहरुले जनतासँग नजिक हुन पनि सहज भएको र उनीहरुलाई गु्रमिङ गरिरहेको हुँदा आवश्यक रहेको’ बताएका थिए ।
मुख्यमन्त्री पाण्डेले संघबाट सुरुमा आएको परिपत्र संशोधन भएर आएको जानकारी दिएका थिए ।मन्त्रीको हकमा चाहिँ मन्त्रिपरिषद् नै पुनर्गठनको कुरा उठेको थियो ।
जेनजी आन्दोलनका क्रममा तत्कालीन गठबन्धनका सांसद (नेपाल समाजवादी पार्टी) फणीन्द्र देवकोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए । कांग्रेसको कोटामा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका देवकोटाको राजीनामा पछि यो मन्त्रालय मुख्यमन्त्री आफैले राखेका छन् ।
सांसदहरुले मन्त्री बन्न आकांक्षा देखाएको र रिक्त मन्त्रालय पनि यही हो । तनहुँका अशोक श्रेष्ठले सुरुमामन्त्रीपरिषद पुनर्गठनको कुरा उठाएका थिए ।
त्यसपछि बागलुङकी चम्पादेवी खड्काले साविक धौलागिरी अञ्चलबाट आफूमात्र केन्द्रीय सदस्य रहेको हुँदा मन्त्री बनाउनुपर्ने आशय व्यक्त गरेकी थिइन । उनी संविधानसभा सदस्य तथा पूर्वमन्त्रीसमेत हुन । समिति सभापति हुँदा सचिवालयले समिति सचिव नदिएको हुँदा काम गर्न नपाएको गुनासो गरेकी थिइन् ।
कास्कीका सांसद तथा सचेतक प्रकाश बरालले आफूले काम गर्न सक्ने हुटहुटी रहेको हुँदा मन्त्री बनाउनुपर्ने धारणा राखेका थिए ।
द्रोण कुँवरले पनि मन्त्रीपरिषद पुनर्गठनको कुरा उठाएका थिए ।
कांग्रेसले नेतृत्व लिँदा सुरुमा नै मन्त्री बनेका सरस्वती अर्याल, दीपेन्द्र थापाले पनि पुन आफूलाई नै मन्त्री बनाउन भनेका थिए ।
‘पहिलो कार्यकालमा १०÷११ महिनामात्र मन्त्री बनेका थियौँ, कार्यकालमा केके गरेका थियौँ सबैलाई अवगत छ । सबैलाई सन्तुष्ट बनाएका थियौँ । कार्यकाल पुरा गर्न नपाएको हुँदा फेरि मन्त्री हुनुपर्छ भन्ने कुरा उहाँहरुको थियो,’ उनले भने ।





