पोखरा / पोखराका सक्रिय पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ मेजर लक्ष्मीप्रसाद/हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका छन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको संयोजनमा यो पुरस्कार गुरुङलाई मंसिर ३ गते प्रदान गरिनेछ । सोही दिन पुरस्कार दाता मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको वैवाहिक वार्षिकोत्सव परेको छ ।
फोनिज कास्कीका सल्लाहकार हुमबहादुर तमुको संयोजकत्वमा पुरस्कार छनोट समिति गठन भएको थियो । सो समितिले सिफारिस गरेको नाम फोनिज कास्कीको सोमबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको हो । छनोट समितिका सदस्यहरूमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, फोनिज गण्डकी अध्यक्ष खिमाकुमारी गुरुङ, फोनिज कास्की अध्यक्ष बिनु थापा मगर र सचिव देविका तामाङ थिए ।
गुरुङले २०६९ सालमा रेडियो सराङकोटबाट कार्यक्रम प्रस्तोता र हिमचुली एफएमबाट प्राविधिकका रूपमा सञ्चार क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि उनी एफएम रेडियो हुँदै अनलाइन तथा पत्रपत्रिकामा सक्रिय रहेर पत्रकारिता गर्दै आएका छन् । हाल उनी समाधान दैनिक, एबिसी टिभी र राष्ट्रिय समाचार समिति .रासस) सँग आबद्ध छन् ।
गुरुङ नेपाल पत्रकार महासंघ कास्कीमा सह–सचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीमा उपाध्यक्ष, नेपाल प्रेस युनियन कास्कीमा सचिव र नेपाल फोटो पत्रकार संघ कास्कीमा सचिव पदमा कार्यरत छन् । यसअघि उनी युवा तथा खेलकुद मन्त्रालयबाट खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ बाट पनि सम्मानित भइसकेका छन् ।





