बागलुङ/नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रको प्रयोगशाला निर्माणका लागि बागलुङ समाज जापानले साथ दिएको छ । सोमबार केन्द्रमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष गुरुप्रसाद सापकोटा र सचिव दीपक कँडेलले रेडक्रस सभापति जगन्नाथ आचार्यलाई १३ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले अस्पताललाई चुस्त राख्नको लागि पनि रक्तसञ्चारको सेवा महत्वपुर्ण हुने बताउँदै प्राप्त सहयोगबाट केन्द्रको प्रयोगशाला निर्माणमा योगदान पुग्ने बताए । नगर प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरूङको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद सापकोटाले रक्तसञ्चार सेवा केन्द्रको काम नजिकबाट हेरिरहेको बताउँदै मानिसको जीवन बचाउने सबैभन्दा महत्वपुर्ण मानविय कार्यमा आफुहरुले हातेमालो गरेको बताए । उनले बिरामीहरु रगत अभाबकै कारण रिफर हुन नपरोस् भन्ने आफ्नो चाहना भएको सुनाए ।
रेडक्रस सभापति आचार्यले आर्थिक अभावमा संचालनमा आउन नसकेको रातो र सेतो रगत छुट्टाउने मेसिन अब दुई महिनाभित्रै संचालनमा आउने प्रतिबद्वता व्यक्त गरे । गण्डकी प्रदेश सरकार, बागलुङ नगरपालिका लगायतको सहयोगमा खरिद गरिएको उक्त मेसिन तीन वर्षदेखि प्रयोगमा नआइ थन्किएको छ । सुरुमा २३ लाख मूल्यको मुख्य मेसिन प्रदेशको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको थियो । त्यसयता अन्य मेसिन र सामग्री खरिदमा झण्डै १ करोड खर्च भइसकेपनि सेवा सञ्चालनमा आउन सकेको थिएन ।
मेसिनको जोहो भइसकेपनि सेवा सञ्चालनमा ल्याउन थप बजेट र तालिमप्राप्त जनशक्तिको खाँचो रहेकाले बागलुङ समाज जापानले गरेको सहयोगले ठूलो मद्दत पुगेको सभापति आचार्यले बताए । आचार्यका अनुसार, मेसिन राख्ने कोठा निर्माण, व्यवस्थापन, बिजुली, एसी जडान लगायतका काम गर्न बाँकी रहेको छ । प्रयोगशालामा प्रयोगमा आएलगत्तै सेतो रगत आवश्यक पर्ने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यको अध्यक्षता, मन्त्री भवानी कंडेलको संचालन र उपसभापति राजेन्द्र आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, समाजका अध्यक्ष गुरुप्रसाद शर्मा, समाजका सदस्य कोष खड्का लगायतले पनि शुभकामना दिएका थिए ।





